मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

बाल चित्रपुस्तक ‘रानीपोखरी’ सार्वजनिक

आइतबार, १६ असार २०८१, १५ : २८
आइतबार, १६ असार २०८१

काठमाडौँ । ऐतिहासिक विषयवस्तु आधारित बालचित्रकथा ‘रानीपोखरी’ को विमोचन भएको छ । काठमाडौंको चाँदबाग स्कुलमा प्रिन्सिपलसहित पुस्तकका लेखक, चित्रकार र विद्यार्थीले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका हुन् । रानीपोखरी निर्माण कसरी भयो भन्ने इतिहासलाई बालबालिकाले बुझ्ने गरी सरल भाषा र आकर्षक चित्रसहित प्रस्तुत गरिएको छ ।

पुस्तकको कथासार यस्तो छ— रानी राजमती अचानक हराएपछि हनुमानढोका दरबारमा खैलाबैला मच्चिन्छ । तुरुन्तै यो खबर राजा प्रताप मल्लकहाँ पुग्छ । आफ्ना अंगरक्षकसँग राजा सरासर खेत र कुलो छिचोल्दै सुनासान ठाउँमा पुग्छन्, जहाँ रानी रोइरहेकी हुन्छिन् । छोरा चक्रवर्तीन्द्रको समाधिस्थलमा आँसु बगाइरहेकी रानीलाई राजाले सम्झाउँछन् र प्रण गर्छन्– म आफ्नी रानीको सपना पूरा गर्छु । यसरी पोखरी निर्माण हुन्छ, जहाँ गंगाजलदेखि विभिन्न पवित्र नदी तथा तिर्थस्थलका जल ल्याएर मिसाइन्छ । पोखरी छेउमा हात्तीमा राजा, रानी र चक्रवर्तीन्द्र चढेको मूर्तिसमेत देखेपछि रानी प्रसन्न हुन्छिन् ।

ध्रुव घिमिरेले लेखेको पुस्तकलाई भिक्टर प्रधानले सम्पादन गरेका हुन् भने यसमा तारा तामाङका चित्र छन् । कुनै पनि बेला नाश हुन सक्ने मानव शरीरप्रतिको बुझाइदेखि वियोगमा सधैँ शोकमात्र गर्नुहुन्न भन्ने कुरा पुस्तकमा छ । ऐतिहासिक विषयवस्तु भएकाले यो पुस्तकले बालबालिकामा इतिहासप्रतिको रुचि र तिथिमिति सम्झन पनि सहयोग गर्नेछ ।

घिमिरे लेखक तथा सम्पादक हुन् । उनका ५० भन्दा धेरै बालपुस्तक प्रकाशित छन् भने उनले  ६० भन्दा धेरै बालपुस्तक सम्पादन गरेका छन् । उनले पारिजात बालसाहित्य सम्मान-२०८० का साथ साथै अन्य धेरै पुरस्कार प्राप्त गरेका छन् ।

चित्रकार तामाङले सरकारी तथा गैर-सरकारी परियोजनाका लागि विभिन्न बालपुस्तकहरू चित्राङ्गकन गरेका छन् । उनी सृजना कलेज अफ फाइन आर्ट्सकी सहायक लेक्चरर पनि हुन् ।

यो पुस्तक पाँच वर्ष वा त्यसभन्दा माथिका बालबालिकालाई पढेर सुनाउन, पुस्तकबारे छलफल गर्न र नौ वर्षभन्दा माथिका बालबालिकाले आफै अध्ययन गर्न उपयुक्त हुने प्रकाशन संस्था कथालयले जनाएको छ । २० पृष्ठ रहेको पुस्तकका मूल्य २९० रुपैयाँ राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप