मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

एचके मडरर्सलाई राष्ट्रिय ई स्पोर्ट्स च्याम्पियनसिपको उपाधि

आइतबार, १६ असार २०८१, २१ : ३६
आइतबार, १६ असार २०८१

सुर्खेत । प्रथम राष्ट्रिय ई स्पोर्ट्स च्याम्पियनसिप २०८१ को उपाधि हेल नाइट (एचके) मडरर्सले जितेको छ । कर्णाली प्रदेशको सुर्खेत विरेन्द्रनगरमा शनिवार राति सम्पन्न फाइनल चरणमा लियो स्पोर्ट्सलाई पछि पार्दै एचके मडर्सस पब्जी मोबाईलतर्फको च्याम्पियन बनेको हो ।

दुवै टोलीले समान अङ्क जोडे पनि चिकेन डिनरका आधारमा एचके मडरर्स च्याम्पियन बनेको आयोजक ई स्पोर्ट्स एसोसिएनका सचिव आशिष दाहालले जानकारी दिए । च्याम्पियन बनेको एचके मडरर्सले २ लाख २५ हजार प्राप्त गरयो । दोस्रो भएको लियो स्पोर्ट्सले १ लाख ८० हजार पायो ।

यस्तै तेस्रो भएको फ्याभ फोरले १ लाख ८ हजार प्राप्त गर्‍यो । पब्जी मोबाइलमा अन्तिम चरणमा प्रतिस्पर्धा गरेका १६ वटै टिमले नगद पुरस्कार प्राप्त गरेका थिए । जसको प्राईज पुल ९ लाख रुपैयाँ रहेको थियो ।

लियो स्पोर्ट्सका लिओ एक्स हैतदामी मोस्ट भ्यालुएबल प्लेअर ९एमभिपी० घोषित भए । उनले टेक्नो पोभा–६ मोबाइल प्राप्त गरे । च्याम्पियनसिपमा तीन इभेन्ट समावेश गरिएको थियो । जसमा इ फुटबलको उपाधि गौरव पुडासैनीले जिते ।

यस्तै, मोबाइल लेजेण्ड्स (एमएलबीबी) को उपाधि टिम हाई भोल्टेजले जितेको थियो । पब्जी बाहेक बाँकी दुई इभेन्ट अनलाइनमा आयोजना भएको थियो । एमएलबीबीको प्राईज पुल २ लाख र ई फुटबलको प्राईज पुल एक लाख रुपैयाँ रहेको थियो ।

ई स्पोर्ट्स संघ नेपालको आधिकारिक गठन भएपछि पहिलो प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गरिएको हो । पहिलो पटक आयोजना भइरहेको ई राष्ट्रिय स्पोर्टस् च्याम्पियनसिपको छनोटमा पब्जीमा १३६ टिम, मोबाइल लेजण्ड्समा ४० टिम र ई फुटबलमा १९३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

विजेतालाई कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सन्ज्याल, ईशानका अध्यक्ष अञ्जन धमला, वरिष्ठ उपाध्यक्ष हिमविक्रम केसी, सचिव बालकुमार केसी लगायतले पुरस्कृत गरेका थिए । सदस्य सचिव सन्जेलले आसन्न दसौँ राष्ट्रिय खेलकुदमा ई स्पोर्ट्सलाई समावेश गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप