बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

राष्ट्रको इज्जत बढ्नेगरी काम गर्न वायुसेवा निगमलाई मन्त्री तामाङको निर्देशन

सोमबार, १७ असार २०८१, ११ : ०६
सोमबार, १७ असार २०८१

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रको शान र इज्जत बढ्नेगरी काम गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएका छन् । सोमबार नेपाल वायुसेवा निगमको ६६ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले नेपाल वायुसेवा निगमले राष्ट्रको शान र इज्जत बढाउनका निमित्त आजसम्म काम गरिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि सोही कार्यलाई निरन्तरता दिन आग्रह गरे । उनले पछिल्लो चरणमा नेपाल वायुसेवा निगममा देखापरेका समस्यालाई मन्त्रालयको तर्फबाट सुझबुझका साथ अध्ययन, अवलोकन गर्ने काम भइरहेको पनि बताए । बाहिर आएका सबै कुराहरु सत्य नहुने भन्दै मन्त्री तामाङले सरकारको संस्थामाथि प्रश्न उठिसकेपछि अभिभावकत्व ग्रहण गरेर त्यसको छानबिनमा मन्त्रालय गम्भीर भएर लागेको बताए ।

उनले भने– ‘नेपाल वायुसेवा निगमले ६६ वर्ष पार गरेर ६७ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा म सबै नेपाली जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । नेपाल वायुसेवा निगमले राष्ट्रको शान र इज्जत बढाउनका निमित्त जे जति कामहरु गरेका छन्, त्यसको निरन्तरताको निमित्त यो व्यवस्थापकीय पक्षलाई पनि विशेष ध्यानाकर्षण गराउन चाहन्छु र निर्देशन दिन चाहन्छु ।’ 

पछिल्लो चरणमा नेपाल वायुसेवा निगममा देखापरेका समस्या रहेको बताउँद उनले त्यस सम्बन्धमा मन्त्रालयको तर्फबाट सुझबुझका साथ अध्ययन अवलोकन गर्ने काम भइरहेको बताए । 

मन्त्री तामाङले भने– ‘बाहिर आएका कुरा सबै सत्य हुन् भन्नेकुरा हुँदैन । तर पनि एउटा संस्था भइसकेपछि र त्यसको उपर प्रश्न चिन्ह खडा भइसकेपछि त्यसको बारेमा फेरि मन्त्रालय भनेको एउटा नियमन निकाय पनि हो । उसको अभिभावकत्व ग्रहण गर्ने सर्वोच्च संस्था पनि हो । त्यो भएको हिसावले जति पनि प्रश्न उठ्ने गरेका छन्, त्यसको बारेमा मन्त्रालय गम्भीर रुपबाट लागिरहेको छ ।’

 मन्त्री तामाङले आफ्नो मातहतको कुनैपनि निकायमा समस्याहरु भए मन्त्रालय नियमन र छानबिनको दायरामा ल्याउन सचेत रुपबाट लागेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप