बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

सोमबार, १७ असार २०८१, २१ : ४९
सोमबार, १७ असार २०८१

आज २०८१ असार १७ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा सरकारको भविष्य कति सुरक्षित ?, एकीकृत समाजवादीको महाधिवेशमा विभिन्न प्रतिवेदन पेस, तपस्वी भनिएका रामबहादुर बमजनलाई १० वर्ष कैद, ६० किलो सुन तस्करी प्रकरणमा भेटिएन हाई प्रोफाइलको संलग्नता, नाउपा संसदीय दलको नेताबाट रञ्जिता ‘आउट’, कांग्रेस नेता जितेन्द्र नारायण देव एमालेमा प्रवेश, नक्कली भुटानी शरणार्थीबारे दोस्रो चरणको अनुसन्धान सुरु लगायत छन् ।

१. सरकारको भविष्य कति सुरक्षित ?
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिचको भेटवार्तापछि नेपाली राजनीतिमा नयाँ तरङ्ग आएको छ । उक्त भेटबारे विभिन्न नेताले समेत टिप्पणी गरिरहेका छन् ।

२. एकीकृत समाजवादीको महाधिवेशमा विभिन्न प्रतिवेदन पेस
नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सोमबार बन्दसत्र सुरु भएको छ । बन्दसत्रमा पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदनदेखि लिएर विभिन्न प्रतिवेदन पेस गरिएको छ ।

३. तपस्वी भनिएका रामबहादुर बमजनलाई १० वर्ष कैद
सर्लाही जिल्ला अदालतले तपस्वी भनिएका रामबहादुर बमजनलाई १० वर्ष कैद सजाय तोकेको छ । बमजनलाई अदालतले बाल यौन दुरुपयोगमा यसअघि नै दोषी ठहर गरिसकेको भए पनि सजाय सोमबारमात्र निर्धारण गरेको हो ।

४. ६० किलो सुन तस्करी प्रकरणमा भेटिएन हाई प्रोफाइलको संलग्नता
६० किलो सुन तस्करी प्रकरणमा कुनै हाई प्रोफाइलको संलग्नता नदेखिएको प्रहरीले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले तस्करीमा हाई प्रोफाइलको संलग्नता नदेखिएको प्रस्ट पारेको हो । 

५. नाउपा संसदीय दलको नेताबाट रञ्जिता ‘आउट’
नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संसदीय दलको नेता परिवर्तन गरेको छ । यसअघि संसदीय दलको नेता रहेकी रञ्जिता श्रेष्ठलाई हटाएर गंगाराम चौधरी डगौरालाई सो जिम्मेवारी दिइएको सो पार्टीले जनाएको छ ।

६. कांग्रेस नेता जितेन्द्र नारायण देव एमालेमा प्रवेश
नेपाली कांग्रेसका नेता जितेन्द्र नारायण देव नेकपा एमालेमा प्रवेश गरेका छन् । सोमबार उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् । 

७. नक्कली भुटानी शरणार्थीबारे दोस्रो चरणको अनुसन्धान सुरु
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान सुरु भएको छ । पहिलो चरणको अभियोग पत्र काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ भने राजनीतिक व्यक्तिहरूसँग कनेक्सन बनाइदिएका बेचन झा पक्राउ परेसँगै दोस्रो चरणमा अनुसन्धान सुरु भएको हो ।

८. कक्षा ११ को भर्ना प्रक्रिया प्रभावित हुने 
एसईई परीक्षामा सबै विषयमा ‘एनजी’ आएकाहरूलाई समेत पूरक परीक्षामा सामेल गर्ने निर्णयसँगै कक्षा ११ को भर्ना प्रक्रिया प्रभावित हुने देखिएको छ । 

९. मधेसवादी दलले उठाउँदै आएको संविधान संशोधनको मुद्दा सेलायो
२०७२ असोज ३ गते संविधान जारी भएको दिनदेखि मधेसवादी दलहरूले संशोधनको माग राख्दै आन्दोलन सुरु गरेका थिए । त्यो आन्दोलनमा २० जनाको ज्यान गएको थियो । तर अहिलेसम्म उनीहरूको माग अनुसार संविधान संशोधन भएको छैन । यद्यपि पछिल्लो समय संविधान संशोधनको मागलाई थाँती राखेर मधेसवादी दल सत्ताको दौडधुपमा लागेका छन् ।

१०. १६ अंकले बढ्यो नेप्से
सोमबार सेयर बजार परिसूचक नेप्से १६.२९ अंकले वृद्धि भएको छ । अघिल्लो दिन १४.८३ अंकले घट्दै २ हजार ३७.०९ विन्दुमा ओर्लिएको नेप्से सूचक सोमबार ०.८० प्रतिशतले बढ्दै २ हजार ५३.३८ विन्दुमा उक्लिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप