बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

करण परियार विजेता हुनुको सन्देश : प्रतिभाको कदर

सोमबार, १७ असार २०८१, १४ : ०६
सोमबार, १७ असार २०८१

केही दिनअघि सामाजिक सञ्जालमा एकाएक भाइरल भए, रियालिटी सो ‘नेपाल आइडल सिजन–५’ का विजेता करण परियार । 

कालो वर्णको अनुहार, सानो तथा कसिलो जिउ, मध्यम प्रकृतिको उचाइ, पुरानो शैलीको बाल, झट्ट हेर्दा करण आधा शताब्दी पहिलेको हिन्दी सिनेमाको हिरोजस्तै लाग्ने (सानै भए पनि) । उनी विजेता भएको खबरहरू मिडिया लगायत सामाजिक सञ्जालमा देखेपछि मैले उनलाई युट्युबमा सर्च गरेँ र आइडलका लागि उनले दिएका प्रस्तुतिहरू हेरेँ । 

करण अन्य प्रतियोगीहरू भन्दा पृथक् देखिन्छन् । अडिसन दिन आउँदा उनी साधारण पहिरनमा थिए, उनीमा कुनै प्रकारको घमण्ड देखिँदैनथ्यो, निर्दोष र निष्कपट देखिन्थे । नेपाल आइडलमा जाने भएपछि उनले एक जोर नयाँ पोसाक किनेर आफूलाई ‘स्मार्ट’ देखाउने प्रयास गर्न सक्थे होला । तर उनले त्यसो गरेको पाइएन । किनकि उनीमा निहित सादगी चेतले उनलाई त्यतातिर निर्देश नगरेको हुनुपर्छ । मानिसको दृष्टिकोण उसको जीवन र व्यवहारमा प्रकट हुने गर्छ । सोही अनुसार करणभित्रको सादगी दृष्टिकोण उनको जीवन पद्धतिले देखाएको छ ।

जतिजति उनलाई सुन्दै र हेर्दै गएँ, त्यति नै ममा उनीप्रति श्रद्धाका भाव जागिरह्यो । विशेषतः उनको प्रतिभा, विनम्रता र सादगी व्यवहारबाट म प्रभावित भएँ । उनको साधारण र सौम्य व्यक्तित्वले प्रचुर मात्रामा सौन्दर्य प्रसार गरिरहेको आभास मलाई भयो । 

अर्को दिन जब सम्माननीय प्रधानमन्त्रीसँगको भेटको भिडियो बाहिरियो, सो भेटमा उनको पहिरन साधारण थियो, उनीमा उच्च प्रकारको सादगी चेत रहेछ भन्ने आभास भयो । 

आजकल हाम्रो समाजमा देखावटी तथा उपभोक्तावादी संस्कृतिले नराम्रो गरी प्रभाव जमाइसकेको छ । अझै कलाको क्षेत्रमा यसको प्रभाव निर्मम हुँदै गइरहेको छ । प्रायः कलाकारहरू देखावटी तथा उपभोक्तावादी संस्कृतिको सिकार भइरहेका छन् । उनीहरूको रवाफ देख्दा लाग्छ, कला साधनाको क्षेत्र नभएर ढोंग मात्र हो । यही कारण पनि धेरै कलाकार आफ्नो जीवनलाई सादगी बनाउन सक्दैनन् र सोहीअनुरूप नियमित आम्दानी नहुँदा डिप्रेसनमा जाने, कलाको क्षेत्र छाड्ने गरेको पाउन सक्छौँ । 

उनले कृत्रिम भोटका कारण नभई सत्यको भोट पाए । सामूहिक रूपमा वा सांगठनिक रूपमा करणलाई जिताउन कुनै पनि अभियान चलाइएन । तैपनि देश–विदेशबाट साँचो प्रतिभाको पक्षमा मत जाहेर भयो, परिणामस्वरूप करण विजेता बने ।

करणलार्ई बजारको भड्किलो र विकृत संस्कृतिले कत्ति पनि छोएजस्तो लाग्दैन । चप्पलसहितको साधारण पहिरनबाट सुरु भएको उनको आइडलको यात्रा सादगीपूर्ण रह्यो अर्थात् आफ्नो सादगी आचरणलाई उनले अन्तिमसम्म कायम राखे । साधारण पहिरनमा उनी कति पनि असहज देखिएका थिएनन्— चाहे मञ्चमा होस् वा प्रधानमन्त्रीसँगको भेटमा होस्; यही चेत नै करणको सबैभन्दा उच्च प्रकारको चेत हो ।

गायकी भन्नाले गाउने शिल्प तथा कला भन्ने बुझिन्छ । गाउने कला त्यत्तिकै विकास हुँदैन । निरन्तर अभ्यास तथा प्रयत्नले गाउने शिल्पको विकास हुने हो । सङ्गीतमा सुर, ताल र लयको भूमिका प्रधान हुन्छ । तिनै सङ्गीतका मुख्य तत्वहरू पनि हुन् । गायकी निर्माणमा तिनै पक्षको मुख्य भूमिका हुने गर्छ । उसो त सुन्दर गायकी बन्नमा अन्य धेरै कुराको खाँचो हुन्छ । जस्तै ः सङ्गीतसम्बन्धी ज्ञान, उच्च प्रकारको साधना, मिठो स्वर, सही उच्चारण, पर्याप्त स्वरको रेन्ज, आफ्नो छुट्टैपन आदि । 

करणलाई सुन्दा लाग्छ, उनी उच्चकोटिको गायक उन्मुख मार्गमा छन् । उनीमा निहित सुर, ताल र लयको ज्ञान, सु–स्पष्ट उच्चारण, गाउँदा बखतको धैर्यता, फिनिसिङ कला, स्वरको रेन्ज आदि कारणले उनको गायकी निपुण उन्मुख देखिन्छ ।

प्रायः कलाकारहरूको अर्को समस्या भनेको अनुशासनसम्बन्धी समस्या हो । अनुशासनअन्तर्गत बोलीचाली, आचरण, व्यवहार आदिलाई राख्न सकिन्छ । हाम्रा कलाकारको एक आपसमा झै–भगडादेखि रिस, राग, इर्ष्या, घमण्ड, अहङ्कार, आडम्बर, अरूको कुरा काट्ने आदि समस्या कतै लुकेका कुरा होइनन् । यस्ता कुराबाट करण परियार अलि टाढा रहेको सहजै अनुमान गर्न सक्दछौँ । उनी घमण्ड, अहङ्कारजस्ता दूषितपनको सिकार नभएजस्तो देखिन्छ ।

  • प्रतिभाको कदर

प्रतिभा हृदयको एक अभिव्यक्ति हो । कठिन र प्रतिकूल परिस्थितिका बाबजुद पनि प्रतिभा प्रस्फुटन हुन सक्छ, यद्यपि आफूमा भएको प्रतिभालाई जनताको ठुलो वृत्तमा लैजान व्यक्तिमा निरन्तरको प्रयास, लगनशीलता, धैर्यता र आत्मबल आवश्यक हुन्छ । यस्तै, अवसरहरूको सदुपयोग गर्न सक्नुपर्छ । 

भोटका कारण विजेता बन्न सक्दिनँ कि भन्ने आशङ्का करणमा देखिन्थ्यो । यस्ता रियालिटी सोहरूमा भोटको विषय धेरै पक्षसँग जोडिएको छ । मुख्य त परिवारको आर्थिक पाटो नै हो । सबै कुरा नियालेका करण भोटप्रति सशङ्कित थिए । 

प्रतियोगीको क्षमता, परिवारको सामाजिक र आर्थिक स्थिति आदि कारणले पनि भोटमा प्रत्यक्ष प्रभाव पार्ने सम्भावना रहन्छ । आयोजकको मुख्य आम्दानीको स्रोत नै प्रतियोगीलाई भिडाएर भोट झार्नु हो भनेको पनि सुनिन्छ । अन्तिम राउन्डका लागि छनोटमा परेका प्रतियोगीहरूले जितको आशामा ‘कृत्रिम भोट’ गर्दा आर्थिक रूपमा ठुलो क्षति बेहोर्नुपरेको तितो यथार्थ यसअघि रियालिटी सोहरूका जानेहरूबाट सुनिन्छ ।

करणले जित्नुमा कुनै दैविक शक्तिबाट चमत्कार भएको होइन । मेरो विचारमा सत्यको प्रभाव हो । कुनै पनि घटनाका पछाडि कारण हुन्छन् । अर्थात् कुनै कारणले मात्र घटना घट्ने गर्छ । करणमा एउटा गायकमा हुनुपर्ने धेरै गुण छन्, जसका कारण दर्शक श्रोताको मनमा उनले स्थान बनाउन सफल भए । उनले कृत्रिम भोटका कारण नभई सत्यको भोट पाए । सामूहिक रूपमा वा सांगठनिक रूपमा करणलाई जिताउन कुनै पनि अभियान चलाइएन । तैपनि देश–विदेशबाट साँचो प्रतिभाको पक्षमा मत जाहेर भयो, परिणामस्वरूप करण विजेता बने । लाखौँ नेपालीलाई सत्यको बोध भयो र सधैँ सत्य नहार्ने तथ्यलाई स्थापित गर्न सफल भए । 

करण परियार यस्ता उदाहरणीय पात्र हुन्, जो पैसाले होइन प्रतिभा र असल गुणहरूका कारण विजेता भए । कुनै पनि परिणामको पछाडि आन्तरिक पक्षको ठुलो भूमिका हुने गर्दछ । बाह्य पक्षको भूमिका नहुने होइन, तर आन्तरिक पक्ष प्रधान र बाह्य पक्ष गौण हुन्छ । हिन्दु समाजमा सदियौँदेखि जातीय विभेद तथा छुवाछुत भोग्दै आएको परिवारमा जन्मेर करणले यसरी उपाधिसँगै मानिसहरूको मन जित्नु साधारण सफलता होइन ।

अन्त्यमा करण परियारलाई मेरा केही सुझाव छन् । रियालिटी सो र वास्तविक कलाको यात्रामा आधारभूत रूपमै फरक कुरा हुन् । नेपाली साङ्गीतिक आकाशमा करणको सङ्घर्षको यात्रा बल्ल सुरु भएको छ । यो यात्राले साधना, धैर्य, त्याग (अहङ्कार, घमण्ड, रिस, राग, डाह आदिको त्याग), निरन्तरता आदिको माग गर्छ । हामीले सङ्गीतलाई जीवनपर्यन्त निस्वार्थ भावले सेवा गरिरहनुपर्छ, तब मात्रै हाम्रो साङ्गीतिक जीवनले सार्थकता पाउनेछ । करणको आगामी साङ्गीतिक यात्रा एकदमै उज्यालो रहोस्, हार्दिक शुभकामना ।

(रक्तिम सांस्कृतिक अभियानका महासचिव रहेका लेखक संगीत प्रशिक्षक समेत हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज आश्रम
हेमराज आश्रम
लेखकबाट थप