बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

मुग्लिन–मलेखु सडक विस्तार सुस्त गतिमा

मङ्गलबार, १८ असार २०८१, ११ : ५८
मङ्गलबार, १८ असार २०८१

चितवन । मुग्लिन–मलेखु सडकखण्ड विस्तार र स्तरोन्नतिका काम सुस्त गतिमा भइरहेको छ । पृथ्वी राजमार्गअन्तर्गतको ३९ किलोमिटर यो खण्डमा सन् २०२२ डिसेम्बरदेखि काम सुरु गरिएकामा एक वर्ष ६ महिनाको अवधिमा १३ प्रतिशत मात्र काम भएको छ ।  सम्झौता अनुसार यस अवधिमा ३३ प्रतिशत कार्यसम्पन्न हुनुपर्ने थियो । 

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी ई कृष्ण आचार्यले भने नक्शाङ्कन, वर्षात् र चाडपर्वलगायत कारणले लक्ष्यअनुसार काम नभएको बताए। यहाँ सम्झौता गर्ने बेलाको नक्शाङ्कन परिवर्तन गर्नुपरेको र त्यस कार्यमा छ महिना लागेकाले पनि काममा ढिलाइ भएको उनले बताए।  

ई आचार्यका अनुसार यो खण्डमा रहेका आठवटा पुलमध्ये पाँच पुल निर्माण, नाली, मोड सुधार, टेवा पर्खाल निर्माण, कल्भड विस्तार र सडक चौडाइ गर्ने काम भइरहेका छन् । सडकखण्डमा छवटा पुल निर्माणका लागि ठेक्का लागेकामा हुग्दी खोलास्थित पुलमा केही व्यवस्थापकीय काम बाँकी रहेकाले निर्माण अगाडि बढेको छैन ।  

विश्व बैंकको आर्थिक सहयोग रहेको यो खण्ड तीन वर्षभित्र निर्माणसम्पन्न गर्ने गरी शर्मा–जेडआई सिजी जेभीले रु चार अर्बमा ठेक्का पाएको छ । हाल सात मिटर चौडाइ रहेको सडकका केही ठाउँमा दुई लेनको बनाउन कम्तीमा नौ मिटर चौडाइ बनाइने र बाक्लो बस्ती भएका विशालटार, मझिमटार, कुरिनटार र चुम्लिङटार गरी चार स्थानमा सात दशमलव १५ किलोमिटर सडक चार लेन बनाइने आचार्यले बताए । 

चार लेन सडक १४ मिटर फराकिलो हुनेछ । यस्तै तीन किलोमिटर उकाला ठाउँमा तीन लेन सडक बनाइने र यसको चौडाइ १० दशमलब पाँच मिटर  हुनेछ । राजधानी काठमाडौँ प्रवेश गर्ने र बाहिरिने प्रमुख सडक भएकाले उच्च सवारी चापका बाबजुद काम गर्नु परेकाले निर्माण कार्यलाई तीव्रता दिन नसकिएको आयोजनाले जनाएको छ ।

 “सडक निर्माणमा धेरै समय लागेमा यात्रुले थप हैरानी बेहोर्नुपर्ने हुन्छ । यसकारण छिटो काम सम्पन्न गर्न सम्बन्धित निर्माण व्यवसायीलाई ताकेता गर्दै आएका छौँ । अब बर्षात्को समयमा काम गर्न कठिन हुने भएकाले आगामी हिउँदमा कामले तीव्रता पाउने छ”, सूचना अधिकारी ई कृष्ण आचार्यले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप