बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

सर्वोच्चद्वारा भौतिक मन्त्रालयका पूर्वसहसचिव रञ्जितकार भ्रष्टाचारी ठहर

सोमबार, १७ असार २०८१, १७ : ५१
सोमबार, १७ असार २०८१

काठमाडौँ । सर्वोच्च अदालतले भौतिक पूर्वाधार तथा यातायात  मन्त्रालयमा इन्जिनियरको रूपमा कार्यरत सहसचिव अरुणकुमार रञ्जितकारलाई भ्रष्टाचारी ठहर गरेको छ । न्यायाधीशद्धय प्रकाशमान सिंह राउत र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले सोमबार भ्रष्टाचार मुद्दामा उनलाई दोषी ठहर गर्ने फैसला सुनाएको हो ।

न्यायाधीशद्वय राउत र फुयाँलको संयुक्त इजलासले जेठ २० गतेदेखि निरन्तर सुनुवाइ गर्दै  निसु तोकेको  थियो । यसअघि  उक्त मुद्दामा बहस सकेर असार १० गतेसम्म दुवै पक्षबाट बहस नोट पेस गर्ने र १७ गते फैसला सुनाउने मिति तोकेको थियो  । 

विशेष अदालतले पनि पूर्वसहसचिव रञ्जितकारलाई दोषी ठहर गरेको थियो ।सर्वोच्चले ११ वर्षपछि उक्त फैसला सदर गरेको हो  ।  

विशेषले २०६९ मंसिर ८ गते विशेष अदालतले पूर्वसहसचिव रञ्जितकारलाई भ्रष्टाचारी ठहर गर्दै एक वर्ष कैद, ४५ लाख ४५ हजार ५०३ बराबरको बिगो र बिगो बराबर जरिवाना हुने फैसला सुनाएको थियो ।

विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले पूर्वसहसचिव रञ्जितकार र उनको परिवारको नाममा भएको ४० लाख ६७ हजार ७०० रुपैयाँ बराबरको सेयर र सेयरबाट बढेको रकम सरकारको हुने तथा चार लाखको सवारी साधन तथा नपुग ७७ हजार ८०३ रुपैयाँ बैंक मौज्दातबाट जफत हुने भनेको थियो ।

रञ्जितकार र उनको परिवारसँग घर, जग्गा, सवारी साधन, सेयर, बैंक ब्यालेन्सलगायत जम्मा दुई करोड ५२ लाख ८ हजार रुपैयाँ बराबरको सम्पत्ति रहेकोमध्ये दुई करोड ६ लाख ६२ हजार ८६४ बराबरको सम्पत्ति वैध भएको र ४५ लाख ४५ हजार ५०३ वैध आम्दानीभन्दा बढी देखिन आएको सो फैसलामा उल्लेख थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६१ फागुन १८ गते सहसचिव रञ्जितकारविरुद्ध मुद्दा दायर गरेकोमा हदम्याद नघाइ मुद्दा दर्ता गराएको भन्दै उक्त अदालतले २०६३ असार २१ गते मुद्दा खारेज गरेको थियो ।

सर्वोच्च अदालतले २०६८ फागुन ३० मा भ्रष्टाचार निवारण ऐनको दफा २४ क बमोजिमको हदम्यादभित्रै मुद्दा दायर भएको देखिएकाले मुद्दाको तथ्यभित्र प्रवेश गरी निर्णय आदेश दिएपछि पुनः उक्त अदालतमा सुनुवाइ प्रारम्भ भएको थियो ।

असिस्टेन्ट इन्जिनियरको रुपैयाँमा २०२९ वैशाखमा सरकारी सेवामा प्रवेश गरेका रञ्जितकार विभिन्न निकाय हुँदै भौतिक योजना तथा निर्माण मन्त्रालयमा सहसचिवको पदबाट २०५८ भदौमा सेवा निवृत्त भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप