बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
एसईई परीक्षा

‘एनजी’ आएका सबैलाई मौका परीक्षा दिँदा कक्षा ११ को भर्ना प्रक्रिया प्रभावित हुने

सोमबार, १७ असार २०८१, ०६ : ०८
सोमबार, १७ असार २०८१

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नन ग्रेडेड (एनजी) आएका सबैलाई मौका परीक्षा (ग्रेड वृद्धि) दिन पाउने व्यवस्था गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले ५२ प्रतिशत विद्यार्थीको ‘एनजी’ आएपछि सबैलाई मौका परीक्षा दिन पाउने निर्णय गरेकी थिइन् ।

आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन २३ देखि ३१ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डले परीक्षा तालिका भने साेमबार सार्वजनिक गर्ने बताएको छ । 

यसअघि दुई विषयमा ‘एनजी’ आएका विद्यार्थीका लागिमात्रै भन्दै राष्ट्रिय परीक्षा बोर्डले साउन १८ र १९ गते मौका परीक्षाको मिति तय गरेको थियो । तर, शिक्षामन्त्रीले मन्त्रीस्तरीय निर्णय गर्दै ‘एनजी’ आएका सबै विद्यार्थीलाई मौका परीक्षा दिन पाउने निर्णय गरेसँगै परीक्षा मिति फेरबदल भएको हो ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले सबै विषयमा नयाँ तालिका अनुसार परीक्षा गर्दा कम्तीमा १० दिनको समय लाग्ने बताए । यसअघि बोर्डले यही शैक्षिक सत्रको कक्षा प्रभावित नहुने गरी गरी दुई विषयको मौका परीक्षा तालिका सार्वजनिक गरेको थियो । तर, अहिले सबै विषयको परीक्षा सञ्चालन गरेर नतिजा निकाल्दा बढी समय लाग्ने भएकाले बोर्ड अधिकारीहरू मौन छन् ।

त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले मौका परीक्षाले कक्षा ११ मा पढ्ने विद्यार्थीलाई समस्या नपर्ने बताए । एसईईको नतिजा सार्वजनिक भएसँगै अधिकांश विद्यालयले कक्षा ११ मा भर्ना आह्वान गरिसकेका छन् ।

अधिकांश विद्यालयहरूले साउनको पहिलो साता छात्रवृत्ति तथा प्रवेश परीक्षाको मिति तय गरेका छन् । काठमाडौँ महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिका लागि साउन ४ गते परीक्षा मिति तय गरेको छ ।

प्रधानाध्यापक कँडेलले मौका परीक्षाबाट आएका विद्यार्थीहरूको हकमा यो शैक्षिक सत्र खेर नजाने बताए । ‘साइन्स, म्यानेजमेन्ट जस्ता विषयमा त भर्ना प्रक्रिया सुरु भइसकेको छ । त्यसमा उहाँहरूको सम्भावना कम हुन्छ । ती बाहेकका विषय पढ्न यसै शैक्षिक सत्रमा कुनै समस्या हुँदैन,’ उनले भने ।

अतिरिक्त कक्षा सञ्चालन गरेर भए पनि नयाँ आउने विद्यार्थीको पढाइ पूरा गर्न सकिने उनको भनाइ छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) अध्यक्ष डीके ढुंगानाले समेत मौका परीक्षाले कक्षा ११ मा भर्ना प्रक्रिया प्रभावित नहुने बताए । धेरैजसो विद्यालयले साउन महिनाभर भर्ना प्रक्रिया गर्ने भएकाले साउनको अन्तिमसम्म वा भदौको पहिलो साताभित्रमा मौका परीक्षाको नतिजा आयो भने कुनै समस्या नहुने उनको भनाइ छ ।

‘साउन १५ सम्म त भर्ना नै सुरु भएको हुन्छ । अन्तिमसम्ममा अलि अलि पढाइ सुरु भएको हुन्छ । स्कुलहरूले पढाइ जारी राख्छन् । पछि आउने विद्यार्थीको हकमा छुटेको पढाइ कभर गरिहाल्छन्,’ अध्यक्ष ढुंगानाले भने ।  

२०८० सालको एसर्ईईमा दुई लाख ४२ हजार ३१३ विद्यार्थी फेल अर्थात् (एनजी) भएका छन् । दुई विषयमा ‘एनजी’ आएका एक लाख १५ हजार ८३४ विद्यार्थीले मौका परीक्षा दिन पाउने भन्ने थियो । तर, गत शुक्रबार शिक्षामन्त्रीस्तरीय निर्णयपछि ‘एनजी’ आएका सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने भएका हुन् ।

सामुदायिक विद्यालयका दुई लाख १३ हजार ५३४ विद्यार्थीले ‘एनजी’ प्राप्त गरेका छन् भने निजी विद्यालयका २८ हजार ७७९ विद्यार्थीले ‘एनजी’ प्राप्त गरेका छन् । उक्त परीक्षामा सामुदायिकतर्फ तीन लाख ३१ हजार ८६७ विद्यार्थी र निजीतर्फ एक लाख ३२ हजार ९१८ विद्यार्थी सम्मिलित भएका थिए ।

  • ग्रेडवृद्धि परीक्षा लक्षित अतिरिक्त कक्षा  

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ग्रेड वृद्धि परीक्षामा सहभागी हुने विद्यार्थी लक्षित गरी अतिरिक्त श्रव्यदृश्य कक्षा सञ्चालन गर्ने भएको छ । केन्द्रले ग्रेड वृद्धि परीक्षामा सहभागी हुने सबै विद्यार्थीका लागि सबै विद्यालयले नियमित पठनपाठनसँगै परीक्षा लक्षित सहयोग, सहजीकरण र अतिरिक्त कक्षा सञ्चालन अनिवार्य रूपमा गराउन निर्देशनसमेत दिएको छ ।

यसरी सञ्चालन भएको कक्षाको जानकारी नियमित रूपमा स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाईमा समेत गराउन केन्द्रको निर्देशन छ । इकाईले जिल्लाभर सञ्चालित ग्रेड वृद्धि परीक्षा लक्षित कक्षाहरूको अनुगमन, सहजीकरण र केन्द्रमा नियमित जानकारीको व्यवस्था मिलाउने, स्थानीय तहले यसरी विद्यालयबाट सञ्चालन हुने अतिरिक्त कक्षा सञ्चालनका लागि अनुगमन, समन्वय लगायतका कार्यहरूको प्रबन्ध मिलाउन समेत केन्द्रले निर्देशन दिएको हो ।

CEHRD notice

अतिरिक्त कक्षा सञ्चालनका लागि नेपाल शिक्षक महासंघ, प्याब्सन, एन–प्याब्सन, शिक्षकका पेसागत/विषयगत संघ संस्था, शिक्षा क्षेत्रमा कार्यरत गैरसरकारी संस्था, नागरिक समाज, अभिभावक, सञ्चारमाध्यम एवं सम्पूर्ण सरोकारवालाहरूलाई समन्वय एवं सहजीकरणका लागिसमेत आग्रह गरेको छ ।

त्यस्तै त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसका विद्यार्थीलाई समेत परिचालन गरिने भएको छ । शिक्षा मन्त्रालयले त्रिभुवन विश्वविद्यालयलाई पत्राचार गर्दै अतिरिक्त कक्षा सञ्चालनका लागि सहयोग माग गरेको हो ।

स्नातक तथा स्नातकोत्तर तहको अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीलाई परिचालन गरी सार्वजनिक विद्यालयमा अङ्ग्रेजी, विज्ञान, गणित र निजी विद्यालयमा नेपाली र सामाजिक शिक्षा विषयमा कक्षा सञ्चालन गर्न मन्त्रालयले सहयोग माग गरेको हो ।

आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटिएको साथी सिकाइ (पियर मेण्टरिङ्ग) कार्यक्रमलाई विश्वविद्यालय मार्फत सञ्चालन गर्न भन्दै मन्त्रालयले विश्वविद्यालयलाई पत्राचार गरेको हो ।

सोही आधारमा विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीले त्रि.वि.विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयलाई पत्र लेखेर पायक पर्ने स्थान र समयमा शैक्षिक सिकाइ सहयोग कक्षा सञ्चालनको व्यवस्था गर्न पत्राचार गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप