बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियाले विदेशी विद्यार्थीका लागि दोब्बरभन्दा बढी बढायो भिसा शुल्क

सोमबार, १७ असार २०८१, १७ : १५
सोमबार, १७ असार २०८१

क्यानबेरा । अस्ट्रेलियाले विदेशी विद्यार्थीका लागि भिसा शुल्क बढाएर दोब्बर भन्दामाथि पुर्‍याएको छ । विदेशीहरूको सङ्ख्या कीर्तिमानी स्तरमा उक्लिएर घर जग्गा बजारमा मूल्य वृद्धि अनियन्त्रित भएकै समयमा सरकारमाथि दबाब बढिरहँदा यो कदम चालिएको हो ।

जुलाई १ देखि अस्ट्रेलिया पढ्न जाने विदेशी विद्यार्थीले भिसा शुल्क बापत १ हजार ६०० अस्ट्रेलियन डलर (१ हजार ६८ अमेरिकी डलर) तिर्नुपर्नेछ । यसअघि यो शुल्क ७१० अस्ट्रेलियन डलर थियो ।

आगन्तुक भिसा र अस्थायी ग्रयाजुएट भिसामा गएका विद्यार्थीलाई अस्ट्रेलियाबाटै विद्यार्थी भिसाका लागि आवेदन दिन पनि रोक लगाइएको छ । यसले विदेशी शिक्षा प्रणालीको अखण्डता ब्यूँताउन र निष्पक्ष, सानो र धान्नसक्ने आप्रवासन प्रणाली बनाउन मद्दत गर्ने  अस्ट्रेलियाका गृह मामिला मन्त्री क्लेयर ओ निलले एक विज्ञप्तिमा भनेकी छिन् ।

सन् २०२३ को सेप्टेम्बर २० मा सकिएको एक वर्षमा अस्ट्रेलियामा खुद आप्रवासन ६० प्रतिशतले बढेर ५ लाख ४८ हजार ८०० को कीर्तिमानी स्तरमा उक्लिएको सरकारी तथ्याङ्कले देखाएको थियो । भिसा शुल्क बढाइनुको अर्थ अमेरिका र क्यानडाजस्ता देशको तुलनामा अस्ट्रेलियामा पढाई विदेशी विद्यार्थीका लागि निकै महँगो पर्नेछ ।

अमेरिका जान चाहने विद्यार्थीले अहिले विद्यार्थी भिसा शुल्कबापत १८५ डलर तिर्नुपर्छ भने क्यानडामा ११० डलर जति लाग्छ । विदेशी विद्यार्थीलाई अस्ट्रेलियामा बसाई अवधि निरन्तर थपिरहन सघाउने भिसा नियममा रहेका छिद्रहरू पनि सबै टालिने सरकारले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप