बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
क्रिकेट

टी–२० विश्वकपपछि संन्यास लिने अन्तर्राष्ट्रिय क्रिकेटका यी ६ हस्ती

मङ्गलबार, १८ असार २०८१, १४ : ४९
मङ्गलबार, १८ असार २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण गत शनिबार अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न भयो । नवौँ संस्करणको उपाधि भारतले जित्यो  । फाइनलमा भारतले बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकामाथि सात रनको रोमाञ्चक जित हासिल गर्‍यो ।

नवौँ संस्करणको समाप्तिसँगै विश्व क्रिकेटका केही हस्तीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए । अन्य ढाँचाको क्रिकेटमा देखिए पनि विभिन्न राष्ट्रका यी ६ खेलाडी अब टी–२० ढाँचाको प्रतियोगितामा भने देखिने छैनन् ।

  • विराट कोहली

भारतीय टोलीका पूर्वकप्तान विराट कोहलीले आफ्नो राष्ट्रलाई नवौँ विश्वकपको उपाधि चुमाउँदै टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिताबाट संन्यास लिने निर्णय गरे । विश्व क्रिकेटकै उत्कृष्ट ब्याट्सम्यानमध्येका एक विराटले ७६ रनको योगदान गरेका थिए । उनी म्यान अफ दी म्याच पनि घोषित भए ।

यद्यपि, त्यसअघिका खेलमा उनको ब्याटिङ खासै चल्न सकेको थिएन । समग्रमा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट विराटको संन्यास सुखद रह्यो । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए पनि उनले टेस्ट, एकदिवसीय अन्तर्राष्ट्रिय र फ्रेन्चाइज प्रतियोगिता भने खेल्ने बताएका छन् ।

  • रोहित शर्मा

नवौँ विश्वकपमा रोहित शर्मा नै भारतीय टोलीका कप्तान थिए । उनकै कप्तानीमा भारतले दोस्रो पटक टी–२० विश्वकपको उपाधि जितेको हो । उनी भारतलाई दुईपटक टी–२० विश्वकपको उपाधि जिताउने एकमात्र खेलाडी पनि हुन् ।

यसअघि भारतले सन् २००७ मा सम्पन्न टी–२० विश्वकपको पहिलो संस्करणको उपाधि जितेको थियो । त्यतिबेला पनि रोहित टोलीका महत्त्वपूर्ण सदस्य थिए । सोही विश्वकपमार्फत रोहितले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ पनि गरेका थिए ।

विश्वकपको नवौँ संस्करणमा पनि उनले उत्कृष्ट प्रदर्शन गरे । उनले प्रतियोगिता अवधिभरमा कुल दुई सय ५७ रन बनाएका थिए । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए पनि उनले अन्य ढाँचाको प्रतियोगिता भने खेल्ने बताएका छन् ।

  • डेभिड वार्नर

अस्ट्रेलियाका प्रभावशाली ब्याट्सम्यान हुन्, डेभिड वार्नर । नवौँ टी–२० विश्वकपमा उनी पनि अस्ट्रेलियन टोलीका सदस्य थिए । तर, उनको टोली अस्ट्रेलिया विश्वकपको ‘सुपर–८’ चरणभन्दा अगाडि बढ्न सकेन ।

अस्ट्रेलिया ‘सुपर–८’ चरणको खेलमा अफगानिस्तानसँग २१ रनले पराजित भएको थियो । अस्ट्रेलियन टोली भारतसँग पनि २४ रनले हारेको थियो । आफ्नो टोली ‘सुपर–८’ चरणबाट बाहिरिए लगत्तै ओपनर ब्याट्सम्यान वार्नरले सक्रिय खेल जीवनबाट संन्यास लिएको घोषणा गरे ।

वार्नरले टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट भने यसअघि नै संन्यास लिइसकेका थिए । यसको अर्थ अब उनी कुनै पनि ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा देखिने छैनन् । विभिन्न राष्ट्रमा आयोजना हुने फ्रेन्चाइज क्रिकेटमा भने उनलाई देख्न पाइने छ ।

  • ट्रेन्ट बोल्ट

न्युजिल्यान्डका तीव्र गतिका बलर हुन्, ट्रेन्ट बोल्ट । बोल्ट विश्व क्रिकेटकै प्रभावशाली बलरमध्ये एक हुन् । नवौँ टी–२० विश्वकपमा उनी पनि न्युजिल्यान्डको टोलीका महत्त्वपूर्ण सदस्य थिए । तर, उनको टोली न्युजिल्यान्ड यसपटक विश्वकपको समूहगत चरणबाटै घर फर्कन बाध्य भयो ।

न्युजिल्यान्ड विश्वकपको समूह ‘सी’मा परेको थियो । अङ्क तालिकामा न्युजिल्यान्ड तेस्रो स्थानमा रह्यो । न्युजिल्यान्डले दुई जित र दुई हारको नतिजा निकाल्यो । त्यो समूहबाट वेस्ट इन्डिज र अफगानिस्तान ‘सुपर–८’ चरणमा पुगेका थिए ।

आफ्नो टोली नवौँ विश्वकपको समूहगत चरणबाटै बाहिरिएपछि अनुभवी बलर ट्रेन्ट बोल्टले पनि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरे । उनले विश्वकप सुरु हुनुअघि नै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने जानकारी दिइसकेका थिए । उनी पनि इन्डियन प्रिमिय/ लिगलगायतका फ्रेन्चाइज क्रिकेटमा भने देखा पर्नेछन् ।

  • रवीन्द्र जडेजा

भारतीय टोलीका स्टार अलराउन्डर हुन्, रवीन्द्र जडेजा । नवौँ टी–२० विश्वकप उनका लागि पनि सुखद रह्यो । भारतले विश्वकप उपाधि उचाल्दा उनी टोलीको महत्त्वपूर्ण सदस्य बने । यो विश्वकपमा उनको प्रदर्शन भने खासै गतिलो रहेन ।

यो विश्वकपमा जडेजाको ब्याटिङ र बलिङ दुवै निराशाजनक रह्यो । उनले यो विश्वकपको कुल पाँच पालीमा केवल ३५ रन बनाएका थिए भने एक विकेटमात्र लिन सकेका थिए । आफ्नो टोलीले उपाधि जितेसँगै उनले पनि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरे ।  

  • डेभिड विसे

नवौँ टी–२० विश्वकपमा नामिबियाको टोलीका महत्त्वपूर्ण सदस्य थिए, डेभिड विसे । उनी विश्व क्रिकेटका चर्चित अलराउन्डर हुन् । उनले लामो समय दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीबाट क्रिकेट खेलेका थिए ।

382924.6

त्यसपछि सन् २०२१ मा उनी नामिबियाको राष्ट्रिय टोलीमा आबद्ध भएका थिए । उनको टोली नवौँ विश्वकपमा समूहगत चरणभन्दा अगाडि बढ्न सकेन । समूहगत चरणमा नामिबियाले एक खेलमात्र जित्न सक्यो । नामिबियाले ओमानलाई ‘सुपर ओभर’मा हराएको थियो ।

उनले नामिबियाका लागि ३२ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै ३५ विकेट लिएका छन् । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुल पाँच सय २८ रन पनि बनाएका छन् । आफ्नो टोली विश्वकपको समूहगत चरणबाट बाहिरिए लगत्तै डेभिड विसेले पनि अन्तर्राष्ट्रिय खेल जीवनबाट संन्यास लिएको घोषणा गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप