मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप

टी–२० विश्वकपको नवौँ संस्करणमा बनेका रोचक कीर्तिमान

आइतबार, १६ असार २०८१, १४ : ३३
आइतबार, १६ असार २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणको उपाधि भारतले जित्यो । भारतले शनिबार राति सम्पन्न फाइनल खेलमा दक्षिण अफ्रिकालाई सात रनले हरायो । भारत र दक्षिण अफ्रिका अपराजित रहँदै विश्वकपको फाइनलसम्म पुगेका थिए ।

भारतले दोस्रो पटक टी–२० विश्वकपको उपाधि जितेको छ । यस्तो उपलब्धि हासिल गर्ने भारत तेस्रो राष्ट्र पनि हो । यसअघि वेस्ट इन्डिज र इङ्ल्यान्डले दुई–दुईपटक टी–२० विश्वकपको उपाधि उचालेका थिए । भारत र दक्षिण अफ्रिकाबिचको फाइनल खेलसँगै विश्व क्रिकेटमा केही रमाइला कीर्तिमान पनि बनेका छन् । नवौँ विश्वकपमा बनेका केही कीर्तिमान र केही रमाइला तथ्याङ्कको विषयमा यहाँ चर्चा गरिएको छ ।

  • एक खेल पनि नहारी टी–२० विश्वकपको उपाधि जित्ने भारत पहिलो राष्ट्र बनेको छ । प्रतियोगिता अवधिभरमा भारतले कुल नौ खेल खेल्यो । त्यसमध्ये भारत आठ खेलमा विजयी भयो । भारतको एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।
  • नवौँ विश्वकपमा भारत र दक्षिण अफ्रिका एक खेल पनि नहारी फाइनलसम्म पुगेका थिए । यसअघि टी–२० विश्वकपको कुनै पनि संस्करणमा यस्तो संयोग जरेको थिएन । 

india

  • भारत दुईपटक टी–२० विश्वकपको उपाधि जित्ने तेस्रो राष्ट्र बनेको छ । यसअघि भारतले सन् २००७ मा पहिलो संस्करणको उपाधि जितेको थियो । दुईपटक टी–२० विश्वकपको उपाधि जित्ने पहिलो राष्ट्र वेस्ट इन्डिज र दोस्रो राष्ट्र इङ्ल्यान्ड हुन् ।
  • टी–२० विश्वकपको इतिहासमा फाइनलमा टस जितेर पनि खेल हार्ने दक्षिण अफ्रिका दोस्रो राष्ट्र बनेको छ । यसअघि सन् २००९ को टी–२० विश्वकपको फाइनलमा श्रीलङ्काले टस जितेर पनि नतिजा गुमाउनु परेको थियो । त्यो विश्वकपको फाइनलमा पाकिस्तानले श्रीलङ्कालाई आठ विकेटले हराएको थियो ।
  • टी–२० विश्वकपको इतिहासमा फाइनल आठ रनभन्दा कमअन्तरले हार–जितको निर्णय भएको यो दोस्रो पटक हो । यसअघि सन् २००७ मा सम्पन्न टी–२० विश्वकपको पहिलो संस्करणको फाइनलमा भारतले नै चिर प्रतिद्वन्द्वी पाकिस्तानलाई पाँच रनले हराएको थियो ।
  • टी–२० विश्वकपको इतिहासमा फाइनलमा पहिले ब्याटिङ गर्ने टोलीले उपाधि जितेको यो केवल तेस्रो पटक हो । यसअघि सन् २००७ र सन् २०१२ को टी–२० विश्वकपको फाइनलमा मात्र रनका आधारमा हार–जित भएको थियो ।  

india 2

  • रोहित शर्मा भारतलाई दुईवटा टी–२० विश्वकपको उपाधि जिताउने एकमात्र खेलाडी हुन् । सन् २००७ मा भारतले पहिलो पटक टी–२० विश्वकप जित्दा पनि रोहित शर्मा टोलीका सदस्य थिए । उनले सन् २००७ को टी–२० विश्वकपमा इङ्ल्यान्डविरुद्धको खेलसँगै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए ।
  • हालसम्म नौजना खेलाडीले आफ्नो देशलाई दुईपटक टी–२० विश्वकपको उपाधि चुमाएका छन् । रोहित शर्माका अतिरिक्त यस्तो उपलब्धि हासिल गर्ने खेलाडी ड्यारेन सामी, मार्लन सामुएल्स, क्रिस गेल, जोन्सन चार्ल्स , ड्वेन ब्राभो, सामुएल बद्री, आन्द्रे रसेल र दिनेश सामदिन हुन् ।

  • भारतले दक्षिण अफ्रिकाविरुद्धको फाइनल खेलमा सात विकेट गुमाएर एक सय ७६ रन बनाएको थियो । टी–२० विश्वकपको फाइनलमा कुनै पनि टोलीले बनाएको यो नै सर्वाधिक स्कोर हो । यसअघि सन् २०२१ को टी–२० विश्वकपको फाइनलमा न्युजिल्यान्डले दिएको लक्ष्य पुरा गर्ने क्रममा अस्ट्रेलियाले १८.५ ओभरमा दुई विकेट गुमाएर एक सय ७३ रन बनाएको थियो ।
  • भारतविरुद्धको फाइनल खेलमा दक्षिण अफ्रिकाका ब्याट्सम्यान हेनरिच क्लासेनले केवल २३ बलमा अर्धशतक बनाएका थिए । यसअघि पुरुष विश्वकप क्रिकेटको फाइनलमा कुनै पनि ब्याट्सम्यानले यति कम बलमा अर्धशतक बनाउन सकेका थिएनन् । यसअघि सन् २०२१ को टी–२० विश्वकपको फाइनलमा मिचेल मार्शले ३१ बलमा अर्धशतक बनाएका थिए ।

virat

  • नवौँ टी–२० विश्वकपको फाइनलमा भारतका विराट कोहली प्लेयर अफ दी म्याच घोषित भएका थिए । उनी टी–२० विश्वकपमा प्लेयर अफ दी म्याच घोषित भएको यो आठौँ पटक हो । विराट वाहेक कुनै पनि खेलाडी टी–२० विश्वकपमा पाँचपटक भन्दा बढी प्लेयर अफ दी म्याच घोषित हुन सकेका छैनन् ।
  • भारतका रोहित शर्मा टी–२० विश्वकपको उपाधि जित्ने सबैभन्दा बढी उमेरका कप्तान पनि बनेका छन् । शनिबार राति फाइनलमा भारतले दक्षिण अफ्रिकालाई हराउँदै रोहित शर्माको उमेर ३७ वर्ष ६० दिन पुगेको थियो । उनी कुनै पनि आईसीसी प्रतियोगिताको उपाधि जित्ने दोस्रो सबैभन्दा बढी उमेरका कप्तान पनि बनेका छन् । यो सूचीमा पहिलो स्थानमा भने पाकिस्तानका इमरान खान छन् । इमरान खानले आफ्नो टोलीलाई कप्तानको भूमिकामा ३९ वर्ष एक सय ७२ दिनको उमेरमा आईसीसी प्रतियोगिताको उपाधि जिताएका थिए ।
  • रोहित शर्माले नवौँ टी–२० विश्वकपको समाप्तिसँगै यो ढाँचाको क्रिकेटबाट सन्न्यास लिएका छन् । उनको कप्तानीमा भारतले कुल ६२ खेल खेल्यो । त्यसमध्ये ४९ खेलमा भारतीय टोली विजयी भएको थियो । योसँगै उनी आफ्नो नेतृत्वमा भारतलाई सबैभन्दा बढी टी–२० अन्तर्राष्ट्रिय खेल जिताउने कप्तान पनि बनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप