मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय
युरोकप फुटबलको नकआउट चरण

फरक इतिहास बोकेको स्पेन र जर्जियाबिच क्वार्टरफाइनलमा पुग्न घम्साघम्सी

आइतबार, १६ असार २०८१, १९ : २०
आइतबार, १६ असार २०८१

काठमाडौँ । युरोकप फुटबलको १७औँ संस्करणको क्वार्टरफाइनलमा पुग्न सोमबार बिहान दुई फरक चरित्र बोकेका टोली स्पेन र जर्जियाबिच भिडन्त हुँदैछ । खेल नेपाली समयअनुसार, बिहान ००ः४५ बजे सुरु हुनेछ । 

युरोकप फुटबलमा यी दुई टोलीले नितान्त फरक इतिहास बोकेका छन् । स्पेन सबैभन्दा बढी युरोकपको उपाधि चुम्ने राष्ट्र हो भने जर्जियाको युरोकपमा यो पहिलो सहभागिता हो । यसैगरी छनोट प्रतियोगितामा स्पेन समूह विजेता बन्दै युरोकपमा उपस्थित भएको हो भने जर्जियाले युरोकपमा स्थान बनाउन प्ले–अफ चरणको बाटो समाउनु परेको थियो । 

जारी युरोकपमा पनि स्पेन आफ्नो समूहको विजेता बन्दै नकआउट चरणमा पुगेको हो । समूह ‘बी’ मा रहेको स्पेनले तीनवटै खेलमा जित हात पारेको थियो । स्पेनले आफ्नो पहिलो खेलमा क्रोएसियालाई ३–० गोलले हराएको थियो ।

spain 2

यसैगरी आफ्नो दोस्रो खेलमा स्पेनले साबिक विजेता इटालीलाई १–० गोलले पराजित गरेको थियो । तेस्रो खेलमा भने स्पेनले अल्बानियामाथि १–० गोलको जित हात पारेको थियो । समूहगत चरणमा स्पेनले विपक्षीको पोस्टमा पाँच गोल गर्‍यो भने एक गोल पनि खाएन ।

जर्जिया भने जारी युरोकपको समूह ‘एफ’ मा थियो । जर्जिया चार अङ्कसहित आफ्नो समूहमा तेस्रो भएको थियो । जर्जिया तेस्रो हुने उत्कृष्ट चार टोलीभित्र पर्दै नकआउट चरणमा पुगेको हो । उक्त समूहबाट पोर्चुगल पहिलो र टर्की दोस्रो हुँदै नकआउट चरणमा पुगेका थिए ।

जर्जियाले तीनमध्ये एक खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हारको नतिजा निकालेको थियो । जर्जिया आफ्नो पहिलो खेलमा टर्कीसँग १–३ गोलले पराजित भएको थियो । दोस्रो खेलमा जर्जियाको टोली चेक गणतन्त्रसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।

GettyImages-2107852250

आफ्नो तेस्रो खेलमा भने जर्जियाले बलियो प्रतिद्वन्द्वी पोर्चुगलमाथि २–० गोलको चमत्कारिक जित हासिल गरेको थियो । जर्जियाले समूहगत चरणको खेलमा विपक्षीको पोस्टमा चार गोल गरेको थियो भने चार गोल खाएको थियो ।

युरोकप फुटबलमा यी दुई टोलीले नितान्त फरक इतिहास बोकेका छन् । स्पेन सबैभन्दा बढी युरोकपको उपाधि चुम्ने राष्ट्र हो भने जर्जियाको युरोकपमा यो पहिलो सहभागिता हो । छनोट प्रतियोगितामा स्पेन समूह विजेता बन्दै युरोकपमा उपस्थित भएको हो भने जर्जियाले युरोकपमा स्थान बनाउन प्ले–अफ चरणको बाटो समाउनु परेको थियो । स्पेन विश्व वरीयताको आठौँ स्थानमा आसीन छ भने जर्जिया ७४औँ स्थानमा ।

विश्व फुटबल महासंघले सार्वजनिक गरेको पछिल्लो वरीयतामा पनि स्पेनभन्दा जर्जिया निकै तल छ । उक्त वरीयतामा स्पेन आठौँ र जर्जिया ७४औँ स्थानमा आसीन छन् । यसले पछि पछिल्लो समय जर्जियाको तुलनामा स्पेनको प्रदर्शन उत्कृष्ट देखाउँछ ।

स्पेन युरोकप फुटबल प्रतियोगितामा जर्मनीपछि सबैभन्दा बढीपटक सहभागिता जनाउने राष्ट्र हो । स्पेनले यसअघि पनि ११ पटक युरोकपमा सहभागिता जनाइसकेको छ । स्पेनले सन् १९६४ मा पहिलो पटक युरोकपमा भाग लिएको थियो । युरोकपको त्यो दोस्रो संस्करण थियो ।

स्पेन युरोकपको पूर्वविजेता पनि हो । स्पेनले हालसम्म तीनपटक युरोकपको उपाधि चुमिसकेको छ । हालसम्म स्पेनका अतिरिक्त जर्मनीले मात्र तीनपटक युरोकपको उपाधि जित्न सकेको छ । स्पेनले सन् १९६४ मा आफ्नो पहिलो सहभागितामै युरोकपको उपाधि जितेको थियो । त्यतिबेला स्पेनले फाइनलमा तत्कालीन सोभियत संघलाई २–१ गोलले हराएको थियो ।

त्यसपछि स्पेनले सन् २००८ मा दोस्रो पटक युरोकपको उपाधि उचालेको थियो । त्यतिबेला स्पेनले फाइनलमा जर्मनीलाई १–० गोलले पराजित गरेको थियो । त्यसलगत्तै स्पेनले सन् २०१२ मा युरोकप जितेको थियो । त्यतिबेला स्पेनले फाइनलमा इटालीलाई ४–० गोलले हराएको थियो । 

spain 2

स्पेन लगातार दुईपटक युरोकपको उपाधि जित्ने एकमात्र राष्ट्र पनि हो । यसका अतिरिक्त स्पेन सन् १९८४ मा पनि युरोकपको फाइनलमा पुगेको थियो । तर, त्यतिबेला फाइनलमा स्पेनको टोलीलाई फ्रान्सले २–० गोलले हराएको थियो । जर्जियोको भने युरोकपमा यो नै पहिलो सहभागिता हो । 

जारी युरोकपको छनोट प्रतियोगितामा पनि जर्जियाको तुलनामा स्पेनको प्रदर्शन उत्कृष्ट थियो । स्पेन आफ्नो समूहको विजेता बन्दै युरोकपमा छनोट भएको हो । स्पेनले आफूले खेलेको आठमध्ये सात खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको थियो ।

जर्जिया भने छनोट प्रतियोगितामा आफ्नो समूहमा चौथो भएको थियो । रमाइलो संयोग के हो भने, छनोट प्रतियोगितामा पनि जर्जिया र स्पेन एउटै समूहमा थिए । त्यो समूहबाट स्पेन पहिलो र स्कटल्यान्ड दोस्रो हुँदै युरोकपमा छानिएका थिए । जर्जियाले भने जारी युरोकपमा उपस्थिति हुन प्ले–अफ चरणसम्म प्रतिस्पर्धा गर्नुपरेको थियो ।

अन्तर्राष्ट्रिय फुटबलमा हालसम्म स्पेन र जर्जियाबिच कुल सात खेल खेलिएको छ । त्यसमध्ये ६ खेलमा स्पेनले जर्जियालाई पराजित गरेको छ । बाँकी एक खेलमा भने जर्जियाले स्पेनलाई पराजयको स्वाद चखाएको छ । 

gettyimages-2159400927

यी दुई टोलीबिच सन् २०१२ को सेप्टेम्बर ११ मा पहिलो पटक भिडन्त भएको थियो । त्यो खेलमा खेलमा स्पेनले जर्जियालाई १–० गोलले हराएको थियो । पछिल्लो खेल भने सन् २०२३ को नोभेम्बर १९ तारिखमा खेलिएको थियो । त्यो खेलमा स्पेनले जर्जियालाई ३–१ गोलले हराएको थियो ।

जारी युरोकपमा स्पेनिस टोली लुइस डे ला फुएन्टको प्रशिक्षकत्वमा रहेको छ । स्पेनिस टोलीमा एट्लेटिको म्याड्रिडका अल्भारो मोराटा (कप्तान), रियल म्याड्रिडका नाचो र डानी कार्भाजल, आर्सनलका डेभिड राया (गोलरक्षक), बार्सिलोनाका फेरन टोरेस, पेड्री, फर्मिन लोपेज र लामिन यामललगायतका प्रभावशाली खेलाडी छन् ।

यसैगरी जर्जियाको टोली जारी युरोकपमा विली सागनलको प्रमुख प्रशिकत्वमा रहेको छ । जर्जियाको टोलीमा डाइनामो टिबलिसीका जियोर्गी लोरिया (गोलरक्षक), लेभान्तेका जियोर्गी काचोरास्भिल, स्लोभान ब्रातिस्लाभका गुराम कासिया (कप्तान), बोर्डेक्सका जुरिको, क्रिमोनेजका लुका लाचोसभिली, एफसी बासेलका ग्याब्रियल सिगुआलगायतका खेलाडी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप