बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

प्रयोगमा नआई खण्डहर बन्दै तीन करोडको दलित आवास भवन

सोमबार, १७ असार २०८१, १२ : ४१
सोमबार, १७ असार २०८१

अर्जुन थपलिया

सिरहा । गोलबजार नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा निर्माण गरेको ‘दलित नमुना बस्ती’ (दलितका लागि आवास भवन ) अहिलेसम्म प्रयोगमा आएको छैन । 

दलित आवासका लागि भनेर नेपाल सरकारको तराइ मधेस समृद्धि कार्यक्रमको २ करोड ५० लाख सहयोगबाट १५ वटा घर निर्माण गरिएको थियो । ती घरहरूमा जम्मा ९० कोठाहरू छन् । आर्थिक वर्ष २०७७।०७८ मा आरसिसी ढलान सडक र घरको मर्मत सम्भार गर्न थप ७५ लाख रकम नगरपालिकाले खर्च गरेको थियो । 

तीन करोड २५ लाख लगानी गरेर नमुना  दलित बस्ती भनेर नामकरण गरिएको यी भवनहरू निर्माण भएको सात वर्ष बित्दा पनि यहाँ कुनै दलित वा अन्य कुनै समुदायका मानिसहरू आएर बस्न मानेका छैनन् ।

दलितका नाममा  निर्माण भएको  ९० कोठा भएको १५ वटा घर अहिले बनमाराले झ्याप्पै छोपेको छ । बस्ती काँसघारीमा परिणत भएको छ । बस्ती परिसरमा रात परेपछि स्यालको जमघट बढ्ने गरेको स्थानीयबासी बताउँछन् । 

मान्छे नबस्ने भएपछि वरपरका किसानहरूले त्यहाँ भैँसी, गाई, गोरु  बाँध्ने गरेका छन् । कतै परालका कुन्यू लगाइएको छ । खानेपानीका लागि निर्माण भएको पानीट्यांकी टुटफुट भएको छ । बोरिङ्गमा लगाइएको समरसेवल मोटर पनि चोरहरूले झिकेर लगेको स्थानीयको भनाइ छ । 

नमुना दलित बस्तीका घरहरू प्रायजसो जस्ताले छाएका छन् । अत्यन्त पातलो जस्ता लगाएकोले प्राय सबैजसो छाना चुहिन्छ । छानाका जस्ताहरूमा यत्रतत्र ठूल्ठूलो प्वाल परेको छ ।  वर्षा हुँदा घरभित्र पानी जम्छ ।  निर्माण कम्पनी गुञ्जा कन्स्ट्रक्सनले निर्माण गरेको यो घर अत्यन्तै कमजोर रहेको बताइन्छ । 

भित्ताहरू चर्किसकेका छन् । दुई तला भनेर निर्माण गरिएको घरहरूमा फलामको भर्‍याङ्ग बनाइएको छ तर माथिल्लो तलामा हाल्नु पर्ने प्लाइवुडको फल्याक नै राखिएको छैन ।  हरेक वर्ष वर्षामा यी घरहरूको केही भाग ढल्दैछ । झ्यालका सिसा , विद्युत्का संरचना धेरै टुटफुट भएको छ । घरभित्र विषालु सर्पले आश्रय लिएको छ । नमुना दलित बस्ती प्रयोग मै नआई भग्नावशेषमा परिणत हुँदैछ । यो स्थान अहिले दुर्व्यसनीहरूको जमघट थलो भएको छ । 

स्थानीय दलित गरिब परिवारहरू दलित नमुना बस्तीकै छेउछाउमा स–साना झुप्रो हालेर बसेका छन् तर नगरपालिकाले निर्माण गरिदिएको घरमा बस्दैनन् । बस्तीको आडैमा झुप्रो हालेर बसेका सरिता देवी सदा भन्छिन्, ‘त्यो घरमा बसेर मर्नु छ र ? कुनबेला गल्र्याम्म ढल्छ थाहा छैन । हातैले कोट्याउँदा पनि भित्ता उक्किन्छ । छाना चुहिएर भित्रै पानी जम्छ । कसरी बस्नु त्यो घरमा । त्यो दलितलाई सोधेर सल्लाह गरेर बनाएको घर नै होइन । टौवा हालेजस्तो घर बनाइ दिएका छन् अनि को बस्न मान्छ ? ’

विगत ३ महिनादेखि नमुना दलित बस्तीमा आश्रय लिएका घरबारविहीन दलित श्याम कुमारी राम भन्छिन्, ‘तीन महिना बसियो यो घरमा । वर्षा लाग्यो अब बस्न सकिँदैन । बरु त्रिपाल टाँगेर बसौला तर यहाँ बस्न सकिँदैन । पातलो जस्ता छ , घामले पोलेर उधुम हुन्छ । वर्षामा पानी चुहिन्छ । घरै ढलेर किच्ला भन्ने डर हुन्छ । ’

स्थानीय दलित रामचन्द्र पासवान भन्छन्, ‘यहाँ कसरी बस्नु ? करेसा लगाउने ठाउँ छैन । एकान्त निर्जन स्थानमा घर छ । जीविका चलाउने कुनै उपाय छैन । ज्याला मजदुरी पाइँदैन । अनि यो निर्जन ठाउँमा के गरेर पेट पाल्ने ? बस्ती बसाए पछि जीविका चलाउने उपाय पनि दिनुपर्छ नि !’

सिरहाका नेकपा माओवादीका नेता रामचन्द्र सिंह भन्छन् , ‘यो घरहरू दलितका लागि बनाइएकै होइन । तराई मधेस समृद्धि कार्यक्रमबाट आएको साढे दुई करोड रकम कङ्क्रिटमा फसाएर नाफा कमाइएको हो । दलितका बस्ती बनाउँदा दलितहरूसँग छलफल नै गरिएन । जसरी पनि रकम खर्च गर्नु पर्ने थियो गरियो । यो भवन बनाउँदा ठुलो भ्रष्टाचार भएको छ । यसको छानबिन हुनुपर्छ । आवश्यकता र माग नै नभई  निष्प्रयोजन भवन बनाएर  रकम खर्च गरिएको छ । यसबारे पनि छानबिन हुनुपर्छ ।’

पूर्व मेयर देवनाथ साहले भने, ‘हामीले त नजिकैको भांगवारी , मुसहर्नियाँ र लालपुर गाउँका दलितहरूलाई लक्षित गरेर पक्की भवन बनाइ दिएको हो तर कोही पनि बस्न मान्दैनन् । सबैले दलितहरूलाई उक्त भवनमा गएर बस्न प्रेरित गर्न आवश्यक छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप