बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
सुदूरपश्चिम प्रदेश

२ सिँचाइ योजनाको २५ करोड फ्रिज, अकाशे पानीकै भरमा किसान

सोमबार, १७ असार २०८१, ११ : ५७
सोमबार, १७ असार २०८१

धनगढी । कैलालीको कैलारी गाउँपालिका–५, सडकपुरका स्थानीय चरनलाल चौधरी १५ दिनदेखि खेतमै बास बस्दै आएका छन् । असार १ गतेदेखि बर्खे धान रोपाइ सुरु गरेका उनी खेतमै खाना खान्छन् । रातभरि मोटरले बोरिङको पानी तान्दै मुस्किलले ४/५ कट्ठा खेतमा पानी पुर्‍याउँछन् । त्यही ४/५ कट्ठामा दिउँसो रोपाइँ हुन्छ ।

३ बिघा खेती गर्दै आएका उनी सिँचाइ सुविधा नहुँदा ५ दिन लाग्ने रोपाइँ १५/२० दिन लागेको दुखेसो सुनाउँछन् । सडकपुरकै अर्का किसान रेवन्त बोहराले सिँचाइको व्यवस्था नहुँदा रोपाइँमा निकै सास्ती खेप्नु परेको बताए ।

केही दशक अगाडिसम्म उनको खेतसम्म राम्रो सिँचाइ सुविधा थियो । स्थानीय कटैनी नदीमा बनेको गुरगी सिँचाइको पानी आफ्नो खेतमा लाग्ने गरेको स्मरण गर्दै उनले हाल बजेट विनियोजन भएर पनि गुरगी सिँचाइ योजनाको बजेट फ्रिज हुँदा निकै दुःख लागेको बताए ।

२०५० साल आसपास गुरगी सिँचाइ योजनाले किसानको मुहार नै फेरेको थियो । तर २०६४ सालमा आएको बाढीले योजनाको बाँध भत्किएपछि किसानले हालसम्म सास्ती खेप्नुपरेको हो ।

Ropai gardai kisan (1)

योजना बन्न नसक्दा कैलालीको दक्षिणी क्षेत्र कैलारी गाउँपालिकाका २० गाउँका डेढ हजारभन्दा बढी किसानको ९ हजार हेक्टर जमिन सिँचाइ नपाएर समयमा खेती लगाउन नसक्ने अवस्था सिर्जना भएको हो । सिँचाइ नहुँदा हाल स्थानीय किसानले आकाशे पानीको भर पर्नु परेको छ ।

  • गुरगीको हालसम्म २१ करोड फ्रिज

सरकारले गुरगी सिँचाइ योजना निर्माणको लागि बजेट विनियोजन नगरेको पनि होइन । तर योजना कार्यान्वयनमा नजाँदा पटक–पटक विनियोजन भएको बजेट फ्रिज हुँदै आएको छ ।

चालु आर्थिक वर्ष (२०८०/०८१) मा सरकारले योजना निर्माणका लागि १२ करोड बजेट विनियोजन गरेको थियो । तर कार्यान्वयनको लागि डीपीआरमा समस्या हुँदा १२ करोड बजेट फिर्ता जाने जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीका प्रमुख अमरबहादुर पालले बताए ।

विगतमा पनि धेरै पटकका बजेट कार्यान्वयनमा नजाँदा फ्रिज गएका छन् । आर्थिक वर्ष २०६२/२०६३ मा प्रेमशङ्कर भट्टको पीएस कन्स्ट्रक्सनले पक्की बाँध बनायो, डेढ करोडभन्दा बढी लगानी भयो, तर किसानको खेतमा पानी पुगेन । २०६४ मा आएको सामान्य बाढीले बाँध नै भत्कायो ।

आर्थिक वर्ष २०७३/०७४ मा तत्कालीन सिँचाइ विकास डिभिजन कार्यालय धनगढीले योजना अगाडि बढाउने पहल लिए पनि पुनः निर्माण गर्ने वा पुरानै संरचना मर्मत गरेर चलाउने भन्नेबारे प्राविधिकहरूबिच मत बाझियो । गुरगीको निर्माण कार्य अगाडि बढेन र सोही आर्थिक वर्षमा विनियोजित १ करोड २० लाख रुपैयाँ जिल्लाका अन्य योजनामा रकमान्तर गरियो ।

Ropai gardai kisan (2)

प्राविधिकबिच देखिएको मतभेद र जयपति चौधरीको अध्यक्षतामा गठित उपभोक्ता समिति निष्क्रिय भएपछि योजनाको डीपीआर बनाउने कार्यले गति लिएन ।

आर्थिक वर्ष २०७५/०७६ मा सुदूरपश्चिम प्रदेश सरकारले आयोजनातर्फ २० लाख र कैलारी गाउँपालिकाले प्रशासनिक खर्चतर्फ डेढ लाख रुपैयाँ विनियोजन गरे । तर, बजेट खर्च नै भएन ।

गत आर्थिक वर्ष (२०७९/०८०) मा योजना निर्माणको प्रक्रिया अगाडि बढाउन खोजियो । प्रदेश सरकारले ६ करोड रुपैयाँ बजेट विनियोजन ग¥यो । त्यो पनि पछि फिर्ता भयो ।

सिँचाइ डिभिजन कार्यालय कैलालीका इन्जिनियर हेमराज भण्डारी नेतृत्वको टोलीले गत आर्थिक वर्षमा योजनाको डीपीआर तयार पारी भौतिक विकास मन्त्रालयमा स्वीकृतिका लागि पेस ग¥यो । योजनाको अनुमानित लागत ५० करोड रुपैयाँ निस्कियो । ३ वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखियो । १ हजार ९ सय हेक्टर जमिनमा सिँचाइ उपलब्धता हुने ठानियो । तर त्यो प्रक्रिया पनि तुहाइयो ।

हालसम्म गुरगी सिँचाइको लागि सरकारले २१ करोडभन्दा बढी बजेट विनियोजन गरेको छ । तर कार्यान्वयनमा नजाँदा बजेट फ्रिज हुँदै आएको छ ।

  • खुरखुरिया सिँचाइ योजनाको पनि १३ करोड फ्रिज

कैलालीमा गुरगीमात्रै मात्रै होइन, चालु आर्थिक वर्षका लागि कैलालीको गौरीगंगा नगरपालिकास्थित घुराहा नदीमा बन्ने खुरखुरिया सिँचाइ योजनाका लागि विनियोजित १३ करोड बजेट पनि फ्रिज भएको छ । गुरगीको जस्तै खुरखुरियाको पनि कागजी प्रक्रिया पूर्ण नहुँदा बजेट फ्रिज भएको डिभिजन प्रमुख पालले बताए ।

  • आउँदो आर्थिक वर्षमा गुरगीका लागि १० करोड

सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्ष (२०८१/०८२) का लागि १० करोड बजेट विनियोजन गरेको छ । माटो परीक्षण भइ योजना डिजाइनको काम जारी रहेको बताउँदै डिभिजन प्रमुख पालले आउँदो आर्थिक वर्षको पहिलो चौमासिकमा ठेक्का आह्वान गर्ने गरी काम गरिरहेको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप