बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

‘ड्रागन’ खेतीबाट प्रशस्त आम्दानी गदै ढकाल

मङ्गलबार, १८ असार २०८१, १६ : ०६
मङ्गलबार, १८ असार २०८१

कैलाली । राजनीतिसँगै ड्रागन फल खेतीमा लागेका कैलालीको लम्कीचुहा– १ का गणेश ढकाललाई यति बेला भ्याइनभ्याइ छ ।  राजनीतिकसँगै उत्पादनसहितको आयआर्जनमा जोडिनुपर्छ भनेर उनले तीन वर्षअघि विसं २०७८ देखि ड्रागन फल खेती सुरु गरेका थिए । 

यस क्षेत्रमा धेरैलाई ड्रागनखेती गर्नुपर्छ भन्ने थाहा थिएन तर विभिन्न माध्यमबाट उक्त खेतीबारे जानकारी पाएका ढकालले तीन वर्षअघि रु सात लाख लगानी गरेर व्यवसाय सुरु गरेका थिए । उनले दाङ र बाँकेबाट ८ सय बिरुवा ल्याएर खेती सुरु गरेको बताए । ती बिरुवाले यतिखेर प्रशस्त उत्पादन दिइरहेका छन् । 

‘भूमिपुत्र कृषि तथा पशुपक्षी फर्म ड्रागन पार्क’ नामक फार्म स्थापना गरेर ड्रागनको खेती सुरु गरेका ढकालले एक वर्षमै फल र बिरुवा बेचेर मनग्य आम्दानी भइरहेको बताए । उनको फार्ममा ‘मलेसियन रेड’ प्रजाति (रातो फल) को ड्रागन लटरम्मै फलेको छ । साथै यो वर्षदेखि उनले ‘हाईब्रेड सि’ रेड प्रजाति (रातो फल) को ड्रागन फलसमेत लगाएको जानकारी दिए । “यस क्षेत्रमा कसैले पनि ड्रागन खेती गरेका थिएनन् तर माग भने बढ्दो थियो, त्यसै कारण तीन वर्ष अगाडि व्यवसाय सुरुआत गरेँ । पहिलोपटक खेती गर्न लागेकाले सफल होला वा नहोला भन्ने अन्योल र चिन्ता थियो तर अहिले राम्रो आम्दानी दिइरहेको छ, यति छिटो आम्दानी देला भन्ने सोचैकै थिइन”, ढकालले भने । 

विसं २०४७ सालदेखि विद्यार्थी राजनीतिमा लागेको बताउने ढकाल १० बर्से जनयुद्धमा समेत सामेल भए । उनी विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध छन् । पार्टी कामकै सीलसीलामा देशका विभिन्न भागमा जानेक्रममा दाङ र बाँकेमा गरिएको ड्रागन फल खेतीबाट सामान्य जानकारी पाएपछि आफैँंले खेती सुरु गरेको ढकालले बताए ।  

पानी नजम्ने बलौटे माटोमा फल्ने ड्रागन फलले वैशाखदेखि कात्तिकसम्म फल दिने गरेको छ । स्वादिलो तथा पोषिलो यो फलको माग राम्रो रहेको थाहा पाएपछि यसतर्फ लागेका ढकालले वार्षिक ८ क्वीन्टलसम्म फलको कारोबार गरिसकेका छन् । उनले पहिलो वर्षमा ६० किलोग्राम फल बेचेर रु चार लाखबढी आम्दानी गरेको बताए । दोस्रो वर्षमा ८ क्वीन्टल फल र एक हजार बिरुवा बेचेर रु ६ लाख आम्दानी गरेका ढकालले यो वर्ष १६ क्वीन्टल  फल र तीन हजार बिरुवा बिक्री गरी १२ देखि १५ लाखसम्म आम्दानी गर्ने लक्ष्य रहेको सुनाए ।

बजारमा ड्रागन फल प्रतिकिलो रु सात सय ५० पर्ने गरेको छ तर उनले बारीबाटै रु ६ सय ५० मा बिक्री गरिरहेका छन् भने बिरुवा दुई सय ५० मा बेचिरहेका छन् । उनले तीन जनालाई रोजगारीसमेत दिएका छन् ।  

ढकालले एउटा बोटमा पाँच किजीसम्म फल लाग्ने गरेका र उत्पादित फल स्थानीय लम्की बजारका साथै धनगढी, नेपालगञ्ज र सुर्खेतसम्म पठाउने गरेको जानकारी दिए । “स्थानीय र जिल्लामा रहेका बजारका साथै टाढाबाट पनि माग आइरहेको छ तर सीमित उत्पादनका कारण मागपूर्ति गर्न सकेको छैन । खेती विस्तार गर्ने योजनाबारे सोच्दैछु”, उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप