बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

युवाको विदेशपलायन रोक्न स्टार्टअप उद्यमलाई प्रोत्साहन दिऔँ : सांसद शाक्य

सोमबार, १७ असार २०८१, १६ : २१
सोमबार, १७ असार २०८१

काठमाडौँ । राष्ट्रियसभा सदस्य डा. अन्जान शाक्यले सहरी सौन्दर्य र स्वच्छताका लागि स्थानीय तहसँगको सहकार्यमा सहरका नदी किनारमा हरियाली प्रवर्द्धन गर्न पार्क निर्माण कार्यलाई अभियानकै रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएकी छन् । 

राष्ट्रिय सभाको सोमबारको बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै शाक्यले यस्तो घना बस्ती खुला क्षेत्रको पहिचान र संरक्षण गर्दै समुदायको सहकार्यमा ‘एक वडा एक पार्क’ निर्माणको अभियानलाई प्राथमिकता दिन आवश्यक रहेको बताइन् । 

‘दिगो विकास लक्ष्य प्राप्तिका लागि आधुनिक दिगो र व्यवस्थित सहरी करणका लागि सघन सहरी विकास कार्यक्रम, क्षेत्रीय सहरी विकास आयोजना, नयाँ सहर विकास आयोजनालगायतका कार्यक्रमहरूका लागि बजेट अझ थप गर्नुपर्ने देखिन्छ,’ उनले भनिन्, ‘त्यस्ता आयोजना र कार्यक्रम कार्यान्वयनका लागि प्रभावकारी प्रशासनिक व्यवस्था गर्न आवश्यक छ । त्यो भयो भने मात्रै आयोजनाहरूले समयमै पूर्णता प्राप्त गर्न सक्छन् ।’ 

राष्ट्रिय सभा सदस्य शाक्यले १६ औँ पञ्चवर्षीय योजनाको पहिलो वर्ष आर्थिक वर्ष २०८०–०८१ को बजेट प्रस्तुत भएको भन्दै राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समाजवाद उन्मुख र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य रहेको पनि उल्लेख गरिन् । 

शाक्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शीर्षकमा आगामी आर्थिक वर्षमा रु ९ दशमलव २८ अर्ब बजेट विनियोजन गरिएको भन्दै निर्यात प्रवर्द्धन, व्यापार सहजिकरण तथा आपूर्ति व्यवस्थापनका लागि केही बुँदागत व्यवस्था भएको उल्लेख गरिन् । 

यद्यपि नेपालीहरूका लागि दैनिक रूपमा अत्यावश्यक खाद्यान्न तथा अन्य जीवनयापनका बस्तुहरूमा कुनै व्यवस्थापन नभएको भन्दै यस विषयमा बजेटमा सम्बोधन हुन आवश्यक रहेको उल्लेख गरिन् । 

उनले अहिलेको विकराल आर्थिक परिस्थितिमा समग्र मागमा कमी आई साना तथा मझौला व्यापारीहरूको व्यवसाय ठप्प भएको अवस्थाप्रति पनि सङ्केत गरिन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप