बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

कोपा–अमेरिकाको समूह ‘सी’ : चारवटै टोलीका लागि क्वार्टरफाइनलको ढोका खुला

सोमबार, १७ असार २०८१, २१ : ३३
सोमबार, १७ असार २०८१

मंगलबारको खेल
उरुग्वेविरुद्ध अमेरिका (विहान ०६ः४५ बजे)
बोलिभियाविरुद्ध पानामा (विहान ०६ः४५ बजे) 

काठमाडौँ । कोपा–अमेरिका फुटबल प्रतियोगितामा मंगलबार समूह ‘सी’ को निर्णायक खेल खेलिँदैछ । मंगलबार बिहान हुने खेलमा उरुग्वेले अमेरिका तथा बोलिभियाले पानामाको सामना गर्दैछन् । दुवै खेल नेपाली समयअनुसार, बिहान ०६ः४५ बजे सुरु हुनेछ । 

समूह ‘सी’ मा रहेका यी चारवटै टोलीको क्वार्टरफाइनलमा पुग्ने सम्भावना जीवितै छ । यद्यपि, बोलिभियाको क्वार्टरफाइनलमा पुग्ने सम्भावना निकै कम देखिन्छ । चारवटै टोलीले दुई–दुई खेल खेलिसकेका छन् । 

अघिल्लो दुवै खेलमा विजयी भएको उरुग्वे ६ अङ्कसहित पहिलो स्थानमा छ । उरुग्वेले आफ्नो पहिलो खेलमा पानामालाई ३–१ गोलले हराएको थियो । दोस्रो खेलमा उरुग्वेले बोलिभियामाथि ५–० गोलको विशालअन्तरको जित हात पारेको थियो ।

दुई खेलबाट तीन अङ्क बटुलेको आयोजक राष्ट्र अमेरिका तालिकाको दोस्रो स्थानमा आसीन छ । अमेरिकाले आफ्नो पहिलो खेलमा बोलिभियालाई २–० गोलले हराएको थियो । आफ्नो दोस्रो खेलमा अमेरिकी टोली पानामासँग १–२ गोलले पराजित भएको थियो । 

पानामा पनि दुई खेलबाट तीन अङ्क जोड्दै तालिकाको तेस्रो स्थानमा छ । पानामा आफ्नो पहिलो खेलमा उरुग्वेसँग १–३ गोलले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा पानामाले अमेरिकालाई २–१ गोलले हराएको थियो । 

दुवै खेलमा पराजित भएको बोलिभिया चौथो स्थानमा छ । मंगलबार बिहानको खेलमा अमेरिकालाई पराजित गरे उरुग्वे नौ अङ्कसहित समूह विजेताका रूपमा क्वार्टरफाइनलमा पुग्नेछ । त्यो खेल बराबरीमा सकिए पनि उरुग्वे सात अङ्कसहित नकआउट चरणमा प्रवेश गर्नेछ । 

मंगलबार बिहानको खेलमा अमेरिकालाई पराजित गरे उरुग्वे नौ अङ्कसहित समूह विजेताका रूपमा क्वार्टरफाइनलमा पुग्नेछ । त्यो खेल बराबरीमा सकिए पनि उरुग्वे सात अङ्कसहित नकआउट चरणमा प्रवेश गर्नेछ । यस्तो स्थितिमा अमेरिकाले अर्को खेलको नतिजा पर्खनु पर्नेछ ।

यस्तो स्थितिमा अमेरिकाले अर्को खेलको नतिजा पर्खनु पर्नेछ । अर्को खेलमा बोलिभियाले पानामालाई पराजित गरे अमेरिका चार अङ्कसहित क्वार्टरफाइनलमा पुग्नेछ । तर, अर्को खेलमा पानामाले बोलिभियालाई हराए ६ अङ्कसहित पानामा नकआउट चरणमा पुग्नेछ र अमेरिका समूहगत चरणबाटै बाहिरिने छ । 

यदि एउटा खेलमा उरुग्वेले अमेरिकालाई पराजित गरेमा र अर्को खेलमा बोलिभियाले पानामालाई हराएमा अमेरिका, पानामा र बोलिभियाको तीन–तीन अङ्क पुग्नेछ । यस्तो स्थितिमा नकआउट चरणमा पुग्ने दोस्रो टोलीको टुङ्गो गोलअन्तरका आधारमा लाग्नेछ । 

उरुग्वे सबैभन्दा बढी कोपा–अमेरिकाको उपाधि जित्ने राष्ट्र हो । अर्जेन्टिना र उरुग्वेले हालसम्म १५–१५ पटक कोपा–अमेरिकाको उपाधि जितिसकेका छन् । उरुग्वेले पछिल्लो पटक सन् २०११ मा उपाधि चुमेको थियो । उरुग्वे हालसम्म ६ पटक फाइनलमा पुगेर पराजित भएको छ । कोपा–अमेरिकामा उरुग्वेको यो ४६औँ सहभागिता हो ।

यसैगरी कोपा–अमेरिका फुटबलमा अमेरिकाको यो पाँचौँ सहभागिता हो । अमेरिकाले सन् १९९३ मा पहिलो पटक कोपा–अमेरिका खेलेको थियो । तर, अमेरिकी टोली हालसम्म फाइनलमा पनि पुग्न सकेको छैन । सन् १९९५ र सन् २०१६ मा अमेरिका चौथो भएको थियो । 

यसैगरी कोपा–अमेरिकामा बोलिभियाको यो २९औँ सहभागिता हो । बोलिभियाले सन् १९२६ मा पहिलो पटक सहभागिता जनाएको थियो । बोलिभिया पूर्वविजेता पनि हो । बोलिभियाले सन् १९६३ मा उपाधि जितेको थियो । बोलिभिया सन् १९९७ मा भने फाइनलमा पराजित भएको थियो । 

यसैगरी कोपा–अमेरिका फुटबलमामा पानामाको यो केवल दोस्रो सहभागिता हो । पानामाले सन् २०१६ मा पहिलो पटक सहभागिता जनाएको थियो । त्यसैले कोपा–अमेरिका फुटबलमा पानामाको खासै ठुलो इतिहास छैन । 

उरुग्वे र अमेरिकाबिच अन्तर्राष्ट्रिय फुटबलमा हालसम्म कुल सात खेल खेलिएको छ । त्यसमध्ये दुई खेलमा अमेरिकाले उरुग्वेलाई हराएको छ । एक खेलमा उरुग्वेले अमेरिकालाई पराजित गरेको छ । चार खेल भने बराबरीमा सकिएको छ ।

यसैगरी बोलिभिया र पानामाबिच हालसम्म अन्तर्राष्ट्रिय फुटबलमा कुल आठ खेल खेलिएको छ । त्यसमध्ये पाँच खेलमा पानामाले बोलिभियालाई हराएको छ । बाँकी तीन खेलमा बोलिभियाले पानामालाई पराजित गरेको छ । 

समूह ‘ए’ बाट अर्जेन्टिना र क्यानडा तथा समूह ‘बी’ बाट भेनेजुएला र इक्वेडर भने यसअघि नै प्रतियोगिताको क्वार्टरफाइनलमा पुगिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप