बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

काठमाडौँमा ‘ह्रस्व दीर्घ’ अभिनय गर्दै भारतीय अभिनेता प्रदीप र सुनिल

मङ्गलबार, १८ असार २०८१, १२ : ३२
मङ्गलबार, १८ असार २०८१

काठमाडौँ । फिल्म ‘ह्रस्व दीर्घ’को चौथो सेड्युलको छायाङ्कन अहिले काठमाडौँमा चलिरहेको छ । फिल्म छायाङ्कनका लागि ‘गजनी’का भिलेन प्रदीप रावत र दक्षिण भारतीय फिल्म ‘पुष्पा’का भिलेन सुनिल वर्मा काठमाडौँ आएका छन् ।

आइतबार साँझ काठमाडौँ आएका रावत र वर्माले सोमबार दिनभर ललितपुरस्थित इन्टरनेसनल क्लबमा  फिल्मको छायाङ्कन गरेका छन् । फिल्म छायाङ्कनपछि निर्माण युनिटले साँझ पत्रकार भेटघाट समेत गरेको थियो । जसमा अबको ४ दिनमा फिल्मको छायाङ्कनमा सकिने निर्देशक चन्द्र पन्तले बताए । पन्तको यो निर्देशनमा डेब्यु फिल्म हो । पन्त नेपाली फिल्मका चर्चित द्वन्द्व निर्देशक हुन् ।

कार्यक्रममा बलिउड अभिनेता रावतले नेपाली फिल्म अभिनय गर्न पाउँदा खुसी लागेको बताए । फिल्ममा आफ्नो अभिनेत्री निता ढुङ्गानाको बुबाको भूमिका रहेको समेत उनले जानकारी दिए । राउतले यस अगाडि भोजपुरी फिल्म ‘माही’मा नितासँग स्क्रिन सेयर गरेको स्मरण गर्दै निता राम्रो कलाकार भएको भन्दे तारिफ समेत गरे । 

त्यस्तै कार्यक्रममा सहभागी फिल्म पुष्पाका भिलेन वर्माले फिल्म ‘ह्रस्व दीर्घ’ले नेपाली र भारतीय फिल्म उद्योगलाई जोड्ने काम गरेको बताए । उनले फिल्म उत्कृष्ट बन्ने बताउँदै नेपाली फिल्म अभिनय गर्न पाउँदा खुसी लागेको सुनाए । वर्माले ‘ह्रस्व दीर्घ’ नेपालको पहिलो प्यान इन्डिया फिल्म भएको बताउँदै भारतीय दर्शकमाझ लैजान आफू उत्साहित रहेको सुनाए ।

निता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनञ्जय गलानी हुन् । फिल्ममा निता,  प्रदीप, सुनिलको अलावा हरिहर अधिकारी, ब्रह्मानन्द, अलि, कवीर सिंह दुहान, सञ्चिता लुइँटेल, विपना थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहनेछ । 

अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई बलिउडका चर्चित छायाकार कवीरलालले छायाङ्कन गरिरहेका छन् । नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा फिल्म रिलिज गर्ने योजना निर्माण पक्षको छ ।

आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउने बताइएको फिल्मलाई मनोज राठी र उज्ज्वल पौडेलले वितरण गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप