बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
युरोकपको नकआउट चरण

क्वार्टरफाइनलमा पुग्न दुई महारथी फ्रान्स र बेल्जियमबिच महाभिडन्त

सोमबार, १७ असार २०८१, १४ : ३४
सोमबार, १७ असार २०८१

काठमाडौँ । विश्व फुटबलका दुई महारथी फ्रान्स र बेल्जियम सोमबार युरोकप फुटबल प्रतियोगिताको १७औँ संस्करणको क्वार्टरफाइनलमा पुग्न आपसमा भिड्दैछन् । खेल नेपाली समयअनुसार, राति २१ः४५ बजे सुरु हुनेछ । 

फ्रान्स र बेल्जियम दुवै विश्व फुटबलमा  गहिरो छाप छोड्न सफल राष्ट्र हुन् । यी दुवै राष्ट्र विश्व फुटबल महासंघद्वारा जारी पछिल्लो वरीयतामा पनि नजिक–नजिकै छन् । पछिल्लो फिफा वरीयतामा फ्रान्स दोस्रो र बेल्जियम तेस्रो स्थानमा छन् । 

France-vs-Belgium-prediction

जारी युरोकपमा यी दुई टोलीबिच अर्को एउटा समानता पनि छ । यी दुवै टोली प्रारम्भिक चरणमा आ–आफ्नो समूहको उप–विजेता बन्दै नकआउट चरणमा पुगेका हुन् । फ्रान्स समूह ‘डी’ मा परेको थियो । फ्रान्सले आफूले खेलेको तीनमध्ये एक खेलमा जित र दुई खेलमा बराबरीको नतिजा निकाल्यो ।  

फ्रान्सले आफ्नो पहिलो खेलमा अस्ट्रियालाई १–० गोलले हरायो । दोस्रो खेलमा फ्रान्सको टोली बलियो नेदरल्यान्ड्ससँग गोलरहित बराबरीमा रोकियो । तेस्रो खेलमा पनि फ्रान्सलाई पोल्यान्डले १–१ गोलको बराबरीमा रोकेको थियो ।

विश्व फुटबलमा फ्रान्स र बेल्जियम एक–अर्काका निकै पुराना प्रतिद्वन्द्वी हुन् । यी दुई राष्ट्रबिच हालसम्म कुल ७५ खेल खेलिएको छ । त्यसमध्ये ३० खेलमा बेल्जियमले फ्रान्सलाई हराएको छ । २६ खेलमा फ्रान्सले बेल्जियमलाई पराजयको स्वाद चखाएको छ । १९ खेल भने बराबरीमा सकिएको छ । यी दुई टोलीबिच सन् १९०४ को मे १ तारिखमै पहिलो पटक भिडन्त भएको थियो ।

यसैगरी बेल्जियम प्रारम्भिक चरणमा समूह ‘ई’ मा परेको थियो । बेल्जियमले समूहगत चरणमा आफूले खेलेका तीनमध्ये एक खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हारको नतिजा निकाल्यो । बेल्जियम आफ्नो पहिलो खेलमा स्लोभाकियासँग ०–१ गोलले पराजित भएको थियो ।

बेल्जियमले आफ्नो दोस्रो खेलमा रोमानियालाई २–० गोलले पराजित गरेको थियो । तेस्रो खेलमा भने बेल्जियमको टोली युक्रेनसँग गोलरहित बराबरीमा रोकिएको थियो । त्यो समूहबाट रोमानिया विजेता बन्दै नकआउट चरणमा पुगेको थियो । 

topshots-topshot-fbl-euro-2024-match34-ukr-bel-205137_4299759_20240627073706

युरोकपमा फ्रान्सको यो ११औँ सहभागिता हो । सन् १९६० मा सम्पन्न पहिलो संस्करणमै फ्रान्सले युरोकपमा सहभागिता जनाएको थियो । फ्रान्स युरोकपको दुईपटकको पनि हो । फ्रान्सले सन् १९८४ मा युरोकपको उपाधि चुमेको थियो । 

त्यतिबेला फ्रान्सले फाइनलमा बलियो प्रतिद्वन्द्वी स्पेनलाई २–० गोलले हराएको थियो । त्यतिबेला फ्रान्सेली टोलीमा प्रभावशाली खेलाडी मिचेल प्लाटिनी, म्याक्सिम बोसिस, लुइस फर्नान्डेजजस्ता प्रभावशाली खेलाडी सहभागी थिए । 

सन् २००० मा पनि फ्रान्सले युरोकपको उपाधि उचालेको थियो । त्यतिबेला फाइनलमा फ्रान्सेली टोलीले बलियो प्रतिद्वन्द्वी इटालीलाई पराजित गरेको थियो । त्यसपछि फ्रान्स सन् २०१६ मा पनि युरोकपको फाइनलसम्म पुगेको थियो । घरेलु मैदानमा आयोजित त्यो युरोकपको फाइनलमा भने फ्रान्सेली टोली पोर्चुगलसँग अतिरिक्त समयमा १–० गोलले पराजित भएको थियो । 

त्यसअघि सन् १९६० मा सम्पन्न पहिलो संस्करणमा फ्रान्स चौथो भएको थियो । सन् १९९६ मा पनि फ्रान्सेली टोलीले चौथो स्थान हासिल गरेको थियो । युरोकपको जारी संस्करणमा पनि फ्रान्सलाई उपाधिको बलियो दाबेदारका रूपमा हेरिएको छ ।

फ्रान्सेली टोली आफूले खेलेको पछिल्ला चार ठुला प्रतियोगितामध्ये तीनवटाको फाइनलमा पुग्न सफल भएको छ । फ्रान्सले सन् २०१८ को विश्वकप फुटबलको उपाधि पनि जितेको थियो । त्यतिबेला फ्रान्सले फाइनलमा क्रोएसियालाई ४–२ गोलले हराएको थियो ।

FnYv3YZUmHYHfttLQnAK4m-1200-80

त्यसलगत्तै सन् २०२२ मा खेलिएको कतार विश्वकपमा पनि फ्रान्सेली टोली फाइनलमा पुगेको थियो । त्यो विश्वकपको फाइनलमा लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले फ्रान्सलाई पराजित गर्दै उपाधि चुमेको थियो । 

बेल्जियमको भने युरोकपमा यो सातौँ सहभागिता हो । बेल्जियमले सन् १९७२ मा पहिलो पटक युरोकपमा सहभागिता जनाएको थियो । त्यो युरोकप पनि बेल्जियमले नै आयोजना गरेको थियो । युरोकपको त्यो संस्करणमा बेल्जियम तेस्रो भएको थियो । तेस्रो स्थानका लागि भएको खेलमा बेल्जियमले हंगेरीलाई २–१ गोलले हराएको थियो । 

तर, बेल्जियमले हालसम्म युरोकपको उपाधि भने जित्न सकेको छैन । सन् १९८० मा बेल्जियम युरोकपको फाइनलसम्म पुगेको थियो । त्यतिबेला फाइनलमा बेल्जियमको टोली तत्कालीन पश्चिम जर्मनीसँग २–१ गोलले पराजित भएको थियो । 

जारी युरो कपको छनोट प्रतियोगितामा पनि फ्रान्स र बेल्जियम दुवैले उत्कृष्ट प्रदर्शन गरेका थिए । यी दुवै राष्ट्र आ–आफ्नो समूहको विजेता बन्दै युरोकपमा छनोट भएका हुन् । फ्रान्स आफ्नो समूहमा अपराजित रहँदै युरो कपमा छनोट भएको हो । 

छनोट चरणमा खेलिएको आठमध्ये सात खेलमा विजयी भएको फ्रान्स एउटा खेलमा भने बराबरीमा रोकिएको थियो । त्यो समूहबाट नेदरल्यान्ड्स दोस्रो हुँदै युरो कपमा छनोट भएको थियो । छनोट प्रतियोगितामा फ्रान्सले विपक्षीको पोस्टमा २९ गोल गरेको थियो भने केवल तीन गोल खाएको थियो ।

यसैगरी बेल्जियम पनि छनोट प्रतियोगितामा अपराजित रहँदै युरोकपमा उपस्थित भएको हो । बेल्जियमले छनोट चरणमा खेलिएका आठमध्ये ६ खेलमा जित र दुई खेलमा बराबरीको नतिजा निकालेको थियो । 

Euro_Squad_BELGIUM

छनोट चरणमा बेल्जियमले २२ गोल गरेको थियो भने चार गोल खाएको थियो । बेल्जियमका रोमेलु लुकाकु युरोकपको छनोट प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । लुकाकुले छनोट चरणमा कुल १४ गोल गरेका थिए । 

विश्व फुटबलमा फ्रान्स र बेल्जियम एक–अर्काका निकै पुराना प्रतिद्वन्द्वी हुन् । यी दुई राष्ट्रबिच हालसम्म कुल ७५ खेल खेलिएको छ । त्यसमध्ये ३० खेलमा बेल्जियमले फ्रान्सलाई हराएको छ । २६ खेलमा फ्रान्सले बेल्जियमलाई पराजयको स्वाद चखाएको छ । १९ खेल भने बराबरीमा सकिएको छ । 

यी दुई टोलीबिच सन् १९०४ को मे १ तारिखमै पहिलो पटक भिडन्त भएको थियो । त्यो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल ३–३ गोलको बराबरीमा सकिएको थियो । यी दुई राष्ट्रबिच अन्तिम भिडन्त भने सन् २०२१ को अक्टोबर ७ तारिखमा खेलिएको थियो । त्यो खेलमा फ्रान्सले बेल्जियमलाई ३–२ गोलले हराएको थियो । 

जारी युरोकपमा डिडियर डेसच्याम्पस फ्रान्सका प्रमुख प्रशिक्षक हुन् । फ्रान्सेली टोलीमा एन्टोइन ग्रिजम्यान, केलियन एमबाप्पे (कप्तान), ओसमेन डेम्बेल, ब्राइस साम्बा (गोलरक्षक), ओलिभर गिरोडलगायतका चर्चित खेलाडी सहभागी छन् । 

जारी युरोकपमा बेल्जियमको टोली डोमेनिको टेडेस्कोको प्रमुख प्रशिक्षकत्वमा रहेको छ । बेल्जियमको टोलीमा उल्फ्सबर्गका कोएन कास्टिल्स (गोलरक्षक), एट्लेटिको म्याड्रिडका एक्सल विट्सल, म्यानचेस्टर सिटीका केभिन डी ब्रुयना (कप्तान), आर्सनलका लियान्ड्रो ट्रोसार्ड, रोमाका रोमेलु लुकाकु, अल–सबाबका यानिक कारास्कोलगायतका चर्चित खेलाडी उपस्थित छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप