बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
सत्ता राजनीति

देउवा–ओली भेटले निम्तिएको तरङ्ग, के हो वास्तविकता ?

सोमबार, १७ असार २०८१, २१ : ५१
सोमबार, १७ असार २०८१

काठमाडौँ । सत्ता गठबन्धनका मुख्य घटक एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच शनिबार भएको भेटवार्ताले देशको राजनीति तरङ्गित भइरहेको छ । देउवा र ओलीबिच भएको तीन घण्टा लामो भेटवार्तालाई लिएर नयाँ सरकार गठन हुने आकलन भइरहेको समयमा प्रधानमन्त्री प्रचण्डले आइतबार र सोमबार एमाले अध्यक्ष ओलीसँग छलफल गरेका छन् ।

अर्कोतिर कांग्रेसका सभापति देउवाले दिउँसो आफ्नै निवास बुढानीलकण्ठमा राखेको पदाधिकारी बैठकमा ओलीसँगको भेटवार्ताबारे संक्षिप्त जानकारी गराएका थिए । उनले ओलीसँगको भेटवार्ता सकारात्मक भएको बताए पनि यसबारे थप भन्न नमिल्ने ब्रिफिङ गरेका थिए ।

तीन दिन सञ्चार माध्यममार्फत विभिन्न हल्ला फैलिएपछि सरकार गम्भीर सङ्कटमा फसेको अनुमान धेरैले गरेका छन् । देउवा र ओलीबिच भएको भेटवार्तालाई देखाएर कांग्रेसका जिम्मेवार नेतासमेत निकै उत्साहित देखिन्छन् ।

सोमबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकमा समेत सत्ता समीकरण फेरबदलको विषयमा प्रधानमन्त्रीसमक्ष मन्त्रीहरूले जिज्ञासा राखेका थिए । मन्त्रीहरूको जिज्ञासा मेटाउँदै प्रधानमन्त्री प्रचण्डले ब्रिफिङ गरेका थिए ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठका अनुसार बालुवाटार बैठकमा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई ‘मैले कांग्रेससँग इंगेजमेन्टमात्र बढाएको हुँ, सरकार परिवर्तनबारे सोचेको छैन । यो सरकार र गठबन्धन पूर्ण कार्यकाल जान्छ । तपाईं ढुक्क हुनुहोस्’ भनेका थिए ।

प्रधानमन्त्रीले सोमबार मन्त्रीपरिषद् बैठकमा मन्त्रीहरूलाई यही सरकारले निरन्तरता पाउने भन्दै ढुक्क भएर काम गर्न निर्देशन दिएको पनि उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिए ।

मन्त्रीपरिषद बैठकपछि सरकारका प्रवक्ता रेखा शर्माले सञ्चारकर्मीसँग कुरा गर्दै यस विषयमा प्रस्ट पारेकी थिइन् । शर्माले बाहिर आएको हल्लाजस्तो सरकार र गठबन्धनमा कुनै समस्या नआएको बताइन् ।

‘सत्ता परिवर्तनको छलफल केही भएको छैन । बाहिर आएका कुरा र यथार्थ कुरा के हो भन्ने विषयमा प्रधानमन्त्रीज्यूले ब्रिफिङ गर्नुभयो । असमझदारी भए भन्ने जुन खालको हल्ला चल्यो, त्यस्तो छैन । यही गठबन्धन लामै समय जाने उहाँले जानकारी दिनुभयो । सरकार तलमाथि हुने जुन भ्रम सिर्जना भएको छ, त्यस्तो केही होइन’, प्रवक्ता शर्माले भनिन् ।

औपचारिक रूपमा सरकार सुरक्षित रहेको मन्त्रीहरुले भनिरहँदा वर्तमान मन्त्रिपरिषद्का अधिकांश सदस्य सरकारको आयुबारे दुविधामा देखिएका छन् । रातोपाटीसँग कुराकानी गर्दै एक मन्त्रीले भने, ‘उता छलफल धेरै अघि बढिसकेको छ । संवादहरू बाक्लिएका छन् । प्रधानमन्त्रीले सरकार ढल्दैन त भन्नुभयो । तर, आश्वस्त हुन सकिएको छैन । सरकार आज हो कि भोलि भन्ने अवस्थामा छ । आजै पनि कांग्रेस र एमालेका नेताहरू छलफलमा छन् ।’

यता सत्ता साझेदार मुख्य दल एमालेका नेताहरूले पनि अहिले सत्ता फेरबदल नहुने स्पष्ट पारेका छन् ।

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले सत्ता समीकरण फेरबदलको पक्षमा नभएको बताए । बाहिर आएको विभिन्न हल्लामा कुनै सत्यता नभएको उनको भनाइ थियो ।

‘बाहिर जसरी हल्ला आएका छन्, त्यसमा कुनै सत्यता छैन । एउटा जिम्मेवार नेताले सत्ता पक्ष र प्रतिपक्ष नेताहरूसँग संवाद गर्नु सामान्य हो । यसलाई सत्तासँग जोड्न आवश्यक छैन’, उनले भने । 

यता माओवादीका शीर्ष नेताहरूले पनि तत्काल सत्ता समीकरण फेरबदल गर्ने विषयलाई अस्वीकार गर्दै आएका छन् । उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देव गुरुङ, उपमहासचिवहरू हरिबोल गजुरेल, शक्ति बस्नेत, सचिवहरू दीनानाथ शर्मा, देवेन्द्र पौडल लगायत नेताहरूले देउवा र ओलीबिचको संवादले सरकारलाई समस्या नभएको दाबी गरेका छन् ।

अर्कोतिर प्रचण्ड र ओलीबिच सङ्क्रमणकालीन न्याय, सरकार सञ्चालन, सरकारको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल भएको उनीहरूको भनाइ थियो । यसै विषयमा थप प्रस्ट पार्दै माओवादी केन्द्रका नेता सापकोटाले वर्तमान सरकारलाई लामै समय लैजाने विषयमा प्रधानमन्त्री र ओलीबिच सहमति भएको दाबी गरे ।

‘तत्काल सत्ता समीकरण फेरबदल हुँदैन । उहाँहरू(प्रधानमन्त्री र ओली)बिच अहिलेसम्मको समीक्षा भएको छ । सरकारलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा कुरा भएको छ । अहिले यही समीकरणलाई कायम राखेर जाने कुरामा करिब सहमति भएको छ’, प्रचण्ड–ओली भेटबारे उनले भने, ‘प्रधानमन्त्री र ओलीका बिचमा सरकारलाई प्रभावकारी बनाउने विषयमा सहमति भएको छ । बाहिर जे तरङ्ग छ, यसमा कुनै दुविधा हुने ठाउँ छैन । यो कुरा प्रस्ट पार्न चाहन्छु ।’ सत्ता गठबन्धनमा तत्कालै कुनै समस्या नआउने उनको दाबी छ ।

फागुन ३० मा यसरी उठेको थियो देउवा–ओलीबिच कुरा चलाउने विषय

प्रधानमन्त्री प्रचण्डले केही दिनअघि आफ्नो पार्टीसँग संसदमा जादुयी नम्बर रहेको बताएका थिए । माओवादी केन्द्रले प्राप्त गरेको ३२ सिटको जादुयी नम्बर भएकाले प्रधानमन्त्रीबाट आफूलाई हटाउन सम्भव नभएको उनको भनाइ थियो ।

उस्तै परे पाँचै वर्ष आफू प्रधानमन्त्री हुने जिकिरसमेत उनले गरेका थिए । तर जादुवाला नम्बरमा भरोसा गरेको एक हप्तामै उथलपुथलका सङ्केत देखा परेपछि शीर्ष नेताहरूबिच दौडधुप बढेको हो ।

२०७९ को निर्वाचनपछि कहिले एमाले त कहिले कांग्रेसको समर्थनमा डेढ वर्ष सत्तामा रहेका प्रचण्डले ओलीसँगको भेटमा यस विषयमा निकै चासो देखाएका थिए । गत फागुन २१ गते सहयात्री दल कांग्रेससँग सम्बन्ध तोडेर उनले एमालेसँग दोस्रोपटक सत्ता सहकार्य गरेका थिए । तीन महिनापछि फेरि सत्ता समीकरण फेरबदल हुन सक्ने आशङ्कालाई नेताहरूको पछिल्लो गतिविधिले बल पुर्याएको छ ।

प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने बेला ओलीले देउवाप्रति लक्षित गर्दै व्यङ्ग्यको शैलीमा आपसमा कुरा नचलेको प्रसङ्ग निकालेका थिए । उनले महत्त्वपूर्ण विषयमा छलफल गर्न सकिने आशय व्यक्त गरेका थिए । प्रत्युत्तरमा हाँस्दै देउवाले ‘हुन्छ’ भनेजसरी टाउको हल्लाएका थिए ।  

‘शेरबहादुरजी हिजो सत्ता पक्षमा हुनुहुन्थ्यो, पूर्वप्रधानमन्त्री हुनुहुन्छ । म अहिले सत्ता पक्षमा छु । पूर्वप्रधानमन्त्री पनि हुँ । म भन्न चाहन्छु शेरबहादुरजीलाई बसौँ, कुरा गरौँ न । कुरा नचल्ने भन्ने हुँदैन । प्रतिपक्षमा बस्दैमा कुरै नचल्ने, त्यस्तो हुँदैन । आउनुहोस्, कुरा गरौँ । देश समस्यामा छ । मिलेर समस्या समाधान गरौँ’, देउवातर्फ हेर्दै त्यतिबेला ओलीले भनेका थिए ।

एकाएक सत्ताबाट प्रतिपक्षमा पुगेको कांग्रेसले प्रधानमन्त्रीलाई धोकेबाज भएको आरोप लगाउँदै धोका दिएकाहरू मिले भने हालत के हुन्छ भनेर प्रश्नसमेत गरेको थियो । प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमा भाग लिँदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले धोका पाएका दलहरू मिलेर देखाइदिने चेतावनी दिएका थिए ।

सत्ता घटक मुख्य दलका अध्यक्ष ओली र प्रतिपक्षी दलका नेताले दिएको चेतावनीप्रति प्रचण्डले मिलेर जान शुभकामना दिँदै आफू नडराउने जवाफ फर्काएका थिए ।

‘ठुला दल हामी मिल्यौं भने के हुन्छ भनेर अलि नै बढी घोच्ने काम भयो । आज पनि भनियो । मेरो त कामना छ । तपाईंहरू मिल्नोस् । सबै मिल्नोस् । सबै मिल्नुभयो भने माओवादी केन्द्र प्रमुख प्रतिपक्षमा बसेर फेरि देश र जनताको पक्षमा संविधानको रक्षाको पक्षमा, राष्ट्रियताको सुदृढीकरणको पक्षमा लडिराख्छ । तपाईंहरूलाई लागेको छ, त्यसो भनेर प्रचण्ड डराउँछ ? नेपाली कांग्रेसका साथीहरूले सबै मिलेर तेरो हालत के हुन्छ भनिरहँदा हिजो तपाईं सबै मिलेर टाउकै काट्न खोजेको हो नि त । डराउँछ माओवादी केन्द्र भन्नुभएको छ ? त्यस्तो हुँदैन । सक्नुहुन्छ मिल्नोस् । तर कुन राजनीतिक दल को कतिबेला मिल्छन् भन्ने कुरामा हरेक राजनीतिक दल स्वतन्त्र छन् । आफ्नो हिसाबकिताब राख्नोस् । फाइदा हुन्छ, मिल्ने हो । हुँदैन छोड्ने हो । यो स्वतन्त्रता छ ।’

उनले ओलीप्रति लक्षित गर्दै अगाडि भनेका थिए, ‘यहाँ पूर्वप्रधानमन्त्री ओलीजीले एउटा मर्मका साथ बोली नचल्ने भन्नुभयो । उता पूर्वप्रधानमन्त्री शेरबहादुरजीले अब बोल्ने हो भन्नुभयो । अब बोल्नोस् । म भन्छु, बोली फुकाउनोस् । बनाउनोस् सहकार्य । माओवादी केन्द्र, प्रचण्ड वा प्रधानमन्त्री दबाबमा पर्छ भन्ने भ्रम नराख्नोस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप