मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय
राजनीति

देउवा–ओलीबिचको छलफललाई माओवादी नेताहरूले कसरी लिएका छन् ?

आइतबार, १६ असार २०८१, १५ : २५
आइतबार, १६ असार २०८१

काठमाडौँ । शनिबार पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्ता घटकको मुख्य दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच तीन घण्टा लामो भेटवार्ताले राजनीतिमा तरङ्ग उत्पन्न भएको छ । ओली निवास बालकोटमा भएको दुई नेताबिचको छलफललाई लिएर तीन महिनामै फेरि सत्ता राजनीतिक उथलपुथल हुन लागेको हो कि भन्ने आशङ्का उब्जिएको हो । 

सोही विषयमा दिएका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहान ओलीसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा देउवासँग भएको भेटवार्ताबारे प्रचण्डले चासो व्यक्ति गरेको बुझिएको छ ।

यद्यपि माओवादीका शीर्ष नेताहरूले देउवा–ओली, प्रचण्ड–ओलीबिच भएका भेटवार्ता सामान्य भएको प्रतिक्रिया दिएका छन् । माओवादी केन्द्रका महासचिव देव गुरुङले सत्ता पक्ष र प्रतिपक्ष दलका नेताहरूबिच भएका संवाद सामान्य भएको प्रतिक्रिया दिए ।

‘शनिबार प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुरजी र केपी ओलीजीबिच छलफल भएको जानकारी पाएका छौँ । यस्ता भेटवार्ताले सरकार वा सत्ता  समीकरणमा कुनै असर गर्दैन । प्रधानमन्त्रीले सत्ता पक्ष र प्रतिपक्षका नेताहरूबिच छलफल गर्नु सामान्य हो । प्रतिपक्ष दलका नेताहरू र सत्ता गठबन्धनका शीर्ष नेताहरूबिच छलफल हुनु पनि  सामान्य हो’, गुरुङले रातोपाटीसँग भने, ‘नेताहरूबिच भेटवार्ता हुँदैमा सरकार ढल्छ कि वा समीकरण तलमाथि हुन्छ कि भनेर बुझ्नु हुँदैन । नेताहरूबिच संवाद हुनु स्वाभाविक हो । तत्काल गठबन्धनमा समस्या पर्ने म देख्दिनँ । प्रधानमन्त्रीले पनि यसबारे केही भन्नुभएको छैन ।’

यस्तै  माओवादीका सचिव दीनानाथ शर्माले पनि देउवा र ओलीबिच भएको संवाद सामान्य भएको प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्रीले गठबन्धन दलका नेताहरू वा प्रतिपक्षका नेताहरूसँग छलफल गर्नु वा गठबन्धनका मुख्य नेताहरूले प्रतिपक्ष दलका नेताहरूसँग छलफल गरेको विषयलाई शङ्काले हेर्न नमिल्ने उनको तर्क छ ।

‘देशको अवस्था, पछिल्लो राजनीति, विकास निर्माण लगायत विषयमा दलका शीर्ष नेताहरूबिच घण्टौँ छलफल हुनु सामान्य विषय हुन् । प्रधानमन्त्री वा सत्ता घटक अन्य नेताले प्रतिपक्ष दलका नेताहरूसँग कुनै एजेन्डामा घण्टौँ छलफल गर्दैमा सरकार वा सत्ता समीकरण तलमाथि हुन्छ कि भन्ने शङ्काले हेर्नु हुँदैन । जहाँसम्म देउवा र ओलीजी बिच भएको छलफलले सत्ता गठबन्धनलाई कुनै असर गर्दैन । अहिलेकै गठबन्धन ०८४ को निर्वाचनसम्म जान्छ’, उनले भने ।

प्रधानमन्त्रीका सचिवालयले पनि देउवा र ओलीबिच भएको भेटवार्ताले सरकारलाई समस्या नहुने तर्क गरेका छन् । राजनीतिक स्थायित्व र विकास निर्माणका लागि दुई ठुला दल कांग्रेस र एमाले मिल्नुपर्ने चर्चा चलिरहेको बेला देउवा र ओली बिचको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । तथापि यस विषयमा औपचारिक रूपमा प्रधानमन्त्रीका सचिवालय र माओवादीका नेताहरूले कुनै प्रतिक्रिया दिएका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप