बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

कांग्रेस–एमाले सहमति : कोशीमा के होला ?

प्रधानमन्त्रीले राजीनामा नदिएसम्मका लागि माओवादी सरकारबाट नबाहिरिने
मङ्गलबार, १८ असार २०८१, १५ : ०५
मङ्गलबार, १८ असार २०८१

विराटनगर । नेपाली कांग्रेस र नेकपा एमालेबिच केन्द्रमा सत्ता सहकार्य गर्ने सहमति बनेसँगै कोशी प्रदेश सरकारमा रहेको माओवादी केन्द्रले के गर्ला भन्ने विषय चासोका साथ हेरिएको छ । 

कोशी प्रदेशमा अहिले नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार छ । उक्त सरकारमा माओवादीका तीन जना मन्त्री पनि सहभागी छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयमा गणेशप्रसाद उप्रेती, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायण बुर्जा मगर र स्वास्थ्य मन्त्रालयमा राजेन्द्र कार्की मन्त्री छन् । 

कांग्रेस र एमालेबिच भएको प्रारम्भिक सहमति अनुसार कोशी प्रदेशमा मुख्यमन्त्री नेकपा एमालेकै हुनेछ । जसअनुसार यही सरकारको निरन्तरता हुने एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । 

‘हाम्रो देशको राजनीति जुन मोडलबाट गइरहेको छ त्यही मोडलको यहाँको राजनीति पनि अगाडि बढ्छ,’ भण्डारीले भने, ‘माओवादी सरकारबाट बाहिरिन्छ या के गर्छ भन्न सकिँदैन । हामी उसलाई अहिले नै बाहिरिनु भन्दैनौँ । तर, केन्द्रको निर्देशन जे हुन्छ त्यही अनुसार हामीले पालना गर्छौँ ।’

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले पनि केन्द्रमा परिवर्तन भएसँगै यहाँ पनि सोही अनुसार अगाडि बढ्ने उनले बताए । ‘अब केन्द्रले केही निर्देशन गर्ला नि त ? निर्देशन गरेअनुसार अगाडि बढ्छ,’ उनले भने । 

उता, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारबाट फिर्ता आउने वा नआउने विषयमा माथिको निर्देशन अनुसार हुने बताए । ‘पार्टी अध्यक्ष प्रचण्डज्यू प्रधानमन्त्री रहेसम्म हामी पनि यहाँ सरकारमै रहन्छौं । त्यसपछि माथिको निर्देशन अनुसार अगाडि बढ्छौं,’ आङ्बोले भने, ‘स्वाभाविक हिसाबले केन्द्रमा सत्ता समीकरण फेरबदल भएपछि सोही अनुसार हाम्रो दल पनि अगाडि बढ्छ ।’

कोशी प्रदेशसभाको दोस्रो कार्यकालमा हालसम्म छैटौँ पटक सरकार गठन भइसकेको छ । 

२०७९ मंसिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा चुनावपछि २०७९ पुस २४ मा एमाले, माओवादी, राप्रपा र जसपासहितको सहभागितामा हिक्मतकुमार कार्की नेतृत्वमा पहिलो सरकार बनेको थियो । 

उक्त सरकार २०८० असार १५ गते ढलेको थियो । त्यसपछि कांग्रेस, माओवादी एकीकृत समाजवादी र जसपाको समर्थनमा कांग्रेस नेता उद्धव थापा २०८० असार २१ गते पहिलो पटक र साउन १६ गते दोस्रो पटक मुख्यमन्त्री बने । दुवै पटक थापालाई सर्वोच्च अदालतले बर्खास्त गरेको थियो । त्यसपछि संविधानको धारा १६८ (३) अनुसार २०८० भदौ २२ गते एमालेका कार्की पुनः मुख्यमन्त्री नियुक्त भए ।

असोज २० मा विश्वासको मत पाउन नसकेपछि कार्कीले राजीनामा दिए । संविधानको धारा १६८ को उपधारा ५ अनुसार असोज २७ मा केदार कार्की मुख्यमन्त्री बने । केदार कार्की नेतृत्वको सरकार विस्थापित गर्दै पुनः हिक्मतकुमार कार्कीको नेतृत्वमा २०८१ वैशाख २७ गते नयाँ सरकार गठन भएको हो । 

कोशी प्रदेशमा मा एमालेको (उपसभामुखसहित) ४०, काँग्रेसको २९, माओवादीको १३, राप्रपाको सभामुखसहित ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जसपाको १ जना सांसद छन् । ९३ जनाको प्रदेशसभा रहेको कोशी प्रदेशमा सरकार निर्माणको लागि आवश्यक बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ । 

केन्द्रमा सोमबार राती भएको सहमति अनुसार एमाले र काँग्रेसको सरकार बनेको खण्डमा उक्त सरकारलाई ६९ सांसदको समर्थन हुनेछ । जुन प्रदेशसभामा रहेको ९३ सदस्य सांसदमध्ये दुई तिहाइ सङ्ख्या हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप