मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

आइतबार, १६ असार २०८१, २१ : ४८
आइतबार, १६ असार २०८१

आज २०८१ असार १६ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा एकीकृत समाजवादीको दशौँ महाधिवेशन सुरु; अध्यक्षमा सहमतिको सम्भावना कति ?, नक्कली शरणार्थी प्रकरणमा प्रतीक थापाको बयान सोमबारदेखि, देउवा–ओली भेटले राजनीतिमा नयाँ तरङ्ग, एसईईको मौका परीक्षा साउन २३ देखि, ३५ वर्षको उमेरमा महासचिव भएका प्रचण्ड ७० वर्षसम्म पनि पार्टीको नेतृत्वमै, बचतकर्ताको रकम अपचलन गरेको आरोपमा लालीगुँरास सहकारीका चार जना पक्राउ, मौसम विभागले कसरी गराउँछ स्थानीयवासीलाई ‘अलर्ट’ ? लगायत छन् ।

१. एकीकृत समाजवादीको दशौँ महाधिवेशन सुरु; अध्यक्षमा सहमतिको सम्भावना कति ?
नेकपा एकीकृत समाजवादीको दशौँ महाधिवेशन राजधानीमा सुरु भएको छ । आइतबार उदघाटन भएको महाधिवेशनको बन्दसत्र सोमबार सुरु हुने छ । महाधिवेशनबाट नेतृत्वका लागि अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल आकाङ्क्षी देखिएका छन् । 

२. नक्कली शरणार्थी प्रकरणमा प्रतीक थापाको बयान सोमबारदेखि
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापाको बयान सोमबारदेखि मात्र लिइने भएको छ । थापा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा हुन् । प्रतीकलाई आइतबार काठमाडौँ जिल्ला अदालतमा पेस गरिए पनि बयान लिन नभ्याइएपछि सोमबार बयानको प्रक्रिया थालिने भएको हो । सोही प्रकरणमा पक्राउ परेका बेचन झालाई अदालतले ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

३. देउवा–ओली भेटले राजनीतिमा नयाँ तरङ्ग
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्ताको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिचको भेटवार्ताले राष्ट्रिय राजनीति तरङ्गित भएको छ । शनिबार दिउँसो करिब ३ घण्टा ओली निवास बालकोटमा उनीहरूबिच भएको वार्ताले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको आयुबारे संशय पैदा गराएको हो ।

४. एसईईको मौका परीक्षा साउन २३ देखि
माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा आगामी साउन २३ गतेदेखि हुने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन २३ देखि ३१ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।बोर्डले परीक्षा तालिका भने सोमबार सार्वजनिक गर्ने बताएको छ ।

५. ३५ वर्षको उमेरमा महासचिव भएका प्रचण्ड ७० वर्षसम्म पनि पार्टीको नेतृत्वमै
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ३५ वर्षको उमेरमै ०४६ सालमा नेकपा (मशाल)का महामन्त्री बनेका थिए । बहालवाला प्रधानमन्त्रीसमेत रहेका उनी अहिले ७० वर्षका भए । लगातार ३५ वर्ष नेतृत्वमा रहेका प्रचण्ड आगामी विशेष महाधिवेशनबाट आफूलाई पार्टीभित्र निर्विकल्प अध्यक्षमा उभ्याउने तयारीमा छन् । 

६. बचतकर्ताको रकम अपचलन गरेको आरोपमा लालीगुँरास सहकारीका चार जना पक्राउ
बचतकर्ताको रकम अपचलन गरेको आरोपमा ललितपुरस्थित लालीगुँरास सहकारीका अध्यसहित चार जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा संस्थाका अध्यक्ष ७६ वर्षीय अमरदास श्रेष्ठ, सचिव तथा प्रमुख कार्यकारी अधिकृत ४६ वर्षीय सुरेन्द्र भण्डारी, कोषाध्यक्ष ७५ वर्षीय अमृतकुमार अर्याल र सदस्य ६१ वर्षीय कमदबाबा जोशी प्रधान रहेका छन् ।

७. मौसम विभागले कसरी गराउँछ स्थानीयवासीलाई ‘अलर्ट’ ?
मनसुन सुरु भएसँगै देशभरका नदी तथा खोलामा बाढीको तह बढिरहेको छ । जेठ २८ गतेदेखि नेपालमा मनसुन प्रवेश गरेसँगै जल तथा मौसम विभागको बाढी पूर्वानुमान शाखाले २४ सै घण्टा जोखिमको अवस्था आउने बित्तिकै ती क्षेत्रमा रहेका बासिन्दालाई एसएमएस गरेर अलर्ट जारी गर्ने काम गरिरहेको छ ।

८. सवारी दुर्घटनापछि भाग्न खोज्दा पक्राउ परे ८ वर्ष फरार रहेका पूर्वसांसद
महोत्तरीमा शनिबार साँँझ भएको एक सवारी दुर्घटनापछि सशस्त्र प्रहरीका असई थमन विकको हत्याका फरार अभियुक्त फेला परेका छन् । असई विकको हत्यामा कर्तव्य ज्यानका मुद्दामा ८ वर्षदेखि प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेको फरार अभियुक्त पूर्वप्रदेश सांसद कौशल कुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

९. मौद्रिक नीतिप्रति यस्तो छ निजी क्षेत्रको अपेक्षा
राष्ट्र बैंकले नयाँ मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ । निजी क्षेत्रले भने आर्थिक गतिविधि चलायन हुने गरी मौद्रिक नीति आउनुपर्ने अपेक्षा गरेको छ ।

१०. फणिन्द्र देवकोटा फेरि बने गण्डकीको मन्त्री
सर्वोच्च अदालतको आदेशले सांसदमा थमौती भएका नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा पुनः गण्डकी प्रदेशको मन्त्रीमा नियुक्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नियुक्त गरेका हुन् ।  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप