बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
दुध किसान

लुम्बिनीका किसानले डीडीसीबाट १३ करोड भुक्तानी पाउन बाँकी

दुधको पैसा नपाउँदा किसानलाई घरखर्च चलाउन समस्या
सोमबार, १७ असार २०८१, १५ : ४५
सोमबार, १७ असार २०८१

बुटवल । रुपन्देहीको कोटीहवामा रहेको पशुपति दुग्ध उत्पादक सहकारीमा पछिल्लो समय सदस्य किसानको सङ्ख्या घट्दै गएको छ । २०४८ सालमा दर्ता भएको सो सहकारीमा कुनै बेला एक हजार ८ सयभन्दा धेरै दुग्ध उत्पादक किसान आबद्ध रहेकोमा अहिले करिब १ हजारमात्र सदस्य छन् ।

कोटीहवा क्षेत्रका किसानहरू दुग्ध उत्पादनबाट बिस्तारै पलायन हुने अवस्था आएसँगै सहकारीका सदस्य घटेका हुन् । किसानहरूले समयमा दुधको भुक्तानी नपाउने, पाए पनि लागत उठ्न नसकेपछि पलायन हुन थालेको पशुपालक स्थानीय कृषक रामचन्द्र गुप्ताले रातोपाटीलाई बताए । 

उनले  भने, ‘पशुपालनमा खर्च बढी छ । हामीले दुध बिक्रीको पैसाबाट छोराछोरीको पढाइ खर्च तिरौँला, लत्ताकपडा किनौँला भन्यो तर पैसा महिनौँसम्म रोकिन्छ । लागत उठाउन पनि गाह्रो छ ।’

lumbini dugdha bikas

यादवसँग खरिद गरेको दुध पशुपति दुग्ध सहकारीले दुग्ध विकास संस्थान (डीडीसी)लाई दिन्छ । यसरी दिएको दुधको रकम डीडीसीले पुस यता भुक्तानी गरेको छैन । डीडीसीले समयमा सहकारीलाई रकम नदिएपछि किसानलाई ढिलो गरी रकम दिनुपर्ने अधिकांश सहकारीको बाध्यता छ । उक्त सहकारीलाई अहिले डीडीसीले १५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

७७ वटा दुग्ध सहकारी र निजी फर्मलाई पुसदेखिको रकम भुक्तानी गर्न नसकिएको दुग्ध विकास संस्थान लुम्बिनीले जनाएको छ । बुटवलस्थित दुग्ध विकास संस्थान लुम्बिनीले ट्याङ्करमार्फत कपिलवस्तुदेखि पूर्व नवलपरासीसम्मका किसानको दुध सङ्कलन गर्ने गर्दछ ।

किसानहरूसँग स्थानीय सहकारीले दुध सङ्कलन गर्ने र ती सहकारीबाट डीडीसीले दुध ल्याउने गरेको छ । डीडीसी लुम्बिनीले सङ्कलन गरेको दुधमध्ये केही आफूले खपत गर्ने र बाँकी चितवन, पोखरा लगायतका निजी उद्योगमा बिक्री गर्ने गर्दछ ।

दुग्ध विकास संस्थान लुम्बिनीका प्रमुख योगेन्द्र शाहले बुटवलसहित आफ्नो प्रदेशमा रहेका सङ्कलनकेन्द्रबाट पुसदेखि हालसम्म १३ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको रातोपाटीलाई बताए ।

उनले हरेक १५ दिनमा भुक्तानी गर्ने प्रचलन रहे पनि अहिले डीडीसीको पनिर, मक्खन, पाउडर दुधको खपत नभएकाले सहकारीलाई रकम भुक्तानी गर्न नसकिएको बताए । उनले अहिले पनि १५ दिनमै भुक्तानी गरे पनि बक्यौता थपिँदै गर्दा १३ करोड रुपैयाँ पुगेको खुलाए ।

दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय सदस्य एवं रुपन्देहीका अध्यक्ष लेखनाथ न्यौपानेले लुम्बिनी प्रदेशमा डीडीसीमा दुध बिक्री गर्ने सहकारीहरूको बक्यौता भुक्तानीका लागि आन्दोलन गर्दासमेत सुनुवाइ नभएको आरोप लगाए । उनले डीडीसीले लामो समय भुक्तानी बाँकी राख्दा अन्य कम्पनीहरूले पनि समयमा रकम दिन छाडेको गुनासो गरे ।

दुधको लागत अनुसार पैसा नपाउने, पाए पनि निकै ढिलो हुने हुँदा रुपन्देहीका एक दर्जन किसानका फार्म पछिल्लो समय बन्द रहेको उनको भनाइ छ । उनले भने, ‘चलेका फार्मको दुध उत्पादनमा कटौती गरेका छन् । समयमा पैसा पाइँदैन, पाए पनि निकै कम पाइने भएपछि बिस्तारै पलायनको अवस्था छन् ।

न्यौपानेले प्रदेश सरकारले उत्पादनमा आधारित प्रतिलिटर एक रुपैयाँ अनुदान दिने कार्यक्रम ल्याउन पटकपटक प्रयास गरे पनि सरकारीको उदासीनताका कारणले रोकिएको गुनासो गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप