धीरेन्द्र झा समूह राप्रपा नेपालमा समाहित, उपाध्यक्ष पद दिइयो

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले समान बिचार भएकाहरू एकै ठाउँमा उभिएर देशलाई निकास दिने समय आएको बताएका छन् । आइतबार नेपाल जनता पार्टीबाट धीरेन्द्र झा समूहलाई पार्टीमा समाहित गर्दै अध्यक्ष थापाले तराई मधेस क्षेत्रमा पार्टीलाई बलियो बनाउन यो समायोजन महत्त्वपूर्ण कोशेढुङ्गा हुने समेत दाबी गरे ।
कार्यक्रममा बोल्दै नेपाल जनता पार्टीका उपाध्यक्ष धीरेन्द्र झाले एजेन्डा स्थापित गर्नको निमित्त कमल थापाको नेतृत्व आवश्यक भएकोले राप्रपा नेपालमा समाहित भएको बताए । आज आयोजित घोषणा सभामा सहमति पत्रमा हस्ताक्षर समेत भएको थियो ।
सहमति अनुसार राप्रपा नेपालमा समाहित भएको नेपाल जनता पार्टीका उपाध्यक्ष झा राप्रपा नेपालको उपाध्यक्ष पदमा रहनेछन् । साथै योग्यता, क्षमता र प्रभावकारिता हेरी पदाधिकारी, केन्द्रीय सदस्य , विभाग, क्षेत्रीय समन्वय समिति, जिल्ला र अन्य स्थानीय तहहरूमा सम्मानजनक जिम्मेवारी र भूमिका प्रदान गरिने सहमति भएको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ।