बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

रञ्जिता भन्छिन्– फर्जी पत्र देखाउँदैमा दलको नेता फेरिएको मानिँदैन

सोमबार, १७ असार २०८१, ११ : १४
सोमबार, १७ असार २०८१

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफूलाई संसदीय दलको नेताबाट हटाएकोबारे अनविज्ञता प्रकट गरेकी छन् । फर्जी पत्र देखाउँदैमा दलको नेता परिवर्तन नहुने रञ्जिताले बताइन् ।

 ‘फर्जी पत्र देखाउँदैमा संसदीय दलको नेता फेरिएको मानिँदैन । पत्रको वैधानिकता संसद्ले हेर्ला,’ उनले भनिन् ।  आइतबार बसेको नाउपाको संसदीय दलको सचिवालयको बहुमत सदस्यहरूले रञ्जितालाई दलको नेताबाट हटाएका थिए । बहुमत सदस्यको बैठकले रञ्जितालाई हटाएर संसदीय दलको नेतामा सांसद गंगाराम चौधरी डगौरालाई चयन गरेको हो ।

यसबारे रातोपाटीसँग रञ्जिताले भनिन्, ‘मलाई जानकारी भएन । हिजोसम्म उहाँहरू टिकापुर हुनुहुन्थ्यो । उतै बैठक बसेर निर्णय गरेको हो कि ? अरुण चौधरीलाई बुझ्दा उहाँले ‘मेरो पुरानो हस्ताक्षर राखेर निर्णय सार्वजनिक गरिएको हो । बैठक बसेको छैन’ भन्ने कुरा गर्नु भयो ।’ 

पार्टीको केन्द्रीय कमिटी बैठक पनि नबसेको भन्दै आफूलाई कुनै जानकारी नरहेको उनको भनाइ छ । ‘उहाँहरूले केही बुझेर गर्नु भयो होला । केही न केही उपाय पनि होला नि ?,’ उनले भनिन्, ‘उहाँहरूलाई दलको नेता परिवर्तन गर्ने मनसाय र विचार भएको सरसल्लाह हुन्थ्यो । विना सरसल्लाह दलको नेता हटाउने निर्णय गरेकाले किन यस्तो गुर्नभयो ? उहाँहरूलाई नै थाहा होला ।’

दलको नेताबाट आफूलाई हटाएको पत्रलाई संसद्ले कानुन र विधि अनुसार हेर्ने रञ्जिताको विश्वास छ । उहाँहरू संसद्‌मा पत्र पठाउनु भएको भन्ने छ । नियम र कानुन हेरिन्छ होला । नियम कानुन अनुसार दलको नेता चयन हुन्छ, चेन्ज हुन्छ । विधान विपरीत मनपरी ढङ्गले काम गर्ने छुट छैन,’ उनले भनिन् ।

स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित लालवीर चौधरीको नाम नाउपाको सांसदको रेकर्डमा नरहेको उनले बताइन् । ‘हाम्रो माननीय लालवीर चौधरी स्वतन्त्रबाट पार्टीमा आउनु भएको छ । मलाई जहाँसम्म लाग्छ । उहाँ नाउपाको सांसद भनेर दर्ता पनि हुनु भएको छैन,’ रञ्जिताले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप