बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
राजनीति

सत्ताको लाभैलाभ लिएको माओवादी अब प्रमुख प्रतिपक्ष बन्ने बाटोमा

मङ्गलबार, १८ असार २०८१, १४ : ४८
मङ्गलबार, १८ असार २०८१

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) करिब ९ वर्षपछि प्रतिपक्षमा पुग्ने परिस्थिति निर्माण भएको छ । सोमबार मध्यराति कांग्रेस र एमाले मिलेर सत्ता समीकरण फेरबदल गर्ने निर्णय गरेपछि माओवादी प्रतिपक्षमा पुग्ने परिस्थिति बनेको हो ।  

२०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पार्टीले सर्मनाक हार व्यहोरेपछि २०७२ असोजसम्म माओवादी प्रमुख प्रतिपक्षमा बसेको थियो । त्यतिबेला कांग्रेस र एमालेसहितका दलले सरकार बनाएका थिए भने कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री भएका थिए । 

यसैबिच २०७७ साल पुस ५ गते एमालेका अध्यक्ष केपी ओली नेतृत्वको नेकपा सरकारले संसद् विघटन गरेपछि माओवादी सत्ताबाट बाहिरिएको थियो । नेकपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला सर्वोच्च अदालतले २०७७ फागुन २३ गते विघटन गरी साबिक एमाले र माओवादी अस्तित्वमा आएका थिए । तर संसदमा दोस्रो ठुलो दल कांग्रेस भएकाले माओवादीले प्रमुख प्रतिपक्षको भूमिकाबाट वञ्चित भएको थियो । 

शान्ति प्रक्रियामा आएपछि माओवादीलाई सत्ता लाभैलाभ 

२०६२ साल मंसिरमा १२ बुँदे सम्झौतामार्फत माओवादीले सशस्त्र विद्रोह त्यागेर शान्ति प्रक्रियामा आएको थियो । सोही सम्झौताको जगमा भएको ०६२÷६३ को जनआन्दोलनले २४० वर्षे लामो राजतन्त्र ढाल्यो । र, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको थियो । शान्ति प्रक्रियाको करिब १८ वर्षमा माओवादीले सत्ताको लाभैलाभ लिएको छ । 

राजतन्त्र ढलेपछि ०६३ सालमा तत्कालीन कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वको अन्तरिम सरकारबाट माओवादीले सत्ता यात्रा प्रारम्भ गरेका थियो । गणतन्त्र स्थापनापछि १८ वर्षमा देशमा १४ मध्ये १३ वटा सरकार बनिसकेको छ । नयाँ सत्ता समीकरण बनेपछि ओली फेरी प्रधानमन्त्री बन्ने तयारीमा छन् । यसबिचमा बनेको १३ वटा सरकारमध्ये माओवादीले ४ वटा सरकारको नेतृत्व गरेको छ । १० वटा सरकारमा महत्त्वपूर्ण हिस्सासहित माओवादी सरकारमा सहभागी भएको छ । तीन वटा सरकारमा प्रतिपक्ष दलको भूमिका निर्वाह गरेको छ । 

०६३ सालमा बनेको कोइराला नेतृत्वको संयुक्त अन्तरिम सरकार बनेको थियो । २०६४ को पहिलो संविधानसभा निर्वाचनपछि सबैभन्दा ठुलो दल रहेको नेकपा माओवादीको नेतृत्वमा सरकार बन्यो । एमाले, मधेसी दलहरूको समर्थनमा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री प्रचण्ड भएका थिए । दुई तिहाइको सरकार प्रधान सेनापति रुपमाङ्गत कटुवाल प्रकरणमा ९ महिनामै प्रचण्डले राजीनामा दिए । 

उनको राजीनामापछि एमालेका नेता माधव नेपाल २०६६ सालमा प्रधानमन्त्री भए । संविधानसभा निर्वाचनमा दुईदुई ठाउँबाट पराजित भएका नेपाल कांग्रेसको समर्थनमा प्रधानमन्त्री भएका थिए । तर एमालेभित्र चरम विवाद भएपछि नेपालले राजीनामा दिए । त्यतिबेला नेपाल नेतृत्वको सरकारमा माओवादी सहभागी भएन । 

 नेपाल नेतृत्वको सरकार गिरेपछि माओवादीको समर्थमा अध्यक्ष झलनाथ खनाल २०६७ सालमा प्रधानमन्त्री भए । खनाल नेतृत्वको सरकार ६ महिनामै ढलेपछि २०६८ सालमा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री भए ।  २०७९ साल जेठ १४ गते संविधानसभा भङ्ग भएपछि भट्टराई पदमुक्त भएका थिए । त्यसपछि दलहरूबिच अविश्वास गहिरिएर एकले अर्कालाई स्वीकार गर्ने अवस्था भएन । अन्तरिम संविधानमा भएको बाधा अड्काउ फुकाउको व्यवस्थालाई टेकेर सर्वोच्च अदालतका बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा गैरराजनीतिक सरकार गठन भएको थियो । 

०७२ सालमा सुशील कोइरालाको नेतृत्वमा कांग्रेस र एमाले लगायत दलहरू मिलेर संयुक्त सरकार गठन गरे । संविधान सभामा पहिलो र दोस्रो ठुलो दल सरकारमा गएपछि माओवादी प्रतिपक्षमा बसेको थियो ।

 २०७२ साल असोज ३ गते नयाँ संविधान जारी भएपछि एमालेका अध्यक्ष केपी ओली माओवादीको समर्थनमा प्रधानमन्त्री भए । तर ९ महिना नपुग्दै ०७३ सालमा कांग्रेसको समर्थनमा प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री भए । कांग्रेस र माओवादीबिच आलोपालो प्रधानमन्त्री बन्ने सहमति अनुसार पहिलो चरणमा उनी प्रधानमन्त्री भएका थिए । 

२०७४ को चुनावी सरकारको नेतृत्व कांग्रेसका सभापति शेरबहादुर  देउवाले गरेका थिए । सो निर्वाचनमा एमाले र माओवादी मिलेर चुनावी तालमेल गरी झन्डै दुई तिहाइ बहुमत ल्याएका थिए । ०७४ फागुन ३ गते ओली माओवादीको समर्थनमा ओली दोस्रो पटक प्रधानमन्त्री भए । तर ४० महिना नपुग्दै सत्ता नेतृत्व दल नेकपा विभाजन भएपछि संविधानको धारा ७६(५) बमोजिम सर्वोच्चको परमादेश अनुसार २०७८ साल असार २९ गते  देउवा प्रधानमन्त्री भए । 

२०७९ को निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धन गरेर निर्वाचनमा होमिएका थिए । निर्वाचनपछि कांग्रेसलाई जिल्ल्याउँदै एमालेको समर्थनमा प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बन्न सफल भएका थिए । 

तीमध्ये माधव नेपाल(२०६६), खिलराज रेग्मी(२०६९), सुशील कोइराला(२०७०) नेतृत्वको सरकारमा माओवादी सहभागी भएको छैन । 

२०६३ साल असार २ गते प्रधानमन्त्री निवास बालुवाटारबाट सार्वजनिक भएका प्रचण्ड यस अवधिमा तीन पटक प्रधानमन्त्री बने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप