बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
युरोकपको नकआउट चरण

अघिल्लो हारबाट डराएको पोर्चुगललाई क्वार्टरफाइनलमा पुग्न स्लोभानियाको त्रास

सोमबार, १७ असार २०८१, २० : ०८
सोमबार, १७ असार २०८१

काठमाडौँ । युरोकप फुटबल प्रतियोगिताको नवौँ संस्करणमा मंगलबार क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले ठुलो सङ्घर्षपछि नकआउट चरणमा पुगेको स्लोभानियाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार, बिहान ००ः४५ बजे सुरु हुनेछ । 

विश्व फुटबलमा यी दुई टोली धेरै अर्थमा एक–अर्काभन्दा फरक छन् । अन्तर्राष्ट्रिय फुटबलमा कोरेको इतिहासदेखि युरोकप सहभागितासम्ममा यी दुई राष्ट्रबिच निकै ठुलो अन्तर देखिन्छ । विश्व फुटबल महासंघद्वारा जारी पछिल्लो वरीयतामा पोर्चुगलभन्दा स्लोभानिया निकै पछाडि छ । वरीयतामा पोर्चुगल छैटौँ र स्लोभानिया ५७औँ स्थानमा छन् । 

जारी युरोकपको समूहगत चरणमा पनि यी दुई टोलीबिच निकै ठुलो अन्तर थियो । पोर्चुगल आफ्नो समूहको विजेता बन्दै नकआउट चरणमा पुगेको हो । पोर्चुगल प्रारम्भिक चरणको समूह ‘एफ’ मा रहेको थियो । पोर्चुगलले तीनमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकाल्यो ।

Cristiano_Ronaldo_Portugal_2024

पोर्चुगलले आफ्नो पहिलो खेलमा चेक गणतन्त्रलाई २–१ गोलले पराजित गरेको थियो । आफ्नो दोस्रो खेलमा पोर्चुगलले टर्कीमाथि ३–० गोलको सजिलो जित हात पारेको थियो । तेस्रो खेलमा भने पोर्चुगलको टोली अप्रत्याशित रूपमा जर्जियासँग ०–२ गोलले हारेको थियो । 

प्रारम्भिक चरणमा स्लोभानिया भने समूह ‘सी’ मा रहेको थियो । उक्त समूहमा स्लोभानिया तेस्रो स्थानमा रह्यो । त्यसपछि स्लोभानिया तेस्रो हुने उत्कृष्ट चार टोलीभित्र पर्दै प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको थियो । 

स्लोभानियाले तीनवटै खेलमा बराबरीको नतिजा निकाल्यो । स्लोभानिया आफ्नो पहिलो खेलमा डेनमार्कसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा स्लोभानियालाई सर्बियाले १–१ गोलको बराबरीमा रोकेको थियो । तेस्रो खेलमा स्लोभानियाले बलियो इङ्ल्यान्डलाई गोलरहित बराबरीमा रोकेको थियो । 

समूहगत चरणको प्रदर्शनलाई हेर्दा पोर्चुगलले पक्कै पनि स्लोभानियालाई कमजोर प्रतिद्वन्द्वीका रूपमा आँक्ने प्रयास गर्नेछन् । किनभने स्लोभानियाले डेनमार्क र इङ्ल्यान्डजस्तो बलिया टोलीलाई पनि आच्छुआच्छु पारेको यर्थाथ पोर्चुगलले राम्ररी बुझेको छ । 

पोर्चुगल र स्लोभानियाबिच अन्तर्राष्ट्रिय फुटबलमा हालसम्म एक खेलमात्र खेलिएको छ । त्यो खेलमा स्लोभानियाले पोर्चुगललाई हराएको छ । सन् २०२४ को मार्च २६ तारिखमा खेलिएको मैत्रीपूर्ण खेलमा स्लोभानियाले पोर्चुगललाई २–० गोलले हराएको थियो ।

युरोकप फुटबलमा पोर्चुगलको यो नवौँ सहभागिता हो । पोर्चुगलले सन् १९८४ मा पहिलोपटक युरोकप खेलेको थियो । पोर्चुगल युरोकपको पूर्वविजेता पनि हो । पोर्चुगलले सन् २०१६ मा युरोकपको उपाधि चुमेको थियो । त्यतिबेला फाइनलमा पोर्चुगलले फ्रान्सलाई अतिरिक्त समयमा १–० गोलले हराएको थियो ।

त्यसअघि पोर्चुगल सन् २००४ मा पनि युरोकपको फाइनलमा पुगेको थियो । तर, त्यतिबेला फाइनलमा ग्रिसले पोर्चुगललाई १–० गोलले हराएको थियो । अघिल्लो युरोकपमा भने पोर्चुगल प्रि–क्वार्टरफाइनलमै बेल्जियमसँग पराजित भएको थियो । 

1706950914807

युरोकपमा स्लोभानियाको भने यो केवल दोस्रो सहभागिता हो । सन् २००० मा स्लोभानियाले पहिलो पटक युरोकप खेलेको थियो । त्यसैले युरोकपमा स्लोभानिया खासै अनुभवी टोली होइन् । यद्यपि, पछिल्लो समय स्लोभानिया लयमा छ र कुनै पनि बेला अप्रत्याशित नतिजा निकाल्न सक्षम देखिन्छ ।

यसपटक समकालीन विश्व फुटबलका महान खेलाडी क्रिस्टियानो रोनाल्डोका लागि पनि युरोकप विशेष देखिन्छ । सम्भवतः ३९ वर्षीय रोनाल्डोका लागि यो नै अन्तिम युरोकप हुनेछ । त्यसैले उनी आफ्नो कप्तानीमा पोर्चुगललाई उपाधि चुमाउन आतुर देखिन्छन् ।

यसपटक युरोकपको छनोट प्रतियोगितामा पनि पोर्चुगलको प्रदर्शन उत्कृष्ट थियो । पोर्चुगल आफ्नो समूहको विजेता बन्दै युरोकपमा छनोट भएको हो । पोर्चुगलले छनोट चरणमा खेलिएको १० वटै खेलमा जित हात पारेको थियो । 

छनोट चरणको प्रतियोगितामा पोर्चुगलले विपक्षीको पोस्टमा कुल ३६ गोल गरेको थियो भने दुई गोलमात्र खाएको थियो । अर्कोतिर, स्लोभानिया आफ्नो समूहको उप–विजेता बन्दै जारी युरोकपमा उपस्थित भएको हो । 

potugal

छनोट चरणमा स्लोभानियाले १० मध्ये सात खेलमा जित, एक खेलमा बराबरी र दुई खेलमा हारको नतिजा निकालेको थियो । स्लोभानियाले विपक्षीको पोस्टमा २० गोल गरेको थियो भने केवल नौ गोल खाएको थियो । 

पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो युरोकपको अघिल्लो संस्करणमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । रोनाल्डोले अघिल्लो युरोकपमा पाँच गोल गरेका थिए । रोनाल्डोले छैटौँपटक युरोकपमा सहभागिता जनाएका हुन् । रोनाल्डो युरोकपको ६ वटा संस्करणमा सहभागिता जनाउने एकमात्र खेलाडी पनि हुन् । 

रोनाल्डोले सन् २००४ देखि नियमित रूपमा युरोकपमा सहभागिता जनाउँदै आएका छन् । उनी युरोकपमा सबैभन्दा बढी खेल खेल्ने खेलाडी पनि हुन् । उनी युरोकपमा सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि हुन् । उनले युरोकपमा १४ गोल गरिसकेका छन् । 

युरोकपमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा फ्रान्सका मिचेल प्लाटिनी दोस्रो स्थानमा छन् । उनले युरो कपमा कुल नौ गोल गरेका थिए । रोनाल्डो यो युरोकपको छनोट प्रतियोगिता पनि सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा दोस्रो स्थानमा थिए । छनोट प्रतियोगितामा उनले कुल १० गोल गरेका थिए । उनले साउदी लिगमा यो सिजन अल नासरका लागि कुल ३१ खेल खेल्दै ३५ गोल गरेका छन् । 

पोर्चुगल र स्लोभानियाबिच अन्तर्राष्ट्रिय फुटबलमा हालसम्म एक खेलमात्र खेलिएको छ । त्यो खेलमा स्लोभानियाले पोर्चुगललाई हराएको छ । सन् २०२४ को मार्च २६ तारिखमा खेलिएको मैत्रीपूर्ण खेलमा स्लोभानियाले पोर्चुगललाई २–० गोलले हराएको थियो ।

जारी युरोकपमा पोर्चुगलको प्रमुख प्रशिक्षक रोबर्टो मार्टिनेज हुन् । ५० वर्षीय स्पेनिस नागरिक मार्टिनेजले सन् २०२२ मा बेल्जियको जिम्मेबारी छाडेका थिए । त्यसपछि सन् २०२३ मा उनलाई पोर्चुगलले आफ्नो प्रमुख प्रशिक्षक बनाएको थियो । 

जारी युरोकपमा पोर्चुगलको टोलीमा रोनाल्डोसँगै बार्सिलोनाका जोआओ फेलिस्क, पेरिस सेन्ट जर्मनका गोन्कालो रामोस, एसी मिलानका राफेल लियो, म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेसलयातका प्रभावशाली खेलाडी छन् । पोर्चुगिज टोलीमा ब्राजिलमा जन्मिएका सेन्टर ब्याक पेपे पनि सहभागी छन् । उनी युरोकप खेल्ने सबैभन्दा बढी उमेरका खेलाडी हुन् ।

जारी युरोकपमा स्लोभानियाको प्रमुख प्रशिक्षक मट्ज्याक केक हुन् । स्लोभानियाको टोलीमा एट्लेटिको म्याड्रिडका जन ओब्लाक (गोलरक्षक एवं कप्तान), युडिनेसका जाका बिजोल, पानाथिनाइकसका बेन्जामिन भर्बिकलगायतका खेलाडी सहभागी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप