बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

समयको आवश्यकता र औचित्यका आधारमा बजेट वितरण भएको छ : अर्थमन्त्री पुन

सोमबार, १७ असार २०८१, १६ : १७
सोमबार, १७ असार २०८१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन न्यायिक प्रणालीको विकास समयको आवश्यकता र औचित्यका आधारमा सरकारले बजेट वितरण गरेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पुनले मन्त्रालयगत बजेट विनियोजनमा ठुलो अन्तर, असमानता र समन्यायिक बजेट वितरण गरेको भन्दै बजेट विनियोजन गर्दा सम्बन्धित निकायको काम, कर्तव्य, कार्यक्षेत्र र अधिकारका आधारमा कुशल विनियोजन, कार्यान्वयन दक्षता र वित्तीय अनुशासन कायम हुने गरी समन्यायिक प्रणाली अनुसार नै बजेट विनियोजन गरेको बताएका हुन् ।

उनले भने,‘ मन्त्रालयगत बजेट विनियोजनमा यति ठुलो अन्तर, असमानता र समन्यायिक बजेट वितरणका सम्बन्धमा नेपाल सरकारले बजेट विनियोजन गर्दा सम्बन्धित निकायको काम, कर्तव्य, कार्यक्षेत्र र अधिकारका आधारमा कुशल विनियोजन, कार्यान्वयन दक्षता र वित्तीय अनुशासन कायम हुने गरी समन्यायिक प्रणाली अनुसार नै बजेट विनियोजन गर्ने पद्धति रहेको छ । बजेट वितरणमा न्यायिक प्रणालीको विकासका सम्बन्धमा नेपालको संविधानमा उल्लेखित राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व र मौलिक हक र कर्तव्य लगायतका आधारमा सार्वभौम संसद्बाट स्वीकृति भएको तद्‍नुरूपको कानुनी व्यवस्था अनुसार समय सापेक्ष परिमार्जन गरी बजेट वितरणमा न्यायिक प्रणालीको विकास समयको आवश्यकता र औचित्यताका आधारमा भइरहेको छ ।’

उनले गत वैशाखमा सम्पन्न तेस्रो लगानी सम्मेलनले नेपालमा विदेशी लगानीका लागि उपयुक्त आधार रहेको सन्देश दिएको दाबी गरे । उनले लगानी सहजीकरणका लागि कानुन संशोधन भएको, इनभेष्टमेण्ट गाइड तथा सेक्टोरल प्रोफाइलहरू तयार भएका, सार्वजनिक निजी साझेदारीमा निर्माण गर्न विभिन्न क्षेत्रका १ सय ५० भन्दा बढी आयोजनाहरू प्रस्तुत गरिएको, १९ वटा परियोजनाको इओआई आह्वान गरिएको तथा परियोजना बैंकलाई अद्यावधिक गरिएको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप