मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय
समाचार

सवारी दुर्घटनापछि भाग्न खोज्दा पक्राउ परे पूर्वसांसद यादव

असई थमन विकको हत्याका अभियुक्त यादव ८ वर्षदेखि थिए ‘फरार’
आइतबार, १६ असार २०८१, १६ : ५७
आइतबार, १६ असार २०८१

वीरगन्ज । महोत्तरीमा शनिबार साँँझ भएको एक सवारी दुर्घटनापछि सशस्त्र प्रहरीका असई थमन विकको हत्याका फरार अभियुक्त फेला परेका छन् ।

असई विकको हत्यामा कर्तव्य ज्यानका मुद्दामा ८ वर्षदेखि प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेको फरार अभियुक्त पूर्व प्रदेश सांसद कौशल कुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

महोत्तरीको सम्सी गाउँपालिकाको वडा नम्बर ५ मा भएको दुर्घटनापछि उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता सन्तुलाल जयसवालले बताए ।

उनका अनुसार पक्राउ परेका यादव ८ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त थिए । दुर्घटनामा सोधपुछ गर्ने क्रममा उनको पहिचान खुलेपछि तत्कालै उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

थमन विकको हत्या सम्बन्धमा महोत्तरी जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि लोसपा नेता एवम् पूर्व प्रदेश सांसद यादव फरार थिए । 

शनिबार साँझ भारतीय नम्बरको डीएल ३ सीएवाइ ८६१५ नम्बरको स्कारपियोलाई र विपरीत दिशाबाट आइरहेको प्रदेश २–ं०२–००१च ००४५ नेपाली नम्बरको महिन्द्रा पिकअप गाडीले ठक्कर दिँदा भारतीय नम्बरको गाडीमा सवार ३ जना घाइते भएका थिए ।

ठक्कर दिएर घटनास्थलबाट भाग्ने क्रममा प्रहरीले नेपाली नम्बरको पिकअपका चालकसहित २ जनालाई नियन्त्रणमा लिएको थियो । त्यसपछि ठक्कर दिने चालकसँग बयान लिँदा उनी ८ वर्षदेखि कर्तव्य ज्यान मुद्दाको फरार अभियुक्त रहेको पाइएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अदालतमा आइतबार बुझाएको महोत्तरी प्रहरीले जानकारी दिएको छ ।

०७२ साल भदौ २५ गते प्रेम विकले दिएको जाहेरी दर्ता भई यादवमाथिको कर्तव्य ज्यानको मुद्दा अदालतमा मुल्तवीमा रहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप