बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
अपराध

‘मोबाइल स्विच अफ भयो, फोन गर्नुछ’ भन्दै मोबाइल चोरेर भाग्ने किशोरहरूको समूह

मोबाइल बैंकिङबाट पैसा निकालेर सपिङ र नाइट क्लबमा मस्ती
सोमबार, १७ असार २०८१, २२ : ०२
सोमबार, १७ असार २०८१

काठमाडौँ । काठमाडौँमा मोबाइल फोन चोरी गर्न सक्रिय समूहलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । चोरी गर्ने समूहले विशेष गरेर ट्याक्सी चालकहरूलाई आफ्नो निशाना बनाउने गरेका थिए ।

पक्राउ पर्नेमा सिन्धुली फिक्कल नगरपालिका वडा नं. १ घर भई हाल चुच्चेपाटी बस्ने १९ वर्षीय नवराज सुनुवार, बाजुरा गढीमालीका नगरपालिका वडा नं. ९ हाल पहेंलो पुल बस्ने १९ वर्षीय सुसन थापा, उदयपुर गाईघाट घर भई हाल कपन बस्ने १९ वर्षीय प्रमेश सुन्दास र सोलुखुम्बु नाम्चे बजार घर  भई हाल कपन बस्ने १९ वर्षीय दोर्जी तामाङ रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका  प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार काठमाडौँका विभिन्न चोकमा रहेका ट्याक्सी स्टेसनमा २र४ जनाको समूहमा गई पार्किङ गरी राखेका ट्याक्सी चालकसँग ‘मेरो विदेशी पाहुनाको लगेज ठमेल लग्नुपर्ने, त्यो विदेशी पाहुनालाई फोन गर्नुपर्ने छ, अङ्ग्रेजीमा कुरा गर्नुपर्छ मेरो मोबाइल स्विच अफ भयो, तपाईंलाई अङ्ग्रेजी भाषामा कुरा गर्न आउँदैन होला तपाईंको फोन मलाइ दिनुहोस् म कुरा गर्छु’ भन्दै मोबाइल माग्ने गरेका थिए । 

मोबाइल पाएपछि फरार भई उक्त मोबाइलमा रहेका वालेट आईडी तथा मोबाइल बैंकिङमा अनधिकृत रूपमा पहुँच पुर्‍याएर उक्त वालेट उपत्यकाको विभिन्न स्थानमा रहेका कपडा पसल, रक्सी पसलका साथै नाइट क्लबहरूमा गई रकम खर्च गर्ने गर्थे । उपरीक्षक आचार्यका अनुसार कार्यालयबाट खटिएको अनुसन्धान टोलीले आइतबार काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गर्न सफल भएको थियो ।

अनुसन्धानको क्रममा नवराज सुनुवारले काठमाडौँको विभिन्न स्थानमा पार्किङ गरी राखेका ट्याक्सी चालकसँग फोन गर्न मोबाइल मागी चोरेर  भाग्ने र उक्त मोबाइलमा रहेका वालेट आईडी तथा मोबाइल बैंकिङमा अनधिकृत रूपमा पहुँच पुर्‍याई रकमान्तर गर्ने गरेका थिए । त्यस्तै  सुसन थापाले सुनुवारले चोरेको मोबाइलहरू किनबेच गर्थे ।

 प्रमेश सुन्दास भने सुनुवारसँग चोरी गर्ने कार्यमा सँगै जान्थे भने दोर्जी तामाङले चोरेको सामान लिएर भाग्न सहयोग गर्थे । उनीहरूविरूद्ध हालसम्म ३ जनाको जाहेरी परेको थियो । उनीहरूले मोबाइल चोरी गरी हालसम्म २ लाख ७५ हजार ४१० रुपैयाँ रकम चोरी गरेको प्रहरीको भनाई छ ।

चारै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागी सोमबार जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप