मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरपालिकाले लोकल मदिरालगायतका पेय पदार्थको ब्राण्डिङ गर्ने

आइतबार, १६ असार २०८१, २२ : ३०
आइतबार, १६ असार २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको ब्राण्डिङ’ सम्भाव्यता अध्ययन सुरु गरेको छ । नेवा: समुदायले धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यका लागि उत्पादन गर्ने पेय पदार्थ औषधिका रूपमा समेत प्रयोग हुने गरेको छ ।

जन्म मृत्युबिचका संस्कार तथा शुभकार्य, जात्रा पर्व, पाहुना आउँदा वा बिदाइ गर्दा आफैँले उत्पादन गरेको पेय पदार्थ (ऐला, ठोँ) लाई गुणस्तरीय मानिन्छ । यसरी उत्पादन हुने पेय पदार्थको गुणस्तरीयतालाई ब्राण्डिङ गरेर विश्व समक्ष पुर्‍याउने सम्भावनालाई अध्ययनबाट हेर्न लागिएको हो । 

कार्यक्रमलाई सहकारी विभागले अगाडि बढाएको हो । यसरी अगाडि सारिएको कार्यक्रमलाई नेवा: समुदायभित्रका विभिन्न गुठी तथा सङ्घ संस्थाका प्रतिनिधिहरूको प्रतिक्रिया बुझ्न र यस सम्बन्धी सूचना सङ्कलन गर्न आज छलफल कार्यक्रम आयोजना गर्‍यो । 

‘मदिरा ऐनले यस्ता बस्तुको प्रवर्धन रोकेको छ । यसरी रोक्नुको अर्थ अध्ययन गर्न नपाउनु भन्ने होइन ।’ छलफलमा महानगरपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने, ‘अध्ययनबाट आर्थिक, सामाजिक, सांस्कृतिक जस्ता पहिचान बढाउन सहयोग पुग्ने देखियो भने कानुनी व्यवस्था संशोधन गरेर भए पनि सम्भावनालाई नतिजामा रूपान्तरण गर्नुपर्छ ।’

पुस्ताले व्यवहारिक शिक्षाका रूपमा हस्तान्तरण गर्दै आएको पेय पदार्थ उत्पादन गर्ने विधिलाई अभिलेखन गर्न आवश्यक छ । यसो नहुँदा स्तरीय उत्पादनका लागि पुर्खाले प्रयोग गरेको सिप थाहा हुँदैन । उनले संस्कृतिसँग जोडिएको उत्पादनका प्रक्रियालाई पुस्तान्तरण गर्ने काममा अध्ययनले सहयोग गर्ने बताए । 

छलफलमा ज्यापू महागुथि नेपा, महानगर समिति, गुंलाबाजं संरक्षण तथा व्यवस्थापन समिति, नेपाल खड्गी सेवा समिति, नेपाल राष्ट्रिय खड्गी समाजअन्तर्गतका विभिन्न गुथि खलःका प्रतिनिधिहरू सहभागी थिए । 

उनीहरूले पेय पदार्थ उत्पादनका लागि आवश्यक कच्चा पदार्थ, उत्पादन प्रक्रिया, मात्रा, समयावधि, भण्डारण विधि, प्रयोग विधिलगायतका विषयमा जानकारी दिँदै, महानगरपालिकाले अगाडि सारेको कार्यक्रमले नेवा सभ्यता अन्तर्राष्ट्रियकरण हुनमा ठुलो योगदान हुने प्रतिक्रिया दिए ।

महानगरपालिका आफैँले कार्यक्रम अगाडि सारेकोले आवश्यकता आधारमा प्रचलित कानुन संशोधन हुनेमा आशावादी छौँ । उनीहरूले धारणा राख्दै भने, ‘सांस्कृतिक तथा भोज कार्यका लागि तयार गरिने उत्पादनले आयआर्जन गरायो भने यो हाम्रा लागि ठुलो सहयोग हुनेछ ।’

छलफलमा सहकारी विभागका प्रमुख बलराम त्रिपाठीले, स्थानीयको भावना र अध्ययनले देखाउने आवश्यकता विश्लेषण गरेर आगामी दिनका कार्यक्रम सञ्चालन गरिने बताए । विभागका दर्ता प्रवर्धन महाशाखा प्रमुख सन्तु श्रेष्ठका अनुसार आफैँ प्रयोग गर्न प्रयोजनका लागि मादक पदार्थ उत्पादन गर्न पाइने व्यवस्था छ । यस्तो उत्पादन बेचबिखन गर्न भने पाइँदैन । ‘यस्तो अवस्थामा रहेको स्थानीय पेय पदार्थको उत्पादन तथा गुणस्तर कायम राख्ने रैथाने विधिको अध्ययन थालिएको छ ।’

समुदायले सांस्कृतिक प्रयोजनका लागि उत्पादन गरेका बस्तुको मात्र अध्ययन हुनेछ । कार्यक्रमका बारेमा जानकारी दिँदै स्मार्ट सिटी विज्ञ विज्ञान घिमिरे भने, ‘पेय पदार्थ उत्पादन गर्ने तरिका, समय, उत्पादनका लागि प्रयोग गरिने भाँडाकुँडा, ताप तथा ऊर्जा, कच्चा पदार्थ, उत्पादित बस्तुको भण्डारण, प्रयोगको मात्रा, उपभोक्तालगायतका विषयमा अध्ययन हुनेछ । यसका लागि गुथिहरुको पेय पदार्थ उत्पादन गर्ने ठाउँमा गएर विधिको अध्ययन हुनेछ । नमुना सङ्कलन गरेर मात्राको तथा गुणको परीक्षण गरिनेछ ।’ 

ब्राण्डिङको  कामलाई विभिन्न चरणमा अगाडि बढाउने योजना छ । पहिलो चरणमा विद्यमान अवस्थाको अध्ययन हुनेछ । यो काम सुरु भइसकेको छ । यसबाट कुन ठाउँमा कसले बनाएको उत्पादन कुन कुन प्रयोजन ९शुभ कार्य, औषधि, पिउन० का लागि ब्राण्डिङ गर्न सकिन्छ भन्ने थाहा हुनेछ । यसपछि कानुनी व्यवस्था तर्जुमा गर्ने र यसका आधारमा मूल्य, कर र प्रयोजन निर्धारण गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप