बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

नेपाली छुर्पी कुकुर र बिरालाको आहार, वार्षिक तीन अर्ब बढीको निर्यात

सोमबार, १७ असार २०८१, २१ : २४
सोमबार, १७ असार २०८१

काठमाडौँ । कुकुर र बिरालाहरूको आहारका रूपमा विदेश निर्यात हुँदै आएको नेपाली छुर्पी २७ देशमा पुग्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । भन्सार विभागका अनुसार नेपालबाट वार्षिक तीन अर्ब रुपैयाँभन्दा बढीको छुर्पी निर्यात हुँदै आएको छ ।

चालु आर्थिक वर्षको ११ महिनासम्ममा १५ लाख ३७ हजार १८६ किलो २ अर्ब ९७ करोड ७५ लाख रुपैयाँ बराबर छुर्पी निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

नेपाली छुर्पी कुकुर र बिरालोको दानाका रूपमा निर्यात हुने गरेको भन्सार विभागले जनाएको छ । नेपालमा वार्षिक करिब ३६ लाख किलो छुर्पी उत्पादन हुने गरेको नेपाल डेरी एसोसिएसनको दाबी छ । 

मुख्य गरी अमेरिका र क्यानडामा निर्यात हुँदै आएकोमा हाल ब्राजिल, क्यानडा, चीन, चेक रिपब्लिक, फिनल्यान्ड, फ्रान्स, ग्रिस लगायतका मुलुकमा नेपाली छुर्पी निकासी भइरहेको विभागले जनाएको छ ।

यसैगरी हङकङ, भारत, इटाली, जापान, दक्षिण कोरिया, लेबनान, मलेसिया, नेदरल्याण्ड र न्यूजिल्याण्डमा नेपाली छुर्पी पुग्ने गरेको छ । फिलिपिन्स, कतार, सिंगापुर, स्लोभाकिया, ताइवान, थाइल्याण्ड, यूएई, बेलायत, भियतनाम र नामिबियामा पनि चालु आर्थिक वर्षमा उल्लेख्य मात्रामा छुर्पी निर्यात भइरहेको विभागको तथ्याङ्क छ ।

नेपालमा विगत लामो समयदेखि छुर्पी उत्पादन हुँदै आएको छ । छुर्पी बिशेषगरी शेर्पाहरुले चौरी गाईको दुधबाट हिमाली भेगमा बनाउने चलन छ । अन्य गाईको दुधबाट पनि छुर्पी व्यावसायिक रूपमा तयार गर्ने गरिन्छ । दुध बिक्री गर्न गाह्रो हुने स्थानमा र दूध बिक्री नहुने समयमा  यसको उत्पादन हुने गरेको छ । 

आन्तरिक र बाहिरी पर्यटकले खानको लागि खरिद गर्ने गरेको छुर्पी नेपालमा कोशेलीका रूपमा पनि चर्चित छ । तर युरोप अमेरिकामा भने कुकुरको आहाराको रूपमा निर्यात हुने गरेको छ । नेपालमा अधिकांश पहाडी र हिमाली जिल्लामा छुर्पी व्यावसायिक रूपमा उत्पादन गर्ने गरिन्छ । मानिसले उपभोग गरी रहेको छुर्पीमाभन्दा अर्को छुर्पी हड्डी जस्तै कडा हुने र कुकुरले मासुको हड्डी सम्झेर खाने गरेको पाइन्छ । 

मानिसले खाने छुर्पीमा बढी फ्याट हुने र कुकुरले खानेमा कम फ्याट हुने गरेको व्यवसायीहरु बताउने गर्छन् । नेपालको छुर्पीमा अत्यधिक प्रोटिन हुने भएकाले कुकुरका लागि पोसिलो मानिन्छ । कुकुरका लागि उत्पादित छुर्पीमा ६७ देखि ७५ प्रतिशतसम्म प्रोटिन हुन्छ । छुर्पीको एउटा ठुलो टुक्रालाई खाइसक्न कुकुरले कम्तीमा पाँच घण्टा लगाउँछ । छुर्पी पशुको हड्डी जस्तै कडा हुने भएकाले कुकुरले लगातार चपाउने गर्छ । 

सन् २०१३ देखि विदेशमा कुकुरका लागि छुर्पी निर्यात हुन थालेको हो । सूर्योदय नगरपालिकास्थित फिक्कल डेरीबाट दुवै खालको छुर्पी उत्पादन भइरहेको यसका सञ्चालक दिनेश महतले जानकारी दिए । महतका अनुसार मानिसले खाने छुर्पीको बजार मूलतः नेपाल, भारत, भुटान र तिब्बत रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप