मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

सहकारी क्षेत्रमा असुरक्षा बढेको भन्दै गृहमन्त्रीलाई ध्यानाकर्षण

आइतबार, १६ असार २०८१, २२ : २०
आइतबार, १६ असार २०८१

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीका विषयमा सरकारको गम्भीर चासो रहेको बताएका छन् । उनले अवाञ्छित गतिविधिमा संलग्न जो कोहीलाई पनि कानुनी कारबाही हुने बताए ।

गृहमन्त्री लामिछानेले नेपालको सहकारी अभियानको तर्फबाट राष्ट्रिय सहकारी महासंघको अध्यक्ष ओमदेवी मल्लको नेतृत्वमा गएको उच्चस्तरीय प्रतिनिधिमण्डलसँग छलफलको क्रममा उक्त कुरा बताएका हुन् । साथै उनले सहकारी अभियानको माग सम्बन्धमा आवश्यक अध्ययन गरी गृह मन्त्रालयबाट परिपत्र गर्ने आश्वासन समेत दिए ।

उक्त क्रममा सहकारी अभियानको तर्फबाट महासंघका अध्यक्ष मल्लले सहकारी संघ संस्थाको ऋण असुली तथा धितो लिलाम प्रक्रियामा अराजक समूहले अवरोध पुर्‍याएको भन्दै आवश्यक सुरक्षा व्यवस्थाको लागि गृह मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।

साथै सहकारी संस्थाको ऋण तिर्नुपर्दैन भनी केही अराजक समूहबाट भ्रम फैलाइएको, ऋण असुलीमा जाने कर्मचारीमाथि गालीगलौज, धम्की प्राप्त भएको, धितो लिलामी प्रक्रियामा अवरोध सिर्जनालगायतका कार्यले सहकारी संघ संस्थाको चालू आर्थिक वर्षको खाताबन्दीमा नकारात्मक असर परेको भन्दै आवश्यक सुरक्षा व्यवस्थाका लागि  मन्त्रालयबाट परिपत्र गरी दिन माग राखेकी थिइन् ।

महासंघका निवर्तमान अध्यक्ष मीनराज कँडेलले सहकारी संघ संस्थालाई राजस्व तिर्नुपर्दैन जस्ता गम्भीर विषयमा अराजक समूहबाट भ्रम सिर्जना गरेको हुँदा राज्यले तत्काल कारबाहीको दायरामा ल्याउनुपर्ने कुरामा जोड दिए ।

प्रतिनिधिमण्डलमा महासंघका उपाध्यक्ष डीबी बस्नेत, सञ्चालक काशीचन्द्र बराल, महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ सुब्बाको सहभागिता रहेको थियो भने छलफलमा क्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष चन्द्र ढकाल र राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईँले सहकारी क्षेत्रको समस्या समाधानका लागि गर्नुपर्ने विषयमा कुरा राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप