बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

बेचन झालाई केन्द्रमा राखेर दोस्रो चरणको अनुसन्धान सुरु, उच्च राजनीतिक तहसम्म पुग्ला ?

सोमबार, १७ असार २०८१, ०७ : ३०
सोमबार, १७ असार २०८१

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान सुरु भएको छ । पहिलो चरणको अभियोग पत्र जिल्ला अदालत काठमाडौँमा विचाराधीन रहेको छ भने राजनीतिक व्यक्तिहरूसँग कनेक्सन बनाइदिएका बेचन झा पक्राउ परेसँगै दोस्रो चरणमा अनुसन्धान सुरु भएको हो । 

नेपाल प्रहरीको विशेष ब्युरोले भारतबाट पक्राउ गरेर उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको जिम्मा लगाएको थियो । शुक्रबार भारतबाट पक्राउ गरिएका झालाई आइतबार जिल्ला अदालत काठमाडौँ उपस्थित गराइएको थियो । 

जिल्लाले पहिलो पटक उनलाई ७ दिन थुनामा राखेर अनुसन्धानका लागि म्याद दिएको छ ।  संगठित अपराधमा अनुसन्धान हुने भएकाले ६० दिनभित्र अभियोग पत्र बुझाउने समय उपलब्ध हुनेछ । प्रहरीले झालाई फेरि पनि म्याद थपका लागि लैजाने छ । 

पक्राउ परेका झाको बयान र यसअघि भएका बयानहरूलाई समेत आधार मानेर नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान आइतबारदेखि नै सुरु भएको काठमाडौँ जिल्ला प्रहरी परिसरका एक अधिकृतले बताए । 

यो अवधिभित्र प्रहरीले अनुसन्धान गरी पूरक अभियोग पत्र जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन पेस गर्नेछ । जिल्ला सरकारी वकिल कार्यालयले दोस्रो अभियोग पत्र संलग्न देखिएका व्यक्तिहरूलाई पक्राउ गरेर वा फरार देखाएर दर्ता गर्ने छ ।  

पक्राउ परेका झाको बयान र यसअघि भएका बयानहरूलाई समेत आधार मानेर नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान आइतबारदेखि नै सुरु भएको काठमाडौँ जिल्ला प्रहरी परिसरका एक अधिकृतले बताए । 

‘संगठित अपराधमा अनुसन्धानका लागि ६० दिनको समय छ । हामी सुरुमा झाको बयान लिन्छौँ । उनको बयानपछि उनीसँग कनेक्सन देखिएका व्यक्तिहरूको बारेमा अनुसन्धान सुरु हुन्छ,’ ती अधिकृतले भने ‘उनले बयानमा पोलेका व्यक्ति र यसअघिको बयानमा आएका व्यक्तिहरू समेत अनुसन्धानको दायरमा आउने छन् ।’ 

बयानसँगै झासँग जोडिएका व्यक्तिहरूको अभियोग पुष्टि गर्ने प्रमाणहरूको पनि खोजी सुरु हुने छ ।  

  • झाको राजनीतिक कनेक्सन 

तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण र सचिव टेकनारायण पाण्डेलाई ठगी गिरोहसँग झाले नै भेट गराइदिएका थिए । हाल पुर्पक्षका लागि थुनामा रहेका सचिव पाण्डेले लिखित बयानमै यो तथ्य खुलाएका छन् । 

‘मन्त्रालयमा राजनीतिक रूपमा सम्पर्कमा आएका बेचन झासँग बयान लिएपछि यस विषयमा थप गहिराइमा पुग्न सकिन्छ,’ उनको बयानमा उल्लेख छ ।  कांग्रेसका उच्च तहका नेताहरूसँग झाको निकटस्थ सम्बन्ध देखिएको छ । उनको बयानले अबको अनुसन्धानको दिशा तय गर्ने प्रहरी अधिकारी बताउँछन् । 

पीडितहरूसँग पैसा उठाउने गिरोहले गृह मन्त्रालयमा समन्वय गरिदिएबापत झालाई दुई करोड दिएका थिए । रामशरण केसीले दिएको दुई करोडको चेकको फोटो नै प्रहरीले फेला पारेको थियो । तर त्यही चेककै आधारमा मात्र अभियोग पत्र लैजाने भन्दा दोस्रो चरणमा अनुसन्धान गर्ने निष्कर्षमा प्रहरी तत्कालीन समयमा पुगेका थियो । 

केसीले ८ मङ्सिर २०७८ को राति ८ बजे मध्य बानेश्वरमा झालाई दुई करोडको चेक दिएको केसीले बयानमा खुलाएका थिए । गृह मन्त्रालय र मन्त्रिपरिषद्बाट दर्तामा छुटेका शरणार्थीलाई अमेरिका लैजाने भन्दै उनले दुई करोडको चेक लिएका थिए । 

नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य आरोपीमध्येका सानु भण्डारीले ‘१३ मङ्सिर २०७८ को मन्त्रिपरिषद् बैठकबाट भुटानी शरणार्थीबारे हामीलाई फाइदा हुने गरी निर्णय गर्दैछ, यो काम बेचन झाले गराएकाले उनलाई चेक काटिदिनू,’ भनेपछि लेनदेन भएको थियो । यो कुरा केसीले आफ्नो बयानमा पनि उल्लेख गरेका छन् । 

केसीले ८ मङ्सिर २०७८ को राति ८ बजे मध्य बानेश्वरमा झालाई दुई करोडको चेक दिएको केसीले बयानमा खुलाएका थिए । गृह मन्त्रालय र मन्त्रिपरिषद्बाट दर्तामा छुटेका शरणार्थीलाई अमेरिका लैजाने भन्दै उनले दुई करोडको चेक लिएका थिए । 

सुजाता कोइराला परराष्ट्रमन्त्री हुँदा उनको सचिवालयमा बसेर काम गरेका केशव दुलाल र बेचनबिच चिनजान थियो । दुलालमार्फत नै बेचन नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका थिए । यो तथ्य पहिलो अभियोग पत्र दायर हुनुअघि नै खुलेको थियो ।  

आरजु राणाका भाइ भूषण राणासँग बेचनको व्यावसायिक चिनजान थियो । उनीहरू व्यवसायी साझेदारसमेत भएको पाइएको छ । भूषणमार्फत नै उनी आरजुसँग पनि जोडिएका  हुनसक्ने आशङ्का गरिएको छ। 

बेचन पक्राउ परेसँगै भुटानी शरणार्थी प्रकरणमा अन्य नेताहरूको पनि कनेक्सन खुल्न सक्ने अनुसन्धान अधिकारीहरू बताउँछन् । तर एक वर्षसम्म प्रमाण नष्ट भएको हुनसक्ने सम्भावना पनि उत्तिकै रहेको देखिन्छ । 

अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीका अनुसार कांग्रेसका प्रभावशाली नेताहरूले झालाई भेट्न तत्कालीन सचिव पाण्डेलाई सिफारिस गराइदिएका थिए ।

‘एक वर्षसम्म फरार रहँदा उनले कति प्रमाण नष्ट गरेर र कति राखे अव अनुसन्धानपछिमात्र भन्न सकिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने ‘मोबाइलदेखि कल डिटेलसम्म सबै नष्ट भइसकेको पनि हुनसक्छ ।’ 

अबको अनुसन्धानको मुख्य कुरा बेचनको बयानमा आधारित हुने काठमाडौँ प्रहरी परिसरका एक अधिकृतको भनाई छ ।  ‘बेचनले बयानमा राजनीतिक व्यक्तिहरूको नाम खुलाए भने त्यसलाई पुष्टि गर्न सहज हुन्छ । तर बयानमा कसैको पनि नाम लिन अस्वीकार गरे भने थप प्रमाण खोज्न कठिन हुने छ,’ ती अधिकृतले भने ‘हेर्दै जाऊँ अनुसन्धान विभिन्न रूपमा अघि बढाउने तयारीमा छौ ।’ 

बेचनको सम्बन्ध भएका अर्का व्यक्ति टोपबहादुर रायमाझी हुन् । उनी ऊर्जा मन्त्री भएको बेला बेचनसँग राम्रो सम्बन्ध थियो । बेचनको विभांशु ब्रदर्स नामक कम्पनी मार्फत रायमाझी मन्त्री हुँदा केही काम पनि गरेका थिए । 

बिजुलीको ट्रान्सफर्मरदेखि एयर कन्डक्टर खरिदमा बेचनले नै ठेक्का पाएका थिए । बेचनमाथिको अनुसन्धान हुँदा पूर्वमन्त्री रायमाझीलाई पुनः बयानमा बोलाउने पर्ने हुनसक्ने भएकाले त्यसको पनि तयारीमा प्रहरी रहेको छ । 

अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीका अनुसार कांग्रेसका प्रभावशाली नेताहरूले झालाई भेट्न तत्कालीन सचिव पाण्डेलाई सिफारिस गराइदिएका थिए । सोही आधारमा पाण्डेको सो गिरोहका सदस्यहरू केशव दुलाललगायतसँग निकट सम्बन्ध भएको थियो । 

सोही आधारमा गृह मन्त्रालयले दर्तामा छुट भएका शरणार्थीको विवरणमा नेपालीको नाम राखेर सोही आधारमा अमेरिका पठाउने प्रयास गरेको थियो । तर, योजना सफल नभएपछि पीडितहरू आफ्नो पैसा डुबेको भन्दै उजुरी लिएर प्रहरीमा पुगेपछि यो प्रकरण बाहिर आएको थियो । प्रहरीमा पुगेको लामो समयसम्म पनि दबाबको भरमा अनुसन्धान रोकिएको थियो । 

पहिलो चरणमा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वसांसद आङ्टावा शेर्पा, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजालजस्ता हाई प्रोफाइललाई पक्राउ गरी मुद्दा दायर गरेको थियो । त्यसबाहेक सन्दीप रायमाझी, नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी र गोविन्द चौधरीलगायत पक्राउ परेका थिए । टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, इन्द्रजित राई, सानु भण्डारी, केशव दुलाल र सन्देश शर्मा पुर्पक्षका लागि कारागारमा छन् । 

यो मुद्दामा पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक पनि पक्राउ परेका छन । अब २० प्रतिवादीमध्ये नौजना फरार छन्। डा. इन्द्रजित राईका छोरा नीरजसहित अशोककुमार पोखरेल, निरञ्जनकुमार खरेल, धीरेन राई, दीपा हुमागाईं, मोहनराज राई, विनीता सामदेन लिम्बू, सुनिल बुढाथोकी, राजेश अर्याल अझै अदालतमा उपस्थित भएका छैनन् । 

  • किन भएन पहिलो चरणमा झामाथि अनुसन्धान ?

पहिलो चरणको अनुसन्धानमा बिचौलिया झाबारे प्रहरीले अन्तिममा मात्र सूचना पाएको थियो । त्यतिबेला उनको ठेगाना प्रस्ट नहुँदा प्रहरीले उनलाई अनुसन्धानको दायरमा ल्याउन सकिएन । यही कारण तत्कालीन समयमा उनलाई प्रतिवादी  पनि बनाइएन ।  

‘तत्कालीन समयको अनुसन्धानमा सचिव पाण्डेसहितले झाको नाम त लिएका थिए तर पर्याप्त प्रमाण पुगेन र अनुसन्धान गर्ने समय पनि भएन,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने, ‘अब भने ६० दिनको समय छ । उनीसहित उनीसँग संलग्न देखिएका सवै व्यक्ति अनुसन्धानको दायरमा आउँछन् ।’  

काठमाडौंको बानेश्वरमा घर भएका उनी ठूला ठेक्कापट्टामा संलग्न थिए । मूलतः भारतीय मूलका उनले पर्साबाट नेपाली नागरिकता लिएका थिए । कांग्रेस केही नेताहरूको आडमा उनले नेपालमा ठेक्कापट्टाको काम गर्दै आएको र बिचौलियाको धन्दामा पनि संलग्न रहने गरेको खुलेको थियो । उनको नेपाल र भारतमा दुवैतर्फ नागरिकता देखिएकाले त्यसतर्फ पनि अनुसन्धान हुने प्रहरीले बताएको छ। 

उनको बयानबाट यो गिरोहमा संलग्न थप व्यक्तिको संलग्नता खुल्न सक्ने प्रहरी अधिकारी बताउँछन् । पहिलो चरणको मुद्दा दायर भइसकेपछि १८ पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो । पहिलो चरणमा बिचौलियाले नै नेताहरूको नाम लिएपछि उच्च तहसम्म अनुसन्धान पुगेको थियो । तर  बिचौलियाले बयान फेरी इन्कारी बयान दिएकापछि प्रहरी अलमलमा परेको थियो । 

पहिलो चरणको अनुसन्धानमा पूर्वगृहमन्त्री रामबहादुर थापा, सांसदसमेत रहेकी उनकी पत्नी नैनकला थापा, एमाले अध्यक्ष केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, पूर्वप्रदेश सांसदसमेत रहेका एमालेकै नेता अजयक्रान्ति शाक्यलगायत माथि थप अनुसन्धान गर्ने तयारी प्रहरीले गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा दुलाल
दुर्गा दुलाल
लेखकबाट थप