बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

'प्रचण्डले कांग्रेससँग राष्ट्रिय सहमतिको प्रयास गरेपछि एमालेले रणनीति परिवर्तन गर्‍यो'

प्रधानमन्त्रीले राजीनामा नदिए  उपायहरू धेरै छन् : प्रदीप ज्ञवाली
मङ्गलबार, १८ असार २०८१, १२ : ०९
मङ्गलबार, १८ असार २०८१

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता सहयात्री दलहरूलाई थाहा नै नदिएर प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँग राष्ट्रिय सहमतिको प्रयास गरेपछि एमालेले आफ्नो रणनीति परिवर्तन गरेको बताएका छन् । साथै उनले राजनीतिक स्थायित्व र आवश्यकता अनुसार संविधान संशोधन गर्ने गरी नेपाली कांग्रेससँग समझदारी भएको बताए ।

अचानक गएराति नेपाली कांग्रेस र एमालेबिच सत्ता सहकार्यका लागि सहमति भएपछि नेता ज्ञवालीलाई रातोपाटीले सहमति कसरी सम्भव भयो भनेर सोधेको छ । प्रस्तुत छ नेता ज्ञवालीसँगको संक्षिप्त कुराकानी :

  • कांग्रेससँगको सहमति कसरी सम्भव भयो ?

कांग्रेससँगको सहमति गर्नुपर्ने अवस्था मूलतः २ कारणले बन्यो । किनभने मुलुकमा राजनीतिक स्थिरता र आवश्यक पर्दा संविधानको पुनरावलोकन गर्ने उद्देश्यले यो समझदारी भएको हो ।

निर्वाचनपछि यसबिचमा धेरै खालका अभ्यासहरू भए । एउटा गठबन्धन गरेर चुनावमा जाने, चुनावपछि अर्को गठबन्धनको सरकार बन्ने र फरक समीकरणबाट प्रचण्ड प्रधानमन्त्री बन्नुभयो । प्रधानमन्त्री बनेलगत्तै उहाँले फेरि समीकरण फेर्नुभयो । पछिल्लो पटक गत फागुनमा फेरि उहाँले समीकरण बदल्नुभयो । तर यी कुनै पनि प्रयोगले जनतामा आशा र विश्वास जगाउने काम गर्न सकेन र राजनीतिक अस्थिरता कायमै रहने अवस्था भयो । जसले गर्दा लोकतन्त्र र हाम्रो संविधानप्रति नै प्रश्न चिह्न उठ्ने स्थिति भयो ।

  • अबचाहिँ स्थिर सरकार र राजनीतिक स्थायित्वको ग्यारेन्टी छ र ?

अब स्थिर सरकार र त्यो सरकारको बलमा राम्रो डेलिभरी सँगसँगै संविधान कार्यान्वयनका १० वर्षको संक्षिप्त समीक्षा गर्दै जहाँजहाँ सुधार गर्नुपर्ने आवश्यकता छ । यही अवस्थाले गर्दा नेपाली कांग्रेस र एमालेबिच सहकार्यको सम्भावनामा पुगियो ।

  • एमालेकै अग्रसरतमा बनेको प्रचण्डसहितको समीकरणले तपाईँले भनेका कुराहरूमा गडबड गर्न लागेको थाहा पाएपछि कांग्रेस चाहिएको हो ?

हो । एउटा स्थिति कस्तो बन्यो भने प्रधानमन्त्री प्रचण्डले सत्ता सहयात्री दलसँग छलफल नै नगरी नेपाली कांग्रेससँग राष्ट्रिय सहमतिको प्रस्ताव गर्नुभयो । यद्यपि उहाँले त्यो कुरा सार्वजनिक गर्नुभएको छैन । तर उहाँलाई के कारणले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने आवश्यकता पर्‍यो भन्ने स्पष्ट भैसकेको छैन । त्यो कुराको कसरी बोध भयो ? त्यसको क्षेत्राधिकार के हुने ? अहिले कहाँ अवरोध सिर्जना भएको थियो ? अनि त्यसको नेतृत्व कसले गर्छ ? कसरी राष्ट्रिय सहमति हुन्छ भन्ने कुराहरू थिएनन् । यसरी सत्ता सहयात्रीहरूसँग छलफल नै नगरी अचानक प्रमुख प्रतिपक्षसँग सत्ता परिवर्तनको कुरा गर्नेबित्तिकै अस्थिरता र अविश्वासको अवस्था सुरु भयो । तर नेपाली कांग्रेसले प्रचण्डको त्यो प्रस्ताव एक हिसाबले अस्वीकार गर्‍यो ।

  • किन अस्वीकार गरेछ कांग्रेसले त्यो प्रस्ताव ?

उहाँहरूले दुई वटा कुरा उठाउनुभएछ । प्रधानमन्त्रीको विवाद कसरी टुङ्ग्याउने र लोकतन्त्रमा प्रतिपक्ष पनि चाहिन्छ । यी कुरा कसरी ब्यालेन्स गर्ने ? भनेर प्रश्न गर्दा चित्तबुझ्दो जवाफ नआएपछि कांग्रेसले त्यो प्रस्तावलाई स्वीकार गरेन । यसरी सत्तामा समस्या छ भन्ने कुरा बुझिसकेपछि नेपाली कांग्रेस हामीसँग वार्ता गर्न आयो । हामीले पनि नेपाली कांग्रेसबाटै थाहा पायौँ यो सबै कुरा । त्यो भन्दा अघिसम्म हामीलाई यो कुरा थाहा थिएन ।

यसले हामीलाई स्वाभाविक रूपमा विगतका समेत घटनाहरू हेर्दा अघिल्लो पटक प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँग विश्वासको मत लिँदा के फरक पर्छ र ? झन् फराकिलो दायरा बन्छ भनेर प्रचण्डजीले विश्वासको मत पहिलो पटक लिनुभयो । त्यसपछि राष्ट्रपति पदबाट नेकपा एमालेलाई आउट गरेर नेपाली कांग्रेससँग सहकार्य गर्न पुग्नुभयो । अव पनि यो बाटोमा उहाँ जानुहुन्न भन्ने आधार हामीले पाउन सकेनौँ । यद्यपि यसबिचमा पार्टी अध्यक्षले प्रधानमन्त्रीसँग पटक पटक कुरा पनि गर्नुभएको छ । त्यसक्रममा उहाँले अध्यक्षलाई त्यस्तो होइन भनेर स्पष्ट पार्ने कोसिस गरे पनि हामी आश्वस्त हुने स्थिति बन्न सकेन । किनभने थाहा नै नदिई प्रमुख प्रतिपक्षसँग सत्ताको कुरा गरेपछि प्रश्न उठ्ने नै भयो त्यहीबाट यो अवस्थाको सिर्जना हुन पुगेको हो ।

  • तपाईँहरूले त यो सरकार बनाउँदै खाली चेकमा हस्ताक्षर गर्नुभएको हो नि ?

हो । हामीले खाली चेकमै हस्ताक्षर गरेर दिएका हौँ । मन्त्रालयमा पनि कुनै वादविवाद वा अडान राखेनौँ । उहाँहरूले मागेको उहाँहरूले नै राखेर छाडेका मन्त्रालय लिएर ढुक्कसँग नै चलाउनुस् भनेर छाडेका थियौँ । त्यति सजिलै सरकार चलाउन उहाँले विगतमा पनि सायद पाउनुभएको थिएन होला । तर पनि खै किन उहाँ अस्थिरताको बाटोमा जानुभयो ? थाहा हुन सकेन ।

  • कांग्रेससँगको सहमतिमा राजनीतिक स्थायित्व र संविधान संशोधनको कुरा गर्नुभएको रहेछ । संविधान संशोधन के के विषयमा हुनसक्छ र राजनीतिक स्थायित्व हुने आधार के हो ?

यसको विस्तृत रूपमा हामी प्रवेश गरिसकेका छैनौँ । सायद त्यससम्बन्धी कुनै एउटा कार्यदल बन्ला त्यही कार्यदलमा छलफल गरेर मोडल तय गर्छौँ ।

  • राष्ट्रिय सहमतिको कुरा पनि गर्नुभएको छ तर त्यस्तो सरकार बन्ने देखिएन । किनभने एक दलले अर्को दललाई धोखाघडी गरेको त स्पष्टै भइसक्यो अनि सरकार मात्र फेरेर जनताले के पाउने त ?

हामीले राष्ट्रिय सहमतिको सरकारका लागि दलहरूलाई आह्वान गर्ने हो । हामीले कसैलाई स्कुल गर्न (बाहिर राख्न) यो स्थिति बनाएको होइन । तर हाम्रो आह्वानमा कोही आउन चाहँदैनौँ भन्नुभयो भने सरकारमा नरहेपनि नीति र एजेन्डाहरूमा सहमति र सहकार्य हुन सक्छ । त्यसकारण सरकारमा सहमति एउटा र एजेन्डामा सहमति अर्को कुरा हुन्छ । हामी त्यसमा छलफल पनि गर्दै रहेकाले को को आउने वा नआउने भन्ने कुरा पछि नै होला ।

  • यदि प्रधानमन्त्रीले राजीनामा नदिए के गर्नुहुन्छ ?

त्यसको उपायहरू धेरै छन् । विकल्पमा जाने कुरा त छँदैछ ।

  • के विकल्प छ ? उहाँले एक महिनाभित्र संसद् फेस गर्छु भन्न सक्नुहुन्छ ?

उहाँले त्यो बाटो रोज्नुहुन्न भन्नेमा हामी विश्वस्त छौँ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप