मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

घाइते मृगको आडैबाट उल्टो ममाथि अन्याय भइराछ भनेर को गर्जिरहेको छ ?’

आइतबार, १६ असार २०८१, २० : २७
आइतबार, १६ असार २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले महामन्त्री मुकुल ढकालको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने प्रस्ताव प्रति व्यङ्ग्य गरेका छन् । उनले बैठक लाइभ गरे  कसले अनेकन् कृत्य गरेर डिलैमा पुर्‍यायो र झर्न लाग्यो भनेर आरोप लगाइरहेको सबैलाई प्रस्ट हुने बताएका हुन् ।

यसअघि महामन्त्री ढकालले असार १९ गते बिहान केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न महामन्त्री ढकालले सभापति रवि लामिछानेलाई प्रस्ताव गरेको जानकारी दिएका थिए ।  ‘बैठक लाइभ गर्न मैले सभापतिलाई आग्रह गरेको छु । गर्ने वा नगर्ने केही केही भन्नुभएको छैन,’ ढकालले भने । बुधवार बस्ने केन्द्रीय समिति बैठकमा महामन्त्री ढकालको समीक्षा यात्राबाट तयार गरेको प्रतिवेदनमाथि छलफल हुने एजेन्डा छ । 

गत बुधवार महामन्त्री ढकालले गत जेठ ६ गतेदेखि असार ५ गतेसम्म एक महिना ३८ जिल्ला पुगेर तयार पारेको प्रतिवेदन सभापति लामिछानेलाई बुझाएका थिए ।

यसबारे कार्कीले लेखेका छन्, ‘साथीहरू, लाइभ गरौँ । सबैले थाहा पाउन्, आफैले सिकार गर्दै घाइते मृगको आडैबाट उल्टो ममाथि अन्याय भइराछ भनेर को गर्जिरहेको छ ! सबैले थाहा पाउन्, विधिलाई च्यातेर पार्टीको चरित्रमाथि पहिलो प्रहार कसले गरेको हो ! सबैले थाहा पाउन्, कसले अनेकन् कृत्य गरेर डिलैमा पुर्‍यायो र झर्न लाग्यो भनेर आरोप लगाइरहेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका रूपमा कहाँ कहाँ धोका, छलकपट, नातावाद, मैमत्ततावाद र आत्ममुघ्धताको घिनलाग्दो कपडा लगायौँ, खुला छलफल गरौँ । एक एक उतारौँ । केवली बनौँ । राजनीतिक कैवल्य बाढौँ । ताकि शान्ति र समृद्धिको बाटो पक्का र प्रस्ट बनोस् । 

यही हो बाटो शुद्धीकरणको । र, यो आवश्यक छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप