बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

श्रीमतीको रिसले मिलेनियरले आफ्नै घर जलाएपछि...

सोमबार, १७ असार २०८१, १७ : २८
सोमबार, १७ असार २०८१

लन्डन । बेलायती मिलेनियर तथा प्रो गल्फर फ्रान्सिस म्याकगुइर्क गएको वर्ष जेल जानबाट बचेका थिए । आफूहरूको सम्बन्ध विच्छेदपछि घर श्रीमतीले नपाओस् भनेर उनले आफ्नै घर जलाएका थिए । 

हालै सकिएको मुद्दामा ५० वर्षका म्याकगुइर्कमाथि गएको वर्ष केन्टको स्यान्डवीचस्थित ९ लाख पाउन्ड स्टर्लिङ मूल्य पर्ने घरमा आगो लगाएको आरोप थियो ।

उनले श्रीमतीको रिसले सो घरमा आगो लगाएका थिए । यो घटना गएको वर्ष जुन २५ को हो । घटनाको समयमा घरमा कोही पनि थिएनन् । 

म्याकगुइर्क आफू र आफ्नो पूर्वपत्नीको संयुक्त नाममा रहेको घरभित्र पसेर र भित्रबाट ताल्चा लगाए । घरमा आगो लगाइदिन्छु भनेर श्रीमतीलाई म्यासेज गर्नु अघि भित्रबाट उनले साँचो भाँचिदिए । आगो लगाउने काममा उनी सफल पनि भएका थिए । तर छिमेकीहरू घरमा आगो लागेको देखेर आकस्मिक नम्बरमा फोन गरे । जसले गर्दा घरमा क्षति कम भयो ।

घटनाको समयमा म्याकगुइर्ककी श्रीमती सारा डिनर पार्टीमा थिइन् । घरमा कोही हुन्नन् भन्ने थाहा पाएरै उनी घरभित्र पसेको अभियोजनकर्ता क्यारोलिन नाइटले अदालतमा भनेकी छिन् । शुरुमा म्याकगुइर्कले खानेतेल प्रयोग गरेर आगो लगाउन खोजे । तर सफल भएनन् । त्यसपछि लाइटरको साहाराले बैठक कोठामा सोफाका कुशनमा आगो लगाए । आगो बिस्तारै घरका अन्य कोठामा पनि फैलियो ।

यतिबेला उनले घर जलाएर खरानी बनाउँदैछु भन्दै श्रीमतीलाई म्यासेज पनि पठाए । घरमा रहेको कुकुर डलीलाई झ्यालबाट बाहिर पठाइदिने कुरा म्यासेजमा गरेका थिए । घटनास्थलमा दमकल आइपुग्दा म्याकगुइर्क अनौठो हाउभाउमा थिए । शरीरमा आगोले पोल्दा लागेको चोटको उपचार गर्न पनि मानेनन् । उल्टै घरभित्रै फसेको कुकुरको उद्धार गर्न जान्छु भनेर जिद्धी गरिरहेका थिए । पछि पुछताजका क्रममा म्याकगुइर्कले सम्बन्ध विच्छेदपछि श्रीमतीले सबै चिज नपाओस् भनेर घरमा आगो लगाएको बताएका थिए ।

यस घटनामा सो घरका अधिकांश कोठा जलेका थिए । तर सारा घर जलेर खरानी हुनु अघि आगो निभाउन अग्नि नियन्त्रकहरू सफल भए । श्रीमतीको रिसले म्याकगुइर्कले घरमा आगो लगाएको कुरामा न्यायाधीश विश्वस्त रहेपनि घटना घटेको दिनमा उनले आफ्नै ज्यान लिने कोसिस गरेको प्रतिवादी वकिलको दाबीलाई विचार गरेर आरोपीलाई जेल सजाय भने दिइएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप