बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अधिकांश सामुदायिक विद्यालयमा छैनन् दरबन्दीअनुसार शिक्षक

मङ्गलबार, १८ असार २०८१, १६ : ००
मङ्गलबार, १८ असार २०८१

रौतहट । मधेस प्रदेश अन्तर्गत बारा र रौतहटको अधिकांश सामुदायिक विद्यालयहरूमा दरबन्दीअनुसार शिक्षक नरहेको पाइएको छ । 

राजतन्त्र हुँदै हाल सङ्घीयता सहितको लोकतान्त्रिक व्यवस्थासम्ममा आइपुग्दा सामुदायिक विद्यालयमा शिक्षक दरबन्दीअनुसार नरहेको पाइएको हो ।

 नेपाल सरकारको शिक्षा नियमावलीमा प्रति ४० जना विद्यार्थी सङ्ख्यामा एक जना दरबन्दीको शिक्षक हुनुपर्ने रहेको छ। तर बारा रौतहट सहित मधेस प्रदेशको अधिकांश जिल्लाका सामुदायिक विद्यालयहरूमा उक्त शिक्षा नियमावलीको पालना भएको देखिँदैन  । बरु एक जना शिक्षकले बाध्यतावश एक सय बढी विद्यार्थीलाई अध्यापन गराउँदै आएको पाइएको छ । 

 विद्यार्थीको अनुपातमा शिक्षकको अवस्था बुझ्न प्रभु साह नेतृत्वको आमजनता पार्टी कार्यकर्ताले मङ्गलवार आज गरेको विद्यालय अनुगमनले पनि उक्त कुराको पुष्टि भएको छ।गुणस्तरीय शिक्षाका लागि आम जनता पार्टीले मधेस प्रदेशमा विद्यार्थीको अनुपातमा शिक्षकको अवस्था बुझ्न विभिन्न विद्यालयहरूका अनुगमन गरिरहेको छ । 

यसैक्रममा बाराको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय फेटाको अनुगमन तथा अन्तरक्रिया आजपा प्रदेश अध्यक्ष उमेश कुशवाहाले गरेका छन्। त्यहाँ झन्डै १०० विद्यार्थीमा एक शिक्षक रहेको स्थिति छ । 

मधेस प्रदेशको करिब सबै विद्यालयहरूमा अवस्था यही हो । यसमा सुधार गर्न अर्थात् विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था गर्न अब शैक्षिक आन्दोलनको विकल्प नरहेको प्रदेश अध्यक्ष कुशवाहाको भनाइ छ। 

उता रौतहटको कटहरिया नगरपालिकाका शिक्षा संयोजक अनिल कुमार निधिले बर्तमान अवस्थामा एक सय भन्दा बढी विद्यार्थीको हकमा एक जना शिक्षकको दरबन्दी रहेको देखिएको बताए। कटहरिया नगरक्षेत्र अन्तर्गत सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको सङ्ख्या १२ हजार भन्दा बढी रहेको छ भने शिक्षकको दरबन्दी मात्र १०७ रहेको शिक्षा संयोजक निधिले जानकारी दिए। 

शिक्षकको दरबन्दी थप गर्न नगर, जिल्ला, प्रदेशदेखि केन्द्रसम्म पटक पटक आवाज उठाउँदा पनि विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी थप नभएको उनको भनाइ रहेको छ। 

यो अवस्था कटहरिया नगरपालिकाको मात्र नभई प्रदेशको ८ वटै जिल्लाको अवस्था यस्तै छ। प्रदेशको अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्याको आधारमा शिक्षक नहुँदा स्तरीय शिक्षा प्रदान गर्न नसकिएको स्वयं शिक्षकहरू स्वीकार गर्दछन्।२०५७ साल पछि देशमा बनेको कुनै पनि सरकारले शिक्षकको दरबन्दी थपेको छैन, राहत दरबन्दी र बालशिक्षाको नाउँमा झारो टार्ने काम गरेको शिक्षकहरूको गुनासो रहेको छ।

 पूर्व मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साह लगायत कैयौँ सांसदले सदनमा पटक पटक मधेस प्रदेशको शिक्षाको अवस्था बारे सभामुख देखि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदा पनि अवस्था ज्युँका त्युँ रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप