मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

यो सरकार ढाल्ने काममा एमाले लाग्दैन : महेश बर्तौला

आइतबार, १६ असार २०८१, १७ : २९
आइतबार, १६ असार २०८१

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले मुलुकका दुई ठुला दलका शीर्ष नेताहरूको भेटवार्तालाई लिएर सरकार र सत्ता समीकरण फेरबदलका रूपमा चर्चा गरिए पनि एमाले तत्काल सरकार र सत्ता समीकरण बदल्ने पक्षमा नरहेको बताएका छन् ।

‘दुई ठुला दलका शीर्ष नेताहरूको भेटवार्तालाई लिएर विभिन्न किसिमका चर्चाहरू भइरहेका छन् तर वास्तविकता त्यस्तो होइन’, वर्तौलाले कांग्रेस सभापति शेरबहादुर देउवा र पार्टी अध्यक्ष केपी शर्मा ओलीबिचको शनिबारको भेटवार्ताबारे भने, ‘सरकार फेरबदल र सत्ता समीकरण बनाउने भत्काउने कुरा होइन ।’

उनले मुलुकलाई अघि बढाउन सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा उभिनुपर्छ भन्ने आशयले बालकोटमा कांग्रेस सभापति र एमाले अध्यक्ष ओलीबिच छलफल भएको बताए । ‘राष्ट्रिय मुद्दामा कसरी एकै ठाउँ उभिने र संसद्लाई कसरी प्रभावकारी बनाउने भन्नेमा दुई नेताबिच कुराकानी भएको हो’, बर्तौलाले रातोपाटीसँग भने, ‘यस काममा सबैको उत्तिकै जिम्मेवारी छ । यिनै विषय केन्द्रीत रहेर छलफल भएको हो ।’

उनले ओली र देउवाबिच मुलुकका मुख्य जिम्मेवार पार्टी र सरकारले समेत नागरिकप्रतिको भरोसा बढाउने गरी काम कसरी गर्न सकिन्छ भनेर चिन्तन मनन गरेको बताए । ‘यसअघि कांग्रेस एमालेबिच संवाद नै भएन भन्ने कुरा पनि आएका थिए । राष्ट्रका महत्त्वपूर्ण विषयमा छलफल गरेर जानुपर्छ भन्ने कुरा हो’, उनले भने, ‘सरकारसँग जोडिएको प्रसङ्गमा बालकोटमा छलफल भएको छैन ।’

शनिवार भएको दुई नेताको भेटमा आगामी दिनमा पनि कांग्रेस एमालेका शीर्ष नेताहरूबिचको भेटघाटलाई नियमित गर्नुपर्नेमा दुवै नेता एकमत रहेको बर्तौलाले बताए ।

‘यो व्यवस्था ल्याउन लडेका दुई ठुला राजनीतिक दलहरूबिच संवाद नै हुँदैन भन्ने जुन सन्देश गइरहेको छ त्यस्तो होइन, सहकार्य र समन्वय गर्नुपर्छ भन्ने नै भेटको मूल आशय हो’, उनले भने, ‘यो सरकारलाई बलियो बनाउनुपर्छ र स्थिरताका साथ काम गर्ने वातावरण बनाउने काम गर्नुपर्छ भन्नेमा एमाले दृढ छ ।’

साथै सरकारले पनि त्यहीँ भावनाका साथ काम गर्नुपर्ने बर्तौलाले बताए । ‘संविधान कार्यान्वयनका लागि कयौँ कानुनहरू बनाउनुपर्ने अवस्था छ । राजनीतिक दल र नेतृत्वप्रति समाजमा प्रश्न सिर्जना हुन खोजेजस्तो अवस्था छ । संसद्को भूमिका प्रभावकारी नभएको हो कि भन्ने प्रश्न पनि उठेको छ । तीन तहका सरकारले बजेट ल्याएका छन् त्यसको कसरी सही कार्यान्वयन गर्नेजस्ता विषयमा कुराकानी भएका हुन्’, बर्तौलाले रातोपाटीसँग भने ।

यद्यपि उनले नेपाली कांग्रेस र एमालेबिच सहकार्य हुनै सक्दैन भन्ने कुरा पनि गलत भएको बताए । ‘किनभने अहिलेको सरकार कुनै राजनीतिक मान्यता, विचार,नीति सिद्धान्त र कार्यक्रमको जगमा बनेको होइन’, उनले भने, ‘संसद्को आजको अङ्क र यथार्थबाट बनेको हो । यो अवस्थामा दुई ठुला दलबिचको सहकार्य हुनसक्छ तर अहिलेको यो सरकार ढालेर अर्को सरकार बनाउने काममा एमाले लाग्दैन ।’

ओली देउवा भेटलगत्तै आइतबार प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता भएको छ । सिंहदरबारमा भएको ओली प्रचण्ड भेटमा रास्वपा सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने समेत सहभागी भएका थिए । नेताहरूका पछिल्ला भेटवार्ताबारे नेताहरूले खुलस्त नपारेपछि विभिन्न अड्कलबाजीहरू हुँदै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप