मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय
कोपा–अमेरिका फुटबल

भेनेजुएला ढुक्क, मेक्सिको र इक्वेडर ‘गर या मर’ को स्थितिमा

आइतबार, १६ असार २०८१, २० : ३३
आइतबार, १६ असार २०८१

( कोपा–अमेरिका विश्वकै सबैभन्दा पुरानो महादेशीय फुटबल प्रतियोगिता हो । हाल अमेरिकामा जारी ४८औँ संस्करणमा सोमबार इक्वेडर र मेक्सिको आपसमा भिड्दैछन् । त्यो खेलमा विजयी हुने टोली क्वार्टरफाइनलमा पुग्नेछ भने पराजित हुने टोली घर फर्कने निश्चित छ । 

काठमाडौँ । सोमबार बिहानको खेल

  • मेक्सिकोविरुद्ध इक्वेडर (बिहान ०५ः४५ बजे)  
  • जमैकाविरुद्ध भेनेजुएला (बिहान ०५ः४५ बजे) 

विश्वकै सबैभन्दा पुरानो महादेशीय फुटबल प्रतियोगिता ‘कोपा–अमेरिका’ को सोमबार दुई खेल हुँदैछन् । सोमबारको खेलमा मेक्सिकोले इक्वेडर र जमैकाले भेनेजुएलाको सामना गर्दैछन् । दुवै खेल नेपाली समयअनुसार, बिहान ०५ः४५ बजे सुरु हुनेछ ।

कोपा–अमेरिका स्थापनाकालदेखि हालसम्म जारी विश्वकै सबैभन्दा पुरानो महादेशीय फुटबल प्रतियोगिता हो । प्रतियोगिताको ४८औँ संस्करण हाल अमेरिकामा जारी छ । अहिले प्रतियोगिताको समूहगत चरणको खेल जारी छ । 

समूह ‘ए’ को खेल सकिएको सकिएको छ । समूह ‘ए’ बाट अर्जेन्टिना तीनवटै खेल जित्दै विजेताका रूपमा क्वार्टरफाइनलमा पुगिसकेको छ । तीनमध्ये एक खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हारको नतिजा निकालेको क्यानडा पनि चार अङ्कसहित समूह उप–विजेताको रूपमा क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भने समूह ‘बी’ अन्तर्गतको खेल हुन लागेको हो । यो समूहमा अघिल्ला दुवै खेलमा विजयी भएको भेनेजुएला क्वार्टरफाइनलमा पुगिसकेको छ । दुवै खेलमा पराजित भएको जमैका भने उपाधि होडबाट बाहिरिने निश्चित भइसकेको छ ।

त्यसैले सोमबार बिहानको खेलमा इक्वेडर र मेक्सिकोमध्ये एक टोली प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्नेछन् । इक्वेडरले तीन अङ्कसहित दोस्रो र मेक्सिको पनि तीन अङ्कसहित दोस्रो स्थानमा छन् । त्यसैले सोमबार मेक्सिको र इक्वेडरबिचको खेल निकै रोमाञ्चम हुने निश्चित छ । 

समूहको पहिलो खेलमा भेनेजुएलाले इक्वेडरलाई २–१ गोलले हराएको थियो । दोस्रो खेलमा मेक्सिकोले जमैकालाई १–० गोलले पराजित गरेको थियो । तेस्रो खेलमा इक्वेडरले जमैकालाई ३–१ गोलले पाखा लगाएको थियो । चौथो खेलमा भेनेजुएलाले मेक्सिकोलाई १–० गोलले हराएको थियो ।

सोमबारको खेलमा भेनेजुएला र जमैकाले हार–जितले ठुलो अर्थ राख्ने छैन । यद्यपि, भेनेजुएला आफ्नो अन्तिम खेलमा जमैकालाई हराउँदै अपराजित रहेर क्वार्टरफाइनलमा पुग्ने धुनमा हुनेछ । जमैका भने बलियो भेनेजुएलालाई हराउँदै सानत्वना जित निकाल्ने योजनामा छ ।

तर, अर्को खेलमा भने मेक्सिको र इक्वेडर ‘गर या मर’ को स्थितिमा रहने छन् । त्यो खेलमा विजयी हुने टोली प्रतियोगिताको नकआउट चरणमा प्रवेश गर्नेछ । मेक्सिको र इक्वेडरबिचको खेल बराबरीमा सकिए दुवै टोलीको चार–चार अङ्क हुनेछ । 

यस्तो स्थितिमा गोलअन्तरका आधारमा अघिल्लो चरणमा पुग्ने टोलीको टुंगो लगाइने छ । अघिल्ला दुई खेलमा इक्वेडरले विपक्षीको पोष्टमा चार गोल गरेको छ भने एक गोल खाएको छ । मेक्सिकोले विपक्षीको पोष्टमा एक गोल गरेको छ भने एक गोल खाएको छ । 

विश्व फुटबल महासंघद्वारा घोषित पछिल्लो वरीयतामा मेक्सिको १५औँ, इक्वेडर ३०औँ, जमैका ५३औँ र भेनेजुएला ५४औँ स्थानमा छन् । यी चारवटै राष्ट्रले हालसम्म कोपा–अमेरिका फुटबलको उपाधि जित्न सकेका छैनन् । 

मेक्सिको भने दुईपटक प्रतियोगिताको फाइनलसम्म पुगेको छ । सन् १९९३ को कोपा–अमेरिकाको फाइनलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–१ गोलले हराएको थियो । त्यसपछि सन् २००१ को फाइनलमा कोलम्बियाले मेक्सिकोलाई १–० गोलले पराजित गरेको थियो । 

मेक्सिको र इक्वेडरबिच हालसम्म अन्तर्राष्ट्रिय फुटबलमा कुल २६ खेल खेलिएको छ । त्यसमध्ये मेक्सिकोले इक्वेडरलाई १७ खेलमा हराएको छ । चार खेलमा भने इक्वेडरले मेक्सिकोलाई पराजित गरेको छ । यी दुई राष्ट्रबिचको बाँकी पाँच खेल बराबरीमा सकिएको छ । 

यी दुई राष्ट्र सन् १९७० को अप्रिल २९ मा पहिलो पटक आपसमा भिडेका थिए । त्यो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मेक्सिकोले इक्वेडरलाई ४–२ गोलले हराएको थियो । यी दुई टोली अन्तिम पटक सन् २०२२ को जुन ५ मा आपसमा भिडेका थिए । त्यो खेल गोलरहित बराबरीमा सकिएको थियो । 

यसैगरी भेनेजुएला र जमैकाबिच हालसम्म कुल सातवटा अन्तर्राष्ट्रिय खेल खेलिएको छ । त्यसमध्ये भेनेजुएलाले जमैकालाई चार खेलमा पराजित गरेको छ । जमैकाले भने दुई खेलमा भेनेजुएलालाई हराएको छ । यी दुई राष्ट्रबिचको एक खेल भने बराबरीमा सकिएको छ ।

सन् १९६२ को अगस्त ११ मा पहिलो पटक यी दुई राष्ट्र आपसमा भिडेका थिए । त्यो खेलमा भेनेजुएलाले जमैकालाई २–० गोलले हराएको थियो । यी दुई राष्ट्रबिच सन् २०१६ को जुन ५ मा अन्तिम पटक भिडन्त भएको थियो । त्यो खेलमा भेनेजुएला १–० ले विजयी भएको थियो । 

कोपा–अमेरिका विश्वभर सबैभन्दा बढी हेरिने अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सूचिमा तेस्रो स्थानमा पर्छ । सबैभन्दा बढी पटक कोपा–अमेरिका फुटबलको उपाधि जित्ने राष्ट्र अर्जेन्टिना र उरुग्वे हुन् । यी दुवै राष्ट्रले हालसम्म १५–१५ पटक उपाधि जितिसकेका छन् । अर्जेन्टिना प्रतियोगिताको साबिक विजेता पनि हो । अघिल्लो संस्करणको फाइनलमा अर्जेन्टिनाले ब्राजिललाई १–० गोलले हराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप