मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

सैपाल हिमालको काखमा भीस्याट प्रविधिबाट नेपाल टेलिकमको सेवा

आइतबार, १६ असार २०८१, १९ : ३१
आइतबार, १६ असार २०८१

काठमाडौँ । नेपाल टेलिकमले हुम्ला, बाजुरा र बझाङको सीमा क्षेत्रमा पर्ने सैपाल हिमालको काखमा अवस्थित रानीसैनमा गत असार ९ देखि टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ । हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ३ मा अवस्थित रानीसैनमा कम्पनीले भीस्याट प्रविधिबाट सेवा सञ्चालन गरेको हो । 

बाजुरा सदरमुकाम मार्तडी देखि गाडीमा एक दिन र त्यसपछि करिब चार दिन हिँडेर तथा हुम्ला सदरमुकाम सिमकोट देखि  गाडीमा तीन, चार घण्टा र एक दिन पैदल हिँडेर मात्र यो स्थानमा पुग्न सकिने स्थानीय बासिन्दा सोनाम लामाले बताए । योभन्दा पहिले करिब २० किलोमिटर तल लाम्पाटा र माथि ५ हजार ५ सय मिटर उचाइको साके पुगेर मात्र मोबाइल सेवामार्फत सम्पर्क गर्न सकिने अवस्था थियो । अब भने यहाँका करिब ६ सय बासिन्दाले सहज तरिकाले आफन्तसँग टेलिफोन गर्न सक्ने उनले बताए । 

सैपाल हिमालको काखमा अवस्थित नाम्खा, रानीसैन खासगरी चरिचरण क्षेत्र हो । यहाँ ६ महिना भन्दा बढी हिउँ पर्ने भएकाले अन्य समयमा मानिसको बसोबास हुँदैन । करिब ३ हजार ६ सय मिटरको उचाइमा अवस्थित सो क्षेत्रमा सेवा सञ्चालन भए पश्चात् त्यहाँ बसोबास गर्ने हुम्ला र बाजुरा दुवै क्षेत्रका बासिन्दा लाभान्वित हुनेछन् । 

भीस्याट सेवा सञ्चालनका लागि आवश्यक उपकरण हुम्लाको ताँजाकोट जिमाना देखि करिब चार दिन सम्म मानिसले बोकेर रानीसैन पुर्‍याएका थिए । दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो । 

प्रतिफल कम आउने र तुलनात्मक रूपमा लगानी बढी हुने स्थानमा समेत समान रूपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै चालु आर्थिक वर्षमा दार्चुलाको टिंकर, रसुवाको गोसाईंकुण्ड, सङ्खुवासभाको किमाथांका लगायतका स्थानमा भीस्याटमार्फत सेवा सञ्चालन गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप