मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय
दसौँ राष्ट्रिय महाधिवेशन

एकीकृत समाजवादीको अध्यक्षमा सहमतिको सम्भावना कति ?

आइतबार, १६ असार २०८१, १९ : ०८
आइतबार, १६ असार २०८१

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको चार दिने दशौँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा अध्यक्ष माधवकुमार नेपालले आइतबार उद्घाटन गरेको महाधिवेशनको बन्दसत्र सोमबारबाट सुरु हुँदैछ ।

सोमबारको बन्दसत्रमा पार्टीका महत्त्वपूर्ण चार वटा दस्ताबेज महाधिवेशन प्रतिनिधिलाई वितरण गरेर छलफलपछि पारित गरिने महासचिव घनश्याम भुसालले जानकारी दिए ।

महाधिवेशनमा देशभरका १ हजार ८ सय भन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी भएको सो पार्टीले जनाएको छ । ‘महाधिवेशनका लागि तयार चार वटा दस्ताबेज सोमबार बिहान प्रतिनिधिमाझ पेस हुन्छन् । प्रतिवेदनमाथि छलफल गरेर हलबाट पारित हुन्छन्’, भुसालले भने, ‘त्यसपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुन्छ ।’

झण्डै ३४ महिनाअघि नेकपा एमालेबाट विद्रोह गरेर माधवकुमार नेपालको अध्यक्षतामा गठन भएको नेकपा एकीकृत समाजवादीको भावी नेतृत्व छनोट प्रक्रियाबारे नेताहरूबिच भएका प्रयास लगभग असफल भइसकेका छन् ।

आगामी नेतृत्वमा अध्यक्ष माधवकुमार नेपालसहित सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल आकाङ्क्षी देखिएका छन् । अध्यक्षमा तीन नेताको प्रतिस्पर्धा हुने देखिएपछि सोमप्रसाद पाण्डे लगायतका नेताहरूले सहमतिमै नेतृत्व छनोटका लागि प्रयास गरेका थिए । त्यसका लागि पाण्डेले तीनै जना नेतासँगै सातै प्रदेशका अध्यक्षहरूसँग भेट गरेका थिए ।

तर, ती भेटवार्ता र छलफलहरूमा आफ्नो पक्षमा सहमति भए ठिक, नभए प्रतिस्पर्धामै जाने भन्ने नेताहरूको भनाइ रहने गरेको थियो । ‘सहमतिमै नेतृत्व छनोट गर्नुपर्छ भन्ने आम प्रनिनिधिहरूको भनाइ छ । तर अहिलेसम्म त्यसका लागि ठोस सहमति जुट्न सकेको छैन, प्रयास जारी छ’, पाण्डेले भने, ‘नेतृत्व छनोटको समय आउँदासम्म सहमति हुनसक्छ ।’

तर उपमहासचिव समेत रहेका एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सहमतिको सम्भावना क्षीण बन्दै गएको बताए ।

‘अहिलेसम्म सहमतिको हुने सम्भावना देखेको छैन, पछि भए बेग्लै कुरा हो’, खतिवडाले रातोपाटीसँग भने, ‘राजनीतिमा असम्भव त के नै हुन्छ र ?’

सम्मानित नेता झलनाथ खनालले सोमबारबाट बन्दसत्र सुरु हुने भन्दै बन्दसत्रमा सबै दस्ताबेज प्रस्तुत गरेर व्यापक छलफल गरिने बताए ।

‘दस्ताबेज पारित भएपछि निर्वाचनको कुरा हुन्छ । वार्ता भित्रभित्र चलिरहेको छ । भरेभोलिसम्म कुनै प्रकारको निष्कर्ष निस्कन्छ । यदि निस्केन भने चुनाव छँदैछ’, खनालले भने, ‘महाधिवेशन उद्घाटनपछि अध्यक्षमण्डल तय ग¥यौँ, बहस नोट कमिटी पनि बनायौँ । अब निर्वाचन गर्नुपरेको अवस्थामा निर्वाचन कमिटीले निर्वाचन गर्छ ।’

नेता खनालले निर्वाचन हुने अवस्थामा सकेसम्म इलेक्ट्रोनिक मेसिनको प्रयोग गरिने बताए ।

तीन धारको प्रतिस्पर्धा

samajbadi1

अध्यक्षका तीन आकाङ्क्षीले बाहिर सहमतिको कुरा गरे पनि भित्रभित्र प्रतिस्पर्धाको तयारीसमेत गरेका छन् । उनीहरूले आफू निकटहरूमार्फत आआफ्नो पक्षका महाधिवेशन प्रतिनिधिहरूको लेखाजोखा गरिरहेका छन् । अध्यक्ष माधवकुमार नेपालले आफूले नै हिम्मत गरेर एमालेसँग विद्रोह गर्दै पार्टी निर्माण गरेकाले पुनः एक पटक नेतृत्वमा आफ्नो विकल्प नभएको बताउने गरेका छन् ।

‘जसले पार्टी बनायो, उसैले नेतृत्व गर्न पाउनुपर्ने माधव कमरेडको भनाइ छ’, नेता नेपाल निकट एक केन्द्रीय सदस्यले भने, ‘७० प्रतिशत प्रतिनिधि पनि माधव कमरेडकै पक्षमा छन् ।’

तर सम्मानित नेता झलनाथ खनालले जसको विचार उसकै नेतृत्व भन्ने नारा अघि सारेका छन् । उनले समाजवादी कार्यक्रम र कार्यदिशा आफ्नो पहलमा पार्टीमा स्थापित गराएकाले आफ्नै नेतृत्व हुनुपर्ने बताउँदै आएका छन् ।

यता घनश्याम भुसालले भने नेतृत्व युवा पुस्तामा पुस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन् । उनले पुस्तान्तरणको मुद्दा अघि सारेर नेतृत्व हत्याउने प्रयास गरे पनि बुढा पुस्ताले खासै नरुचाएको महाधिवेशन प्रतिनिधिहरूको भनाइ छ । भुसालमाथि एमालेसँग विद्रोह गर्दा नेता कार्यकर्ताहरूलाई रोक्ने प्रयास गरेको भन्ने आरोपसमेत लाग्दै आएको छ ।

‘भुसालले विद्रोहका बेलामा पनि साथ नदिएकै हो । संगठन निर्माणमा पनि उहाँको खासै भूमिका देख्न सकिएन । चाहेर पनि नेतृत्वमा उहाँको पल्ला भारी हुने सम्भावना देखिँदैन’, एकीकृत समाजवादीका एक नेताको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप