बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

६० किलो सुन तस्करी प्रकरण : यूएसडीटीसँगै ‘पेवेल’ र ‘सजिलो’मार्फत यसरी हुन्थ्यो भुक्तानी

सोमबार, १७ असार २०८१, २० : ०१
सोमबार, १७ असार २०८१

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानले ६० किलो सुन तस्करी प्रकरणमा ‘डिजिटल वालेट’ कसरी प्रयोग भए भन्ने खुलाएको छ । हङकङबाट ल्याएको सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको थियो ।

सुरुमा १ क्वीन्टल भनिएको सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले गरेको परीक्षणबाट ६० किलोग्राम रहेको पाइएको थियो ।

यसपछि सुरु भएको सुन तस्करी प्रकरणमाथिको खोज तथा अनुसन्धानले धेरै तथ्य बाहिर ल्याइदिएको छ । दोस्रो चरणको अनुसन्धानले तस्करीमार्फत ३२ क्वीन्टल सुन नेपाल भित्रिएको र विभिन्न माध्यमबाट त्यसबापत भुक्तानी भएको समेत देखियो ।

भुक्तानीका माध्यमका रूपमा तस्करहरूले ‘क्रिप्टोकरेन्सी’ र ‘डिजिटल वालेट’लाई प्रयोग गरेको सीआईबीको अनुसन्धानले खुलाएको छ ।

तस्करीको सुनको भुक्तानीका लागि नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त मोबाइल भुक्तानी सेवाप्रदायक कम्पनीहरूको संलग्नता कस्तो थियो भन्ने अनुसन्धानले खुलाइदिएको हो । ‘पेवेल’ र ‘सजिलो पेमेन्ट’मार्फत अर्बौं रुपैयाँ भुक्तानी भएको पाइएको सीआईबीले जनाएको छ । यो कार्यमा संलग्न एजेन्ट र कर्मचारी गरी कुल ८ जना पक्राउ परेका छन् ।

यी दुई कम्पनीले स्थापना भएदेखि जम्मा १ खर्ब २३ अर्ब रुपैयाँको कारोबार गरेका थिए । यसमध्ये ९६ अर्ब रुपैयाँको भौचर डिपोजिट भएको पाइएको थियो ।

मोबाइल वालेटको भूमिका निर्वाह गर्दै डिजिटल कारोबार प्रबर्द्धन र प्रोत्साहन गर्ने लक्ष्यसहित स्थापित यी कम्पनी विदेशबाट आउने रेमिट्यान्सको हुन्डी गर्दै सुन तस्करीमा भुक्तानीको भरपर्दो माध्यम बन्दै आएका थिए । अष्ट्रेलिया, दुबई, दक्षिण कोरियाबाट रेमिट्यान्सका रूपमा रकम उठाउँदै नेपाल नपठाउने गरेका थिए । रेमिट्यान्सको रकम विदेशमै सुन खरिदमा भुक्तानी गर्दै नेपालमा तस्करीकै रकमबाट भुक्तानी दिने गरेको तथ्य बाहिर आएको हो ।

सीआईबीले प्रतिवादी शिवकुमार सर्राफको मोबाइल परीक्षण गर्दा तस्करीको सुनको भुक्तानीमा यी दुई मोबाइल वालेटको प्रयोग हुने तथ्य फेला पारेको थियो । प्रतिवादी राजु खत्री र सर्राफका बिच भएको ह्वाट्एप कुराकानीका आधारमा पेवेल र सजिलो पेमेन्टको भण्डारफोर भएको हो । उनीहरूले मोबाइल वालेटको स्लिपको ‘पर्पोज अफ डिपोजिट’मा रेमिट्यान्स, लोन पेमेन्ट, सापटी फिर्ता लगायत उल्लेख गर्थे ।

कुंगा टासी शेर्पा भन्ने चिनियाँ नागरिक जेङ्ग्गा झाङ्गीले (यूएसडीटी) क्रिप्टोको कारोबार गरेर सुनको भुक्तानी दिने गरेका थिए । यस्तै सोनाम गुरुङ भन्ने शेरब ग्याल्मो लगायतले भने यूएसडीटी बनाउँदै भुक्तानी गर्ने गरेको तथ्य फेला परेको छ । क्रिप्टोमार्फत भुक्तानी नपुगेपछि ‘पेवेल’ र ‘सजिलो पे’ प्रयोग हुने गरेका थिए ।

यस्तो छ पेवेल नेपालको संलग्नता

1

राजु खत्रीको मोबाइल फरेन्सिक जाँचमार्र्फत पेवेल नेपालमा डिपोजिट गरेको १७ वटा भौचर र कुल डिपोजिट रकम १ करोड १० लाख ६० हजार पाइएको थियो । यस्तै प्रतिवादी प्रशांत गणेश बजबलकरको मोबाइल फरेन्सिक जाँचमार्फत पेवेल नेपालमा डिपोजिट भौचर १० थान र कुल डिपोजिट रकम ९० लाख भेटिएको बताइएको छ ।

प्रतिवादी धिरज दिनेश बोईटेको मोबाइल फरेन्सिक जाँचमार्फत पेवेलमा ३७ थान डिपोजिट भौचर र ५ करोड ८० हजार पाइएको सीआईबीले बताएको छ ।

यसबाहेक प्रतिवादी सिद्धार्थ अशोक गाइकवाको मोबाइल फरेन्सिक जाँचमार्फत पेवेलमा डिपोजिट गरेको ४१ थान भौचर र ५ करोड ५९ लाख ५६ हजार डिपोजिट भेटिएको थियो । तस्करीमा संलग्नहरूले विभिन्न बैंकमार्फत पेवेल र सजिलो पेमा रकम जम्मा गर्ने गरेका थिए ।

रेमिट्यान्सको समेत लक्ष्य राखेर स्थापित यी कम्पनीमार्फत रेमिट्यान्सको कारोबार नै न्यून देखाएको छ । पेवेलले गरेको कुल कारोबारमा रेमिट्यान्सको हिस्सा ११.७ प्रतिशत देखिन्छ ।

यस्तै बैंक तथा वित्तीय संस्थामार्फत भएको कारोबार ४.८ प्रतिशत देखिन्छ भने भौचरमार्फत भएको कारोबार ७४.९ प्रतिशत देखिन्छ । भौचरबाट भएको कारोबार नै सुन तस्करीको भुक्तानीका लागि प्रयोग भएको तथ्य सीआईबीको अनुसन्धानबाट भेटिएको हो ।

2

त्यसअघि पिन्टु भन्ने अभिजित तानाजी मुलिकले सञ्चालन गरेको रिफाइनेरी पसलबाट पेवेल नेपालको विभिन्न बैंक खातामा डिपोजिट गरेको ६ वटा भौचर बरामद भएको थियो । मुक्तिनाथ विकास बैंक, नेपाल बैंक, हिमालयन बैंक, कामना विकास बैंकको खातामा उक्त रकम जम्मा भएको थियो ।

पेवेलले गर्ने गरेको अवैध कारोबारबारे नेपाल राष्ट्र बैंकलाई समेत गलत रिपोर्टिङ गर्ने गरेको अनुसन्धानका क्रममा देखिएको थियो । ‘यस्तै सीआईबीले सुरुमा माग्दासमेत गलत सूचना दिइयो,’ अनुसन्धान अधिकृत सुन्दर तिवारीले भने ।

पेवेलको कुल एजेन्ट १९ सय ५९ छन् । यीमध्ये ८ एजेन्टको कारोबार १ अर्ब रुपैयाँभन्दा बढी भेटिएको अनुसन्धानले खुलाएको छ । जबकि १३ सय ६३ एजेन्टको कुल क्रेडिट नै जम्मा १३ अर्ब ५८ करोड ५४ लाख थियो । यसबाट समेत सीआईबीलाई अस्वाभाविक कारोबारको छनक मिलेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन् ।

यस्तो देखियो सजिलो पेमेन्टको संलग्नता

3

सजिलो पेमेन्टले भने तस्करीमा भुक्तानीका लागि नेपाल राष्ट्र बैंकलाई नै ई–मनीको गलत तथ्याङ्क उपलब्ध गराएको पाइएको छ । सजिलोले बास्तविक ई–मनीको तथ्याङ्कलाई लुकाएर केन्द्रीय बैंकलाई न्यून तथ्याङ्कमात्रै उपलब्ध गराउने गरेको खुलेको हो ।

३ मे २०२४ को तथ्याङ्कअनुसार सजिलो पेमेन्टमा ९४ करोड ७७ लाख रुपैयाँ ई–मनी थियो । जबकि केन्द्रीय बैंकलाई जम्मा २० लाख रुपैयाँ बराबरीको ई–मनी तथ्याङ्क पठाएको थियो ।

सजिलो पेमेन्टको कुल कारोबारमा पनि भौचरबाट जम्मा भएको रकमको हिस्सा ९४ प्रतिशतभन्दा बढी देखियो । जुन सुन तस्करीमा संलग्न भएका तस्करहरूको माध्यमबाट जम्मा भएको थियो ।

4

अनलाईनमार्फत हुने लोडको हिस्सा ४ प्रतिशत, अन्य कारोबार १ प्रतिशत र रेमिट्यान्सबाट जम्मा भएको क्रेडिट नगन्य देखिएको सीआईबी अनुसन्धानले देखाएको छ ।

अवैध सुन कारोबारबाट प्राप्त तथा स्रोत नखुलेको रकम पेवेल नेपाल र सजिलो पेको खातामा निक्षेप, रकमान्तर, स्थानान्तरण, भुक्तानी र फर्स्यौट भएको १ अर्बभन्दा बढीको भौचर र विवरण प्राप्त भएको अनुसन्धानबाट भेटिएको छ । यी भुक्तानी सेवाप्रदायक कम्पनीले नेपाल राष्ट्र बैंकको स्वीकृतिविना नै एजेन्टमार्फत नगद कारोबार गरेको तथा बैंक भौचर नै भुक्तानीको उपकरणको रूपमा प्रयोग गरेको पाइएको थियो ।

सेटेलमेन्ट खातामा रहेकोभन्दा अधिक ई–मनी जारी गरेको पाइएको तथा विना रकम मौज्दात ई–मनी जारी गरेको पाइएको समेत सीआईबीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप