बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

युएईपछि अब मस्कोमा बन्ला हिन्दु मन्दिर ?

सोमबार, १७ असार २०८१, १२ : ०३
सोमबार, १७ असार २०८१

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जुलाई ८ मा रुस भ्रमणमा जाँदैछन् । त्यहाँ उनले राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्नेछन् ।

मोदीको यो भ्रमणले भारत र रुस सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ । तर, यसैबिच त्यहाँ बसोबास गर्ने भारतीय समुदायका मानिसले मस्कोमा हिन्दु मन्दिर बनाउन नयाँ माग गरेका छन् ।

हिन्दु संसारको तेस्रो ठुलो धर्म हो । भारत र नेपालमा हिन्दुहरूको बाहुल्यता छ । तर, हालैका वर्षहरूमा रुसमा पनि हिन्दुहरूको सङ्ख्या बढ्दै गएको छ । यहाँको अधिकांश जनसङ्ख्या इसाई धर्मावलम्बी भए पनि रुसमा केही ठाउँमा साना मन्दिरहरू बनेका छन् । तर यसले मुख्यतया सामुदायिक केन्द्रका रूपमा काम गरिरहेका छन् । यस्तोमा राजधानी मस्कोमा मन्दिर बन्नुपर्ने माग बढ्न थालेको छ ।

इन्डिया टुडेमा प्रकाशित रिपोर्टकाअनुसार प्रधानमन्त्री मोदीको रुस भ्रमणअघि भारतीय व्यापार गठबन्धन र इन्डियन नेशनल कल्चरल सेन्टरले भव्य हिन्दु मन्दिर निर्माणका लागि बैठक गरेका थिए । ‘मस्कोमा बन्ने यो हिन्दु मन्दिर भारतीयहरूको एकता र आकर्षणको केन्द्र मात्र नभई भारत र रुसबिचको बलियो सम्बन्धको प्रतीक पनि बन्नेछ ।’ समूहका अध्यक्ष स्वामी कोतवानी भनेका छन् ।

यसअघि गएको फेब्रुअरी १४ मा प्रधानमन्त्री मोदीले संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबीमा पहिलो हिन्दु मन्दिरको उद्घाटन गरेका थिए । बोचासनवासी श्री अक्षर पुरुषोत्तम स्वामीनारायण संस्थान (बीएपीएस) द्वारा निर्मित यो मन्दिर धेरै भव्य छ । मन्दिर हिन्दु धर्मावलम्बीको भएपनि यसमा मुस्लिम, जैन र बौद्ध धर्मका मानिसहरूको पनि ठुलो योगदान थियो ।

२७ एकड जमिनमा फैलिएको यस हिन्दु मन्दिरका लागि युएईका राष्ट्रपति शेख मोहम्मद जायद अल नाह्यानले जग्गा दान दिएका थिए । यो मन्दिर दुबई–अबु धाबी शेख जायद राजमार्गमा अल रहबा नजिक २७ एकड क्षेत्रफलमा बनेको छ, जुन मन्दिर करिब ७०० करोड भारुको लागतमा बनाइएको हो । यस मन्दिरका मुख्य वास्तुकार इसाई हुन् । परियोजनाका प्रबन्धकहरू सिख समुदायका थिए र डिजाइनरहरू बौद्ध थिए । मन्दिर बनाउने कम्पनी एक पारसीको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप