बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

टर्बुलेन्सका कारण एयर युरोपाको विमान आपत्कालीन अवतरण, ३० जना घाइते

मङ्गलबार, १८ असार २०८१, ११ : ५५
मङ्गलबार, १८ असार २०८१

म्याड्रिड । हालैका दिनहरूमा एयर टर्बुलेन्सका घटनाहरू व्यापक भएका छन् । पछिल्लो पटक स्पेनिस विमान कम्पनी एयर यूरोपाको उडानमा शक्तिशाली टर्बुलेन्स हुँदा ३० जना यात्री घाइते भएका छन् । 

मड्रिडबाट उरुग्वेको मोन्तेभिडियोर्फ गइरहेको कम्पनीको यूएक्स०४५ उडान टर्बुलेन्सपछि ब्राजिलको नाताल विमानस्थलमा आपत्कालीन अवतरण गरिएको थियो । कम्पनीले सोमबार माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोष्ट गर्दै यस घटनाबारे जानकारी दिएको हो ।

विमान सामान्य तरिकाले अवतरण गरिएको र घटनाका क्रममा चोटपटक लागेका यात्रीहरूको उपचार भइरहेको बताइएको छ । टर्बुलेन्समा परेको विमान बोइङ ७८७–९ ड्रिमलाइनर भएको बताइएको छ । सो विमानले ३३९ जनासम्म यात्री बोक्न सक्छ । 

घटनाको समयमा विमान भित्र कति यात्री थिए भन्ने स्पष्ट भइसकेको छैन । प्लेन अस्थिर बनेर तलतिर खसेको अनि सिट बेल्ट नलगाएका यात्रीहरू विमानको छतमा ठोक्किएर धेरै चोट लागेको एक यात्रीले बताएका छन् ।

सिट बेल्ट लगाएकाहरूलाई समेत चोट लागेको भएपनि उनीहरूको चोट ठूलो नभएको बताइएको छ । केही यात्रीको हात, मुहार र खुट्टामा फ्र्याक्चर र चोट लागेको बताइएको छ । सोमबारै कम्पनीले ब्राजिलतर्फ अर्को विमान पठाएर त्यहाँ अलपत्र परेका यात्रीहरूलाई बोकेर उरुग्वे पठाउने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप