कृषिमा आमूल परिवर्तन जरुरी
नेपाल कृषिप्रधान देश हो भन्ने कुरा बुबा–आमाले स्कुल पढ्दादेखि नै हामीलाई घरमा सुनाउनु हुन्थ्यो । उहाँहरूको पालामा आफ्नो उत्पादनले आफूलाई प्रशस्त खान पुगेर पनि त्यही अनाजलाई बिक्री वितरण मात्र हैन, छोरा छोरी पढाउन देखि घर खर्च, चाडबाड सबै धानेको हुन्थ्यो ।
हुन पनि होला त्यही भएर उहाँहरूले दुई हात मुख जोड्न र आफ्नो खर्च धान्नलाई कसैको भर पर्नु पर्ने थिएन । उहाँहरूलाई यति थाहा थियो कि असारमा एक माना रोपियो भने मङ्सिरमा एक मुरी अर्थात् २० पाथी धान उत्पादन हुन्छ । काम गर्ने बेला अल्छीपना गर्न हुँदैन, आफ्नो बल निकालेर भए पनि कृषि कर्म गर्न सबै जुट्ने चलन थियो । नत्र बर्सभरि भोकै परिन्थ्यो । त्यति बेला नेपालमा अहिलेको जस्तो कृषिमा आधुनिकीकरण भन्ने कुरा थिएन । त्यो शब्द कहीँ कतै सुन्नु पनि पाइँदैनथ्यो ।
आज नेपालको कृषिमा आधुनिकीकरण भएको भनिएकै छ । किसानलाई विभिन्न अनुदान भनेर राज्यबाट बजेट पनि व्यवस्था गरिएको छ । तर, पनि आज किन धान गहुँ, मकै आदि खाद्यान्नमा परनिर्भर भइरहेका छ ? यो सोचनीय र मननीय कुरा छ । नीति निर्माण तहमा बसेका व्यक्तिबाट कहीँ कतै गल्ती त भएन? यसलाई सच्याउन ढिला भइसक्यो ।
नेपालमा आजकल कस्तो परम्परा बसेको भने ८/१० वटा क्यामेरा लिएर खेतमा जाने अनि नीति निर्माण तहमा रहेका संसाद मन्त्रीहरू यसो कोदाली समातेर कामै गरेका हुन भनेर झल्काउने गरी तस्बिर खिच्ने र सामाजिक सञ्जालमा पोल्टाउने गरेको पाइन्छ । धान रोप्नका लागी योग्य बन्न जरुरी छ । खेत बारीमा कम्तीमा पनि ५/७ दिन काम गर्ने व्यक्ति चाहिँ ओझेलमा र बाजागाजा र राज्यका संयन्त्र लिएर हिँडेका व्यक्तिको चाहिँ जताततै गज्जबका तस्बिर निस्कने यो के काइदा हो ? सामाजिक सञ्जालमा तस्बिर पोष्टाउँदैमा नेपालको कृषि उत्पादन बढ्ने पनि होइन । उत्पादन बढाउन कृषकलाई बेलैमा बिउ, बिजन र मल खाद उपलब्ध गराउन प-यो नि ? कृषि कार्यलाई पनि ठुलो काम हो भनी सम्मान गर्ने वातावरण निर्माण गर्न माथि देखि तलसम्म वैज्ञानिक कृषि प्रणाली बनाउन अहिले अति आवश्यक छ । अझैपनीि कृषकलाई बुझ्ने प्रणाली हामीमा छैन । कृषि बारे गहन रूपमा आधारभूत तह देखि सिक्ने सिकाउने प्रणालीको पनि विकास भएको पाइँदैन ।
गाउँघरमा कृषकले उत्पादन गरेका वस्तुले पनि राम्रो बजार पाएका छैनन् । कृषिमा यति धेरै बिचौलियाहरूको बिगबिगी छ । किसानहरू मरिमेटेर काम गर्छन् । तर उनीहरूले आफूले उत्पादन गरेको धान देखि तरकारी सम्मको उचित मूल्य प्राप्त गर्न सक्दैनन् । किसानका खेतबारीमा पुगेर बिचौलियाहरूले उनीहरूको उत्पादनमा मोज मस्ती गरिरहेको पाइन्छ । माना रोपेर मुरी फलाउने कुरा त हरेक वर्ष गरिरहेका छौँ, तर व्यवहारमा त्यसको ठिक विपरीत छ । किसानले उत्पादन गरेका वस्तुले बजार सजिलै नपाउनु अहिलेको ज्वलन्त उदारहणः दूध किसानहरूको आन्दोलनले पुष्टि गर्छ । अहिले पनि दूध किसानहरूको भुक्तानी भएको छैन ।
एक दिन नुवाकोटका गाउँ घुम्न जाने अवसर मिल्यो । त्यो बेला २० जना जति कृषकसँग कुराकानी भयो । कृषक भन्दै थिए – मैले त यस्तो दुःख कृषि कार्य गरेर पाए, मेरा छोरा छोरीले यो कार्य गर्न नपरोस् भन्ने कामना छ । किन भनि प्रश्न गर्दा,उनीहरूले भने– बेलामा मल उपलब्ध छैन, कृषि मजदुरको अभाव छ । जति हामीले दुःख गरे पनि उत्पादनको उचित मूल्य पाउँदैन । जुनसुकै कार्यको लागी पुस्तान्तरण आवश्यक हुन्छ । हामीले जसरी कृषि कर्म गर्न हाम्रा छोरा छोरीलाई लगाउन पनि नसकिने भइयो ।
किसानका दुखले भन्छ–कृषिलाई निरन्तरता दिने हो भने भाषण र फोटो खिचाइले त कृषि कार्य दिगो हुनै सक्दैन । कृषिलाई अहिलेको विज्ञान प्रविधि सँग जोडेर अगाडि बढाउन नीति निर्माण तहमा बसेकाहरूले विशेष ध्यान दिन जरुरी छ । ५०÷६० वर्ष अगाडि पनि नेपाललाई कृषि प्रधान देश भनिन्थ्यो । त्यसलाई पुष्टि गर्ने काम पनि गरिएको थियो । त्यतिबेला नेपाल खाद्यान्नमा आत्मनिर्भर पनि थियो । तर, आज कृषि प्रधान देश कृषिमा आत्मनिर्भर छैन । राम्रो कषि प्रणाली विकास नगर्दा विदेशी मुद्रा सञ्चितीकरणमा तीव्र ह्रास हुँदै गएको छ । नेपालको रेमिट्यान्सको धेरै हिस्सा हामीले खाद्यान्न किनेर अर्को मुलुकमा बुझाइरहेका छौ ।
नीति निर्माण उदासीन
जब १५ असार आउँछ, तब नेता देखि शासकहरूको लर्को खेतबारीमा देख्न पाइन्छ । मुलुकमा किन आज किसानहरूले बेलामा मल र बिउ पाउँदैनन् ? र उत्पादन गरेका वस्तु बजारमा लान सहजै सक्दैन भन्ने कुराका बारेमा कहिल्यै बहस र छलफल हुँदैन । किसानका बारेमा चुनाव आउने बेलामा सबै राजनीतिक दलहरूले ठुला–ठुला कुरा आफ्ना घोषण पत्रमा राख्ने गरेका पाइन्छ ।
किसानका दुखका बारेमा राजनीतिक नेतृत्वहरुले किसानहरूलाई बोलाएर, खेतबारीमै गएर उनीहरूका दुख निराकरण गर्ने बारेमा बहस भएको पाइँदैन । नेपालका पत्रपत्रिका, रेडियो,टेलिभिजन र अनलाइन पत्रपत्रिकामा असार १५ का दिन भने नेताहरू तछाड–मछाड गर्दै खेत रोपिरहेका दृश्य देख्न पाइन्छ । किसानका दुख राम्रोसंग बुझेकाहरुले खेतमा गएर रोपाई गर्नुको सट्टा कार्यालय भित्रै धान रोपेका तस्बिरहरू हामीले देख्न सक्छौ ।
केही वर्ष अघि धान रोपेको नाटक गर्दै मन्त्रीले नै रोपारलाई समाउन जाने हर्कत गरेको पनि नेपालीहरूले देखि सकेका छन् । किसानका मल र बिउका समस्याका पहाडलाई किनारा लगाउन तिर नलागी हरेक वर्ष नेता, मन्त्री,प्रधानमन्त्री र राष्ट्रपतिले धान रोपेको जतिसुकै प्रचार गरे पनि कृषि प्रणालीमा आमूल परिवर्तन नगरेसम्म नेपाल कृषिमा आत्मनिर्भर बन्न सक्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओली र प्रचण्ड महाराजजस्ता भए : हरि रोका
-
तपाईँको यो साता कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता
-
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
-
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
-
आन्तरिक राजस्वमा ४० प्रतिशत वृद्धि, सशर्त, समपूरक र विशेष अनुदानमा २२.१ प्रतिशतले कमी