सुन पसलको सामान्य कामदारलाई ‘गोरे’ ले यसरी बनाए ‘सुन तस्कर’
काठमाडौं । काभ्रेको मण्डन देउपुर स्थायी घर भएका टेकराज मल्ल ठकुरी २०६२ सालमा काठमाडौं आए । काठमाडौंको नयाँबजारमा उनको काकाको घर थियो । २–३ महिना काकाको घरमा बसेर उनले काठमाडौंलाई चिन्ने प्रयास गरे । ‘बिना काम बसेर नहुने’ सोचाई पालेर उनी काकाको घरबाट निस्किए अनि ‘जे पाउँछ त्यही’ काम गर्न थाले ।
कामको खोजीमा मल्लले न्युरोडस्थित गाडी पार्किङको शुल्क उठाउने काम गर्न थाले । न्युरोडको पार्किङस्थल नजिकै एउटा सुन पसल थियो, त्यहाँ काम गर्ने बेनु श्रेष्ठसँग मल्लको चिनजान भयो । बेनुको सल्लाह अनुसार उनले पार्किङको पैसा उठाउने काम छाडेर सुन पसलमा काम गर्न थाले । एकदिन उक्त सुन पसलमा पुगेका चुडामणि उप्रेती ‘गोरे’ ले ‘यो केटो राम्रो काम गर्दो रहेछ यसलाई हाम्रो काममा लाउनुपर्छ’ भन्दै बेनु श्रेष्ठसँग कुरा गरे । उक्त कुरा मल्लले सुनिरहेका थिए ।
त्यसपछि बेनु श्रेष्ठले टेकराजलाई सोधे, ‘भाई विदेश जाने हो ?’
‘अँह तत्काल जान्न’ मल्लले उत्तर दिए ।
बेनुले पटक–पटक ‘तिमी विदेश जाउ राम्रो कमाई हुन्छ’ भनेपछि एकदिन मल्लले बेनुलाई भने, ‘म विदेशमा बस्ने गरी जाँन्न ।’
लामो समय बस्नु नपर्ने तर ‘गोरे’ र बेनुले भने बमोजिम १०–१५ दिन दुबई बसेर नेपाल आउँदा राम्रै कमाई हुने आश्वासन पाएपछि मल्लले जवाफ दिए, ‘हुन्छ म दुबई जान्छु ।’
टेकराजसँग नागरिकता मात्र थियो पासपोर्ट थिएन्, बेनुले उनलाई तिनकुने गएर ‘गोरे’ भन्ने चुडामणि उप्रेतीलाई भेट्न पठाए । न्युरोड गेटबाट गाडी चढेर तिनकुने पुगेका टेकराजलाई चुडामणिले तलदेखि माथिसम्म हेरेर भने, ‘एकपटक घुम !’
टेकराज फनक्क घुमिदिए । त्यसपछि चुडामणिले सोधे, ‘ठिक छस्, सात दिनभित्र पासपोर्ट बनाएर मलाई भेट्नु ।’
१५ दिनमा टेकराजको पासपोर्ट बन्यो । ‘गोरे’ सँग तिनकुनेमा भेटेको करिब ३ महिनापछि मल्ल दुबई उडेका थिए । ‘गोरेले ५–७ जनाको समूह बनाएर हामीलाई दुबई पठाएको थियो, दुबईको एयरपोर्टमा पुगेपछि मलाई सञ्जय खरेल भन्ने व्यक्ति लिन आई ट्याक्सीमा चढाई निजकै कोठामा लगेको थियो’ टेकराजले सुन तस्करी छानबिन समिति समक्ष बयान दिँदै भनेका छन्, ‘त्यो कोठामा हामी चार जना १५ दिन जति बस्यौँ ।’
१५ दिनपछि नेपाल फर्कने बेलामा शिवानी खरेल नामकी युवतीले टेकराजलाई दुबईको एयरपोर्टदेखि नेपालको एयरपोर्टसम्म आउँदा के गर्नुहुन्छ के गर्नुहुँदैन भनेर सिकाईन् । अनि एउटा झोला दिँदै भनिन्, ‘यो झोलामा ४ केजी सुन छ ।’
त्यसपछि पार्किङमा काम गर्ने ‘काभ्रेली ठिटो’ सुनको झोला बोकेर दुबईबाट काठमाडौं विमानस्थलतर्फ लागे । ‘शिवानीले भने बमोजिम नेपालको एयरपोर्ट आएपछि हामीलाई चेकजाँच गर्नुभन्दा अगाडी नै पछि चिनजान भएका ‘टिजी’ भन्ने सानु बन आए, मैले बोकेको ब्याग लिएर गयो’ समितिसमक्ष बयान दिँदै उनले भनेका छन्, ‘सँगै आएकी शिवानी खरेल कता गईन् थाहा भएन म पनि एयरपोर्टबाट आफ्नो कोठातर्फ लागेँ ।’
दुबईबाट फर्केकै दिन बेनु श्रेष्ठले टेकराजलाई फोन गरेर पैसा लिन भन्दै बोलाईन् । ‘बेनुले बोलाएको ठाउँमा गएपछि मलाई उसले ६० हजार दियो’ मल्लले बयानको क्रममा भनेका छन्, ‘उसले पैसा दिँदा फेरी दुबई जानुपर्छ भनेको थियो, ३ दिन पश्चात पुनः दुबई उडेँ ।’
दोस्रो पटक जाँदा दुबईमै रहेका ‘गोरे’ले टेकराजलाई ५ केजी सुनको झोला दिएका थिए । दोस्रो पटक पनि भन्सार जाँच हुनुअघि नै त्रिभुवन विमानस्थलमा सानु बनले नै मल्लले दुबईबाट ल्याएको सुनको झोला रिसिभ गरेका थिए ।
‘त्यसपछि पनि त्यसरी नै उनीहरुले भने बमोजिम कहिले ७ केजी, कहिले ८ केजी गर्दै एकैपटक १६ केजीसम्म सुन ल्याएको छु’ मल्लको भनाई उदृत गर्दै समितिका एक सदस्यले रातोपाटीसँग भने, ‘पछि बेनु श्रेष्ठ र ‘गोरे’ को पार्टनरसिप छुट्यो म ‘गोरे’ सँग काम गर्न थालेँ ।’
बयानका क्रममा टेकराजले काम गर्दै जाँदा ‘गोरे’ आफूलाई धेरै विश्वास गरेको र सँगै गाडीमा लिएर हिँड्ने, उसको गाडी चलाउन दिने आवश्यकता अनुसार खर्च दिने गरेको बताएका छन् ।
सुन तस्करीको काम गर्दै जाँदा ‘भोजे मामा’ भन्ने भोजराज भण्डारी, सुरेन्द्र गौतम, टुक बहादुर मगर, रुस्तम मियाँ, रोहित आचार्य, दावा शेर्पा, लाक्पा शेर्पा, कृष्ण बस्नेत, सनम शाक्य, मोहन काफ्ले, कृष्ण भन्ने नरेन्द्र कार्की, भविन राई, सानु बन, एलबी मगर, तक्ले भन्ने पुण्य प्रसाद लामा तामाङ, चाचा जि भन्ने एमके अग्रवाल, सञ्जय खरेल, शिवानी खरेल, समिर अधिकारी, सञ्जय अधिकारी, शिवकुमार गुबाजु, चेतन भण्डारी र माधव घिमिरेसँग आफूले काम गरेको टेकराजले बयान दिएका छन् ।
पछिल्लो सयम २०७४ वैशाख ९ गते हराएको भनिएको साढे ३३ केजी सुन टेकराज र रोहित आचार्यले दुबईबाट ल्याएर एयरपोर्टमा सानु बनलाई जिम्मा लगाएको उनले स्विकार गरका छन् । यसरी काभ्रेका सामान्य युवाको परिचय एकाएक सुन तस्करको रुपमा बदलिएको थियो ।