मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

पेरिस २०२४ प्यारालिम्पिकमा भीमबहादुरले खेल्ने

आइतबार, १६ असार २०८१, २१ : ३२
आइतबार, १६ असार २०८१

काठमाडौँ । पारा पौडी खेलाडी भीमबहादुर कुमालले फ्रान्समा हुने पेरिस २०२४ प्यारालिम्पिकमा पौडीमा प्रतिस्पर्धा गर्ने भएका छन् । विश्व पारा पौडीबाट ‘बिपरटाइट स्लोट्स’ प्राप्त भएसँगै भीमको प्यारालिम्पिक सहभागिता निश्चित भएको राष्ट्रिय पारा पौडी संघ नेपालका अध्यक्ष सरोज श्रेष्ठले जनाएका छन् ।

भीमले पुरुष ५० मिटर फ्रि स्टायलमा प्रतिस्पर्धा गर्ने छन् । यो स्पर्धामा उनकै नाममा ३५.०१ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ । गोर्खा जिल्लाको नारेश्वर बेनीखोला निवासी ४१ वर्षीय भीमले आफ्नो करियरमा ४ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् ।

उनले चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुद, इन्डोनेसियामा भएको तेस्रो एसियाली पारा खेलकुद तथा सन् २०१९ मा लन्डनमा भएको विश्व पारा पौडी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए । उनले पछिल्लोपटक खेलको प्रतियोगिता विश्व पारा पौडी सिरिज हो जुन प्यारालिम्पिक छनोटको आधारम समेत रहेको थियो । 

सिंगापुरमा मे १७ देखि १९ तारिखसम्म भएको यहि प्रतियोगितामा भीमले ५० मिटर फ्रि स्टायलमा राष्ट्रिय कीर्तिमान बनाएका थिए । भीम एम्पुटी फुटबलका पनि खेलाडी हुन् । भीमले पारालिम्पिकका लागि कालोपुलस्थित वेस्ट भेन्युमा तयारी प्रशिक्षण गरिरहेका छन् । उनलाई विजेनमान श्रेष्ठले प्रशिक्षण दिइरहेका छन् ।

भीमले प्यारालिम्पिक जस्तो ठुलो प्रतियोगिताका लागि छनोट भएकोमा खुसी व्यक्त गर्दै मेहनतको फल प्राप्त भएको प्रतिक्रिया दिए । ‘प्यारालिम्पिक जस्तो ठुलो प्रतियोगिताका छनोट भएकोमा एकदमै खुसी लागेको छ । यसको लागि धेरै दुःख र मेहनत गरेको थिए । मेहनतको फल प्राप्त भएको अनुभूति भइरहेको छ,’ भीमले भने ।

अध्यक्ष श्रेष्ठ भीमको सहभागिताका लागि संघले पनि धेरै पहल गरेको बताउँदै संघको प्रयास सफल बनाउन सहयोग गर्ने सम्बन्धित सम्पूर्णलाई धन्यवाद दिए । भीमसहित पेरिस प्यारालिम्पिकमा हालसम्म ३ खेलाडीको सहभागिता निश्चित भइसकेको छ । 

यसअघि तेक्वान्दोका पलेशा गोवर्धन र भरतसिंह महता छनोट भइसकेका छन् । पलेशाले भने छनोट चरण पार गर्दै स्थान सुरक्षित गरेकी हुन् । भरतले वाइल्ड कार्ड पाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप