बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
४८ दिनको समीक्षा

स्वास्थ्य मन्त्रीका ४८ दिन : सूचनाविनै अस्पतालको अनुगमनदेखि जनशक्तिका लागि पहल

सोमबार, १७ असार २०८१, १९ : ४०
सोमबार, १७ असार २०८१

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले पूर्वसूचना विनै विभिन्न अस्पतालको अनुगमन गरिरहेका छन् । अस्पतालको सुधार गर्न सके स्वास्थ्य क्षेत्रमा सुधार हुने उनको मान्यता छ । उनी वीर अस्पताल, मन्त्रालयका शाखाहरूको अनुगमन गरिरहेका छन् ।

यादवले सोमबार मन्त्रालयमा पत्रकारहरूसँग छलफलका क्रममा आफ्नो ४८ दिन (वैशाख ३१ गते नियुक्त)को कार्यकालको समीक्षा गर्दै आफूले स्वास्थ्य क्षेत्र सुधारको एउटामात्रै लक्ष्य लिएर अगाडि बढेको बताए । ‘जे–जसरी काम सुरु भए पनि मेरो एकमात्रै लक्ष्य स्वास्थ्य क्षेत्रमा रहेको विसङ्गतिको अन्त्य गर्नु नै हो,’ उनले भने, ‘अस्पतालहरूको सुधार नै मेरो मुख्य लक्ष्य हो । सुधार कसरी गर्ने, त्यसमै म आएदेखि नै लागिपरेको छु ।’

मन्त्री यादवले राजनीतिक स्थिरता नरहेकाले स्वास्थ्य क्षेत्रलाई नयाँ स्वरुप दिनुभन्दा स्वास्थ्य क्षेत्रमा देखिएका बेथितिलाई सुधार गर्नुपर्ने बताए । ‘राजनीतिक स्थिरता छैन । जहाँ अस्थिरता हुन्छ, त्यहाँ ठुलोठुलो क्रान्तिकारी कुरा गरेर सम्भव पनि हुँदैन,’ उनले भने, ‘त्यसकारण जुन हाम्रो अवस्था छ, त्यसलाई कसरी सुधार गर्ने, त्यसमा हामीले काम गरिरहेका छौँ । सबै कुरा बुझेका छैनौँ । तर अधिकतम कुरा बुझेर काम गरिरहेका छौँ ।’

उनले वीर अस्पतालको अनुगमनका क्रममा एउटै बेडमा तीन जनासम्म बिरामी राखेको भेटिएको बताए । ‘अस्पतालको आकस्मिक कक्षमा बेड सङ्ख्या बढाएर नयाँ भवनबाट सेवा दिन निर्देशन दिएको छु,’ उनले भने, ‘शल्यक्रियाका लागि पावर लगाउनुपर्ने अवस्था छ, यस्तो परिस्थितिमा जनतामा निराशा छाएको छ । त्यसलाई हटाउनका लागि भाषणभन्दा पनि काम गर्नुपर्ने अवस्था आएको छ ।’

उनले अनुगमनका क्रममा अस्पतालका फार्मेसीमा औषधि नपाइने, बेड अभाव, शल्यक्रियाका लागि लामो समयसम्म कुर्नुपर्ने लगायतका समस्याबारे व्यापक जनगुनासो पाइएको बताए ।

ग्लोबल फन्डबाट आउने ६ अर्बबाट ३ अर्ब गोष्ठी र भ्रमणमा खर्च

ग्लोबल फन्डबाट आउने करिब ६ अर्ब रकममध्ये ३ अर्ब रुपैयाँ गोष्ठी र भ्रमणमा खर्च हुने गरेको पाइएको छ । स्वास्थ्यमन्त्री यादवले बाँकी तीन अर्ब बिचौलिया, तलब र भत्तामा खर्च हुने गरेको बताए ।

उनले अस्पतालले सबै सुविधामा १० प्रतिशत निःशुल्क उपचार सुविधा दिनुपर्ने बताए । अस्पतालहरूले १० प्रतिशत शय्यामात्रै निःशुल्क गरेका छन् । शल्यक्रिया, औषधि लगायतमा पनि १० प्रतिशत नै सुविधा दिनुपर्ने उनको भनाइ छ ।

निजी अस्पतालले १० प्रतिशत बेड निःशुल्क उपलब्ध गराउनुपर्ने सरकारी नियम छ ।

९२ हजार जनशक्तिमध्ये ६० हजार पदपूर्ति

देशभर स्वास्थ्य क्षेत्रमा आवश्यक ९२ हजार जनशक्तिमध्ये कम्तीमा पनि ६० हजार जनशक्ति पदपूर्ति गर्न लागिपरेको मन्त्री यादवले बताए । अस्पतालमा जनशक्ति पदपूर्ति गर्ने आफ्नो पहिलो निर्णय सम्झिँदै उनले यसको कार्यान्वयनका लागि छलफल भइरहेको बताए ।

‘हिजोको मन्त्रीले आफ्नो निर्णय कार्यान्वयनका लागि पहल नगरे पनि मैले फलो गर्दैछु,’ उनले भने, ‘यो काम गरेर देखाउँछु ।’

साउनमा जनशक्ति हेरफेर हुने

मन्त्री यादवले साउनमा स्वास्थ्य क्षेत्रमा जिम्मेवारी हेरफेर हुने सङ्केत गरेका छन् । उनले एउटै व्यक्तिलाई लामो समयसम्म एउटै जिम्मेवारी दिइनु उचित नहुने भएकाले साउनपछि स्वास्थ्य क्षेत्रमा जिम्मेवारी हेरफेर हुने सङ्केत गरेका हुन् । एउटै व्यक्तिलाई धेरै जिम्मेवारी दिने परिपाटीसमेत अन्त्य गर्न आफू लागिपरेको उनको भनाइ छ । ‘युवा अवस्थामै स्वास्थ्य मन्त्री बनेको छु,’ उनले भने, ‘मलाई विश्वास गर्नुहोस्, स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गर्नेछु ।’

निजी अस्पतालमा कम पारिश्रमिकमा काम

निजी अस्पतालहरूले नर्सहरूलाई न्यून पारिश्रमिकमा काम गराइरहेको आफूलाई जानकारी भएको मन्त्री यादवले बताए । उनले कम रकममा काम लगाउने गरेको रिपोर्ट मन्त्रालयसम्म आइपुगेको उल्लेख गरे । ‘नर्सहरूलाई न्यून पारिश्रमिकमा काम लगाउने अस्पतालको नाम तपाईंहरूलाई थाहा भए मलाई जानकारी गराउनुहोला,’  उनले भने ।

स्वास्थ्य क्षेत्र सुधारका लागि उच्चस्तरीय अनुगमन समिति गठन

मन्त्री यादवले अस्पताल सुधारका लागि मन्त्रालयका अतिरिक्त दुई जना सचिवको नेतृत्वमा अध्ययन गर्ने काम भइरहेको बताए । ‘मन्त्रालयका अतिरिक्त दुई जना सचिवको नेतृत्वमा अध्ययन गर्ने कार्य हुँदैछ,’ उनले भने, ‘सो अध्ययनको रिपोर्ट आउने क्रममा छ ।’

नेपाली औषधि उद्योग, औषधि थोक विक्रेता तथा फार्मेसीहरूको गुणस्तर र सञ्चालनमा देखिएका जनगुनासोलाई सम्बोधन गर्न एक उच्चस्तरीय अनुगमन समिति गठन गरेको उनले उल्लेख गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप